ad ad

राजनीति


मन्त्री बन्ने रेसमा सुरेश र सुदन : वर्षमान र जनार्दनको साथ, प्रचण्डसँग आश

मन्त्री बन्ने रेसमा सुरेश र सुदन : वर्षमान र जनार्दनको साथ, प्रचण्डसँग आश

ब्रिटिस लाहुरेका छोरा (सुदन) बायाँ र सुरेश दुवै माओवादी केन्द्रका उर्जावान् नेता हुन्


सागर न्यौपाने
साउन २३, २०७८ शनिबार १३:५८, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहँदा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका दुई नेताको मन्त्री बन्ने होडबाजीले चर्चा पाएको छ।

माओवादीले पाउने भनिएको ७ मन्त्रीका लागि सबै ४९ सांसद दौडमा रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै बताइसकेका छन्। 

यी ४९ दाबेदारमा दुई जना यस्ता आकांक्षी छन्, जो एउटै प्रदेशका हुन्। एउटै उमेर समूहका यी दुई नेताहरु मन्त्री बन्ने दौडमा निस्किँदा माओवादी केन्द्रमा रोचक दृश्य देखिएको छ। 

यी दुवै नेता प्रत्यक्ष निर्वाचित सांसद हुन्। दुवैको राजनीतिक पृष्ठभूमि एउटै छ। जनयुद्धताका एक जना फौजी (सैन्य) क्षेत्रमा थिए भने अर्का राजनीतिक मोर्चामा।

यी दुवैलाई मन्त्री बनाउन शीर्ष नेताहरु नै चर्काे लबिङमा छन्। यी दुई सांसद हुन्, सुरेशकुमार राई र सुदन किराती। 

अनेक संयोग
यी दुवैको पुर्ख्यौली थलो भोजपुर नै हो। फरक यति हो, सुदन भोजपुरबाटै निर्वाचित सांसद हुन् भने सुरेश उदयपुर झरेर सांसद बनेका हुन्। 

सुदन ४२ वर्षका भए, सुरेश ४५। संयोग कस्तो भने दुवैले एमाले अखिलबाट राजनीति थालेका थिए। पछि गोपाल किराती नेतृत्वका किरात वर्कस पार्टी हुँदै दुवैजना माओवादी केन्द्रमा पुगे।

उनीहरुलाई मन्त्री बनाउन माओवादीका प्रभावशाली नेता वर्षमान पुन र जनार्दन शर्मा नै लागिपरेको चर्चा माओवादीमा छ। 

सुरेशलाई मन्त्री बनाउने लबिङमा पुन लागेका छन्। 

यस्तै अर्थमन्त्री शर्मासहितका केही नेता सुदनलाई मन्त्री बनाउनुपर्ने पक्षमा चर्काे लविङमा छन्। 

पुन र शर्मा दुवै जनयुद्धताका माओवादीको जनमुक्ति सेनाका डेपुटी कमान्डर हुन्। दुई प्रभावशाली नेताहरुले लबिङ गरेपछि अध्यक्ष  प्रचण्ड पनि धर्मसंकटमा छन्। 

जातीय भूमिगत दलबाट माओवादीमा समाहित दुवैले युद्धमा उत्तिकै योगदान गरेका थिए।

‘अध्यक्ष प्रचण्डसँग सीधा कुरा गर्न सक्ने भए पनि मन्त्रीबारे दुवै खुल्न सक्दैनन्। त्यही भएर वर्षमानजीसहितका नेताहरु सुरेशको पक्षमा लाग्नु भएको छ,’ स्रोत भन्छ, ‘सुदनको पक्षमा जनार्दनजी लगायतका नेताहरुको पंक्ति उभिएको छ।’

दुवै ब्रिटिस लाहुरेको छोरा 
अर्को रोचक कुरा भनेको उनीहरुको पारिवारिक पृष्ठभूमि पनि उस्तै छ। यी दुवै सांसदका बुबा ब्रिटिस लाहुरे। सुदन हङकङमा जन्मेर, ब्रुनाईमा हुर्किएका हुन्। भोजपुर फर्किएर उनी राजनीतिमा क्रियाशील भए।

सुदनको घर भोजपुरको रामप्रसाद राई गाउँपालिकास्थित ओख्रेमा छ। उनले भोजपुरबाट २०७४ मा भएको संघीय संसदको निर्वाचन जिते।

ब्रिटिस लाहुरेकै छोरा सुरेशको घर भोजपुर ट्याम्के–मैयुङ गाउँपालिकास्थित खावा हो। भोजपुरमा जन्मिए पनि उनले आफ्नो राजनीतिको थलो उदयपुरलाई बनाए।

उनले उदयपुर क्षेत्र नम्बर २ बाट संघीय संसदको निर्वाचन जिते।

अखिलमा लागे अनि भूमिगत 
दुवै नेताको राजनीतिक यात्रा विद्यार्थीकालमै सुरु भएको हो। त्यो पनि एमालेनिकट अनेरास्ववियुबाट। सुदनले ५ कक्षामा पढ्दादेखि अखिलको राजनीति सुरु गरेको बताए। ८ कक्षामा पढ्दा उनी प्रारम्भिक कमिटीको अध्यक्ष भइसकेका थिए। 

सुरेशले पनि २०४७ सालदेखि अखिलबाटै राजनीति सुरु गरे। सुदनले आफूलाई भोजपुर क्याम्पसमा आईए पढ्न गएको पहिलो दिन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले कुटपिट गरेपछि एमाले छाडेको बताए।

सुरेशले बताएअनुसार २०५३ सालदेखि पूर्वमा सक्रिय गोपाल किराती नेतृत्वको खम्बुवान मुक्ति मोर्चा (किरात वर्कस पार्टी) मा आबद्ध भएर राजनीति अघि बढाए। 

‘२०५४ सालमा भोजपुर क्याम्पस पढ्न गएको पहिलो दिन नै मलाई नेविसंघका कार्यकर्ताले हातपात गरे,’ सुदनले एमाले छोड्नुको कारणबारे नेपालखबरसँग भने, ‘त्यसपछि म एमाले छाडेर गोपाल किरातीले नेतृत्व गरेको किरात वर्कस पार्टीमा लागेँ र भूमिगत भएँ, त्यो पार्टीले पूर्वमा सशस्त्र संघर्ष थालेको थियो, २०६० सालमा उक्त पार्टी जनयुद्धरत माओवादीसँग एक भयो।’

माओवादीसँग एकतापछि किरातीकै पार्टीमा रहेका सुरेश सैन्य फाँटतिर लागे। उनी माओवादी लडाकुको ब्रिगेड कमिसारसम्म भए। 

२०६१ सालमा सगरमाथा–जनकपुर क्षेत्रीय ब्युरो सदस्य भएका सुदन त्यही वर्ष सिराहामा पक्राउ परेपछि जेलमा थुनिए। उनी २३ महिनापछि अर्थात् जनआन्दोलनपछि मात्रै छुटे। 

२०६३ मा धनकुटा जिल्ला अध्यक्ष बनेका सुदन त्यही वर्षको ७ महिनापछि किरात राष्ट्रिय मुक्ति मोर्चाको महासचिव भए। 

२०६९ सालमा सोही मोर्चाको अध्यक्ष बनेका सुदन २०७० मा भोजपुर जिल्ला अध्यक्ष, २०७२ सालमा एमाओवादीको पोलिटब्युरो सदस्य र भोजपुर इन्चार्ज बने। 

उनी आफूलाई मन्त्री बनाउन सिंगो पार्टीका नेताहरु लागि परेको दाबी गर्छन्।

‘म अहिलेसम्म कुनै गुटमा छैन, माओवादी पार्टीमा अध्यक्ष प्रचण्डनिकट छु,’ सुदनले भने, ‘मैले आफूलाई मन्त्री बनाउनुपर्यो भनेर कसैलाई भनेकै छैन। राम्रो काम इमान्दारीपूर्वक ग¥यो भने सबै नेताको प्यारो भइँदो रहेछ।’

‘पार्टीमा संकट आएका बेला पनि विचलित नभएकोले हुनुपर्छ सबै नेताहरुले मलाई बलियो साथ दिनुभएको छ,’ सुदनले थपे।

अहिले प्रदेश १ बाट मन्त्री बनाउनुपर्ने सूचीमा दुवैको नाम आएपछि प्रचण्डले समेत निर्णय गर्न सकेका छैनन्। 

दुवैको उत्तिकै सम्भावना देखेका प्रचण्डले दुवैलाई चिढ्याउन चाहेका छैनन्।

प्रचण्डले आफूलाई मन्त्री छान्न निकै कठिन भएको अभिव्यक्ति दिएपछि नेताहरु मन्त्रीको लबिङमा खुमलटार धाउने क्रम केही कम भएको छ। 

‘अध्यक्षले सार्वजनिक रुपमै हामीले मन्त्री मागेको बताउनुभयो,’ एक नेताले गुनासो गरे, ‘त्यस्तो कुरा आएपछि उहाँलाई फोन गर्न र भेट्न मन लागेन।’

नेताहरु प्रचण्डलाई भेट्न नगए पनि विभिन्न च्यानलमार्फत मन्त्री बनाउनुपर्ने लबिङ भने भइरहेको छ। 

भनेका छैनन् प्रचण्डलाई 
सुरेश र सुदन दुवैले प्रचण्डसँग मन्त्री नमागेको बताए।​ सुदनका अनुसार उनी साउन ४ पछि अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार गएका छैनन्। 

सुरेशको घर ललितपुरको ताल्छिखेलमै छ। उनले पनि प्रचण्डले बोलाएको बेला मात्र खुमलटार जाने गरेको बताए।​ मन्त्री बन्ने चर्चा चलेपछि प्रचण्डले नै बोलाएर दुई पटक खुमलटार पुगेको सुरेशले बताए।

मन्त्री बन्नकै लागि सुरेश र सुदनबीच तीव्र प्रतिस्पर्धा भने छ। 

दुवैले सकेको बल लगाइरहेका छन्। प्रचण्डनिकट नेताहरु भेट्ने काम जारी राखेका छन्।

आफू प्रचण्डनिकट रहेकाले मन्त्री बन्नेमा सुदन आशावादी छन्।

उनलाई प्रदेश १ कै केही नेताहरुको पनि साथ छ।

सुदनले २०६४ सालको संविधानसभा निर्वाचनमा शेरधन राईलाई हराएका थिए। २०७० मा शेरधनसँग हारेका उनी २०७४ मा भोजपुरबाटै संघीय संसदमा निर्वाचित भए। एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेको बेला सुरेश प्रदेश १ को सचिव बने।

अहिले प्रचण्डसँग नजिक रहेका सुरेशले २०६४ मा टिकट नै पाएनन्। 

एमालेसँगको चुनावी गठबन्धनपछि एमालेमा रहेको विवादले सुरेशलाई फाइदा भयो।

केपी ओलीले माधव नेपाल पक्षलाई टिकट दिन चाहेन। त्यसैले सो क्षेत्र माओवादीको भागमा पर्‍यो। जसका कारण सुरेशले सांसद बन्ने अवसर पाए।

उदयपुरमा एमालेका प्रभावशाली नेता छन् जगन्नाथ खतिवडा। माधव नेपाल पक्षको भएकै कारण उनलाई अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएनन्। 

टिकट दिने विषयमा विवाद भयो, अन्तिममा उदयपुर माओवादी केन्द्रको भागमा परेको ओलीले निर्णय गरिदिए। 

सुदन र सुरेश दुवै युवा र उर्जावान् भएको नेकपा माओवादी केन्द्रका नेता राम कार्की बताउँछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .