नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना खोपलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आइतबार आयोजित सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
‘गरिब जनताले कसरी स्वास्थ्य सुविधा पाउन सक्छन्। पहिलो प्राथमिकता खोप व्यवस्थापनलाई मैले प्राथमिकता दिनेछु,’ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने, ‘अहिलेको प्राथमिकता भनेको खोप हो।’
मुलुकको समस्या नै स्वास्थ्य भएको र पहिलो प्राथमिकता दिएर खोपको व्यवस्थापन हुने उनको भनाइ थियो। ‘मुलुकको समस्यानै स्वास्थ्य हो। सबैभन्दा ठूलो समस्या खोप छ,’ श्रेष्ठले भने, ‘सबैभन्दा पहिलो प्राथमिकता दिएर खोपको व्यवस्थापन हुन्छ।’
उनले कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि विज्ञहरुसँग छलफल गरेर दीर्घकालीन र अल्पकालीन रणनीतिसहित काम गर्ने पनि बताए। ‘थर्ड वेभलाई लाग्न नदिन प्रिभेन्सनका लागि विज्ञहरुसँग बसेर सर्ट टर्म र लङ टर्मको स्टाटिजी बनाएर काम गर्छु,’ राज्यमन्त्री श्रेष्ठले भने।
प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए। प्रधानमन्त्री देउवाको सिफारिसमा आइतबारनै राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी थिइन्।
Shares
प्रतिक्रिया