ad ad

राजनीति


कांग्रेस महाधिवेशन सर्‍यो : अब मंसिर ९ देखि १३ गतेसम्म हुने

कांग्रेस महाधिवेशन सर्‍यो : अब मंसिर ९ देखि १३ गतेसम्म हुने

नेपालखबर
साउन ३०, २०७८ शनिबार १८:५९, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सरेको छ। यसअघि कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म हुने कार्यक्रम थियो। 

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शनिबार सकिएको बैठकले महाधिवेशनको नयाँ मिति मंसिर ९ गतेदेखि १३ सम्मलाई निर्धारण गरिएको छ। 

कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र बडूले आजको बैठकबाट सर्वसम्मत महाधिवेशन मिति सारिएको जानकारी दिएका छन्। अब वडादेखि केन्द्रसम्मकै महाधिवेशन तालिका हेरफेर भएको केन्द्रीय सदस्य बडूले बताए।

अब यसअघि महाधिवेशन हुने भनिएको भदौ १८ गते कांग्रेसले वडाहरूको अधिवेशन गर्ने भएको छ। 

बडूका अनुसार नयाँ कार्यतालिकामा क्रियाशील सदस्यहरुको अन्तिम नामावली बुझाउने मिति भदौ २ गतेलाई तोकिएको छ। 

कांग्रेसका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि नयाँ कार्यतालिका सर्वसम्मत पारित गरिएको जानकारी दिएका छन्। 

कांग्रेसले नयाँ कार्यतालिका अनुसार निर्वाचन निर्देशिका बुझाउने मिति भदौ २ गतेलाई नै तोकेको छ।

कांग्रेसले गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते गर्ने योजना बनाएको छ। प्रदेश क्षेत्र क/ख को अधिवेशन असोज १ गते हुनेछ। 

'गाउँपालिका र नगरपालिकाका मतदाता कोभिडका कारण एक ठाउँमा आउन व्यवहारिक नहुने भएकाले त्यहाँ क्षेत्रीय प्रतिनिधिबाट मात्रै मतदान गराउने निर्णय भएको छ; बडूले भने।

संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते गरिने नेता बडूले बताए। त्यस्तै जिल्ला अधिवेशन अब असोज १० गते हुनेछ। 

कांग्रेसले प्रदेश कमिटीको अधिवेशन अब कात्तिक १० देखि १२ गतेसम्म गर्ने योजना बनाएको छ। 

कांग्रेसले यसअघि पाँच पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गरिसकेको छ। आन्तरिक विवादका कारण कांग्रेस पटक–पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै आएको थियो। 

पछिल्लो पटक गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पाँचौं पटक कार्यतालिका परिमार्जन गरेको थियो।

जसअनुसार साउन १२ गते गाउँ-नगर वडा अधिवेशन र साउन १६ गते गाउँ-नगर अधिवेशन गर्ने कार्यतालिका थियो। 

यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २०, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ मा आयोजना गरिने कार्यतालिकामा उल्लेख थियो।   

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाहरुको अधिवेशन साउन २६, प्रदेश अधिवेशन भदौ १–२ र केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ काठमाडौंमा गर्ने कांग्रेसको कार्यतालिका थियो। 

तर, क्रियाशील सदस्यताको टुंगो लाग्न ढिलाइ भएको भन्दै साउन ९ गते बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ मा तय भएको गाउँ-नगर वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो। 

२०७२ फागुन २० गतेदेखि २३ गतेसम्म भएको १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि पूरा हुने समय नजिकिँदै गर्दा २०७६ फागुन ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी पहिलो पटक कार्यतालिका बनाएको थियो।

पहिलो कार्यतालिकाअनुसार २०७७ मंसिर ९ मा गाउँ-नगर वडा अधिवेशन, मंसिर ११ मा गाउँ-नगरपालिका अधिवेशन, मंसिर १५ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर १७ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन निर्धारण गरेको थियो। 

यस्तै जिल्ला अधिवेशन मंसिर २५, प्रदेश अधिवेशन पुस १५ र महाधिवेशन फागुन ७–१० काठमाडौंमा आयोजना गर्ने कार्यतालिका थियो। तर, उक्त कार्यतालिकाअनुसार अधिवेशनको प्रक्रिया सुरु हुन नसकेपछि विभिन्न मितिमा कांग्रेसले पटक–पटक महाधिवेशन पछाडि धकेल्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .