राजनीति


समाजवादी केन्द्रः सके एकता नत्र चुनावी मोर्चा, माधव नेपाललाई अध्यक्ष प्रस्ताव

समाजवादी केन्द्रः सके एकता नत्र चुनावी मोर्चा, माधव नेपाललाई अध्यक्ष प्रस्ताव

सागर न्यौपाने
साउन २५, २०७८ सोमबार ८:५१, काठमाडौँ

गत माघ १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेट भयो।

नेकपा विभाजनको संघारमा पुगेको बेला यो भेट भएको थियो। माओवादी आन्दोलनका पुराना सहयात्री प्रचण्ड र भट्टराई पुनः एक ठाउँमा उभिने सम्भावनाको खोजी गरिरहेका थिए।

०७२ साल असोज १० गते तत्कालीन एमाओवादी पार्टी परित्याग गरेर वैकल्पिक राजनीति थालेका भट्टराई विभिन्न घुम्ती पार गर्दै जनता समाजवादी पार्टीमा पुगेका छन्। 

प्रचण्डले भने माओवादी ब्रान्ड टिकाउन हम्मे परेपछि एमालेसँग चुनावी तालमेलपछि पार्टी एकता गरेका थिए। तर, नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पुस ५ प्रतिनिधि सभा विघटन गरेपछि उनीहरु एकठाउँ बस्ने सम्भावना समाप्त भयो।

प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई ०७७ फागुन ११ गते सर्वाेच्च अदालतले असंवैधानिक घोषित गरिदियो भने फागुन २३ मा सर्वाेच्चले नै एमाले र माओवादी केन्द्रको एकतालाई पनि भंग गरिदियो। 

त्यसलगत्तै प्रचण्ड र भट्टराईबीच फागुन २५ मा फेरि भेट भयो। अदालतको फैसलाले रन्थनिएका प्रचण्ड र भट्टराईबीच लामै छलफल चल्यो। 

आगामी राजनीतिलाई कसरी अगाडि बढाउने भन्ने अन्योलमा रहेका प्रचण्डसामु भट्टराईले कम्युनिस्ट विचार बोकेर संसदीय राजनीति गरिरहेका र अन्यत्र लागेका पुराना कम्युनिस्टहरु एकै ठाउँ उभिएर ‘समाजवादी केन्द्र’ बनाउने प्रस्ताव राखे। 

उनको प्रस्तावमा प्रचण्डले समर्थन जनाए। तर, त्यसमा गहिरो छलफल भएन।

त्यसयता जसपा विभाजित भइसकेको छ भने एमाले पनि फुटको संघारमा छ। भट्टराईले प्रचण्डसँग राखेको सो प्रस्तावले पनि आकार ग्रहण गर्दै गएको छ। 

माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समूहबीच चुनावअघि नै पार्टी एकता गर्ने र त्यो नभए चुनावका लागि मोर्चा बनाउने प्रयास भइरहेको नेताहरुले बताएका छन्।

एकता नभए चुनावी मोर्चा
पुस ५ को ओली कदमपछि नेकपा र जसपामा दुई धार देखा परेलगत्तै भट्टराईले समाजवादी केन्द्रको अवधारणा अघि सारेका थिए। प्रतिनिधि सभा दोस्रो पटक पुनर्स्थापना भएपछि भट्टराईले यो प्रस्तावलाई अझ चर्कोगरी उठाएका हुन्। 

अहिले जसपा, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षलाई समेटेर समाजवादी केन्द्र बनाउनुपर्ने उनको भनाइ छ। सुरुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई यसमा सहमत गराएका भट्टराईले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि यसबारे चर्चा गरेको उनीनिकट नेताहरु बताउँछन्। 

माओवादी केन्द्रका वर्षमान पुन, जनार्दन शर्मा लगायतका केही नेताहरुसँग पनि यस विषयमा भट्टराईले छलफल चलाएका छन्। 

भट्टराईले शनिबार ‘नेकपाका विभिन्न घटकमा रहेका कमरेडहरूसँग आग्रह’ भन्दै यससम्बन्धी ट्विट पनि गरेका छन्।

‘मान्छेले मान्छेमाथि गर्ने सबैखाले विभेद र उत्पीडनको अन्त्य गर्ने लक्ष्य स्टालिनदेखि ओलीसम्म आइपुग्दा किन र कसरी उल्टो दिशातिर सोझियो? पुरानै बाटो हिँडेर नयाँ ठाउँमा कसरी पुगिएला? अब नयाँ विचारसहित नयाँ समाजवादी ध्रुवीकरणलाई लाग्ने कि?’ भट्टराईले लेखेका छन्। 

सत्ता गठबन्धनमा अहिलेसम्म माधव नेपाल पक्ष सहभागी छैन। तर, सो समूहले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेको थियो। साउन ३ गते देउवाले विश्वासको मत लिँदा पनि नेपाल पक्षका २२ सांसदले मत दिए।

भट्टराईनिकट नेता गंगानारायण श्रेष्ठका अनुसार माओवादी केन्द्र, जसपा र नेपाल समूहबीच सके पार्टी एकता नभए आगामी चुनावमा मोर्चा बनाउने प्रयास भइरहेको छ।

सत्ता गठबन्धन भए पनि आगामी चुनावसम्म मिलेर जान कांग्रेस तयार हुने/नहुने अन्योल रहेकाले कम्युनिस्टकै घटकहरुबीच पार्टी एकता गर्नेगरी समाजवादी केन्द्र बनाउने प्रयत्न भएको हो।

‘कम्युनिस्ट फुटेको, जसपामा विभाजन आएकोले चुनावसम्मै गठबन्धन बनाएर जान कांग्रेस तयार नभए के गर्ने?’ जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य श्रेष्ठले भने, ‘कुनै समयका कम्युनिस्ट र अहिलेका कम्युनिस्ट विचार बोक्नेहरुबीच एकता गर्नेगरी केन्द्र बनाउन सकिन्छ कि भनेर प्रयास भइरहेको छ।’

उनका अनुसार डा.बाबुराम भट्टराई र उपेन्द्र यादव फेरि माओवादीमा फर्किंदैनन्। माओवादी केन्द्र पनि जसपामा मिल्न तयार छैन। एमालेको माधव नेपाल पक्ष कस्तो खालको राजनीतिक विचार लिएर जाने भनेर प्रष्ट छैन। यस्तो बेला तीनै पार्टी एकै ठाउँमा उभिने स्थानको खोजी भएको हो।

६ वर्षअघि माओवादी परित्याग गरेका भट्टराईलाई पूर्व माओवादी घटकबीच एकता गरेर जान सुझाव पनि आएको थियो। तर, उनले स्वीकार गरेनन्। 

‘अबको १० देखि १५ वर्षपछि कम्युनिस्टबाट दीक्षित भएका अधिकांश नेताहरुको कुरा बिक्दैन,’ भट्टराईको विश्लेषणबारे एक नेताले भने, ‘नयाँ पुस्तालाई ड्राइभ गर्ने विचार चाहिन्छ, अहिलेदेखि नै पहल नगरे त्यो विचार जन्मिँदैन भन्ने सोचेर नयाँ समाजवादी केन्द्र बनाउन आह्वान भएको हो।’

स्रोतका अनुसार केन्द्रको अध्यक्षमा माधव नेपाललाई प्रस्ताव गरिएको छ। तर, एमालेभित्रको विवाद समाधान गर्न सकिन्छ कि भनेर नेपाल अझै प्रयासरत रहेकाले समाजवादी केन्द्र बन्न सकेको छैन।

‘चुनावको निम्ति मोर्चा बनाउँदै माओवादी, जसपा र एमालेको नेपाल पक्षसँग पार्टी एकता गर्ने लक्ष्य हो,’ स्रोतले भन्यो, ‘यसमा माधव नेपाल पोजिटिभ हुनुहुन्छ।’

माधव नेपाल पक्षका नेताहरुले भने समाजवादी केन्द्र बनाउने विषयमा औपचारिक र ठोस प्रस्तावमाथि छलफल नभएको बताए।

‘नेताहरुबीच फोनमा कुराकानी भएको होला,’ एक नेताले भने, ‘त्यसरी प्रस्ताव नै आएर औपचारिक कुराकानी भएको छैन।’ 

माओवादी, जसपा र नेपाल पक्षबीच मोर्चा बनाएर आगामी चुनावमा होमिँदा राम्रो नतिजा ल्याउन सकिने उनीहरुको आकलन छ।

‘आगामी निर्वाचनमा थुप्रै नयाँ मतदाता थपिएका छन्,’ एक नेताले भने, ‘नयाँ विचार लिएर ती मतदाताकहाँ पुग्दा राम्रो सिट जितिन्छ।’

अर्कोतिर मोहन वैद्य, नेत्र विक्रम चन्द विप्लव, विश्वभक्त दुलाल आहुती लगायत नेताहरुले पनि कम्युनिस्ट घटकबीच एकता गर्नुपर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .