राजनीति


व्यापारी विन्दुकुमारको छलाङ : महानगरको टिकट पाएनन्, प्रदेशको चुनाव जितेर मन्त्री बने

व्यापारी विन्दुकुमारको छलाङ : महानगरको टिकट पाएनन्, प्रदेशको चुनाव जितेर मन्त्री बने

नेपालखबर
साउन ८, २०७८ शुक्रबार १५:५६,

वि.सं. २०७१ देखि २०७३ सालसम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष हुँदासम्म राजनीतिक वृत्तमा  विन्दुकुमार थापाको परिचय थिएन। उद्योग वाणिज्य संघको अध्यक्षको कार्यकाल सकिँदा-नसकिँदै उनी नेपाली कांग्रेसको राजनीतिक वृत्तमा चर्चित भइसकेका थिए । तर उनले कांग्रेसको क्रियाशील सदस्यता लिएको धेरै भएको थिएन । 

राष्ट्र बैंकको जागिरे जीवनपछि व्यापारिक छलाङ मारेका उनले रियलस्टेट क्षेत्र आफूलाई सफल बनाए। व्यापारिक क्षेत्रमा हात हालेसँगै आकासिएको आर्थिक हैसियतलाई भरथेग गर्न उनीसँग कानुनी पृष्ठभूमि पनि थियो । अधिवक्तासमेत रहेका उनले राजनीतिमा आफूलाई स्थापित गर्दै लगे । 

स्थानीय तहको निर्वाचनका क्रममा उनी कांग्रेसको तर्फबाट पोखरा महानगरमा मेयरको प्रत्यासी बने । तर, उनलाई कांग्रेसले टिकट दिएन। स्थानीय चुनाव लगत्तै लगत्तै प्रदेशको चुनाव आयो। त्यसबेला देशभर वाम गठबन्धनको लहर थियो । कांग्रेसका लागि कास्की उर्वर भूमि भए पनि चुनाव जित्न सजिलो थिएन। 

अझ, कांग्रेसबाट तत्कालीन पोखराको उपमेयर भएका नरेशशंकर पालिखे पनि टिकटको प्रतिष्पर्धामा थिए । तर, बाजी विन्दुकुमारले मारे । पालिखेले बागी उम्मेदवारी दिए पनि विन्दुले हरेस खाएनन् । माओवादी केन्द्रबाट नेकपाका साझा उम्मेदवार राजकाजी गुरुङलाई पराजित गरे । कास्कीको सबै क्षेत्रमा कांग्रेसले पराजय भोग्दा विन्दुले बीउ बचाइदिए । त्यसले उनको राजनीतिक उचाइ झन् बढ्यो।

प्रदेश सांसदका रुपमा ३ वर्षे कार्यकाल औसत थियो । विशेष र शून्य समयमा कुरा राख्न सधैँ अगाडि देखिने विन्दुले प्रतिपक्षी सांसदका रुपमा आफूलाई परिष्कृत गर्दै लगे । तत्कालीन नेकपाको प्रचण्ड बहुमत भएको सदनमा विपक्षीको भूमिका त्यही नै थियो । 

उनले प्रदेश सांसदका रुपमा पाएको तलब-भत्ता सामाजिक काममा लगाउने घोषणा गरे । त्यहीअनुरुप जनताको घरदैलो चहारे र आउँदो चुनावमा कांग्रेस कास्कीको निर्विकल्प उम्मेदवारका रुपमा स्थापित गरे। उनलाई आगामी कार्यकालमा पोखराको  मेयर वा संघीय सांसदका उम्मेदवारको रुपमा हेर्न थालिएको थियो । तर, समय बदलियो । 

नेकपा विभाजनपछि १५ सिट रहेको कांग्रेस सरकार बनाउने ठाउँमा पुग्यो । गत जेठ २९ गते कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बने । उनी मुख्यमन्त्री बन्नासाथ कांग्रेसमा मन्त्रीको दौडधूप सुरु भयो । निर्वाचित त्यहीमाथि कास्कीकै सांसद भएकाले विन्दुको सम्भावना बढ्यो। 

तर, कास्कीबाटै समानुपातिक सांसद कुमार खड्का विनाविभागीय मन्त्रीका रुपमा सरकारमा गए। कांग्रेसमा मन्त्री बन्ने आंकाक्षी धेरै थिए । कास्कीबाट कुमार खड्का मन्त्री भएसँगै विन्दुको सम्भावना घट्यो। तर, विन्दुले हार मानेनन् । मन्त्रिपरिषद्‍मा सबै समानुपातिक सांसद मात्रै रहँदाको फाइदा विन्दुलाई भयो । 

त्यतिमात्रै नभएर, पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवा तथा महामन्त्री शशांक कोइरालासँग पनि राम्रो सम्बन्ध बनाएका विन्दुलाई दुवैको साथ मिल्यो ।

मन्त्रिपरिषद्‍मा कांग्रेसबाट तनहुँका डोबाटे विश्वकर्मालाई लैजाने अन्तिम तयारी हुँदा विन्दुको नाममा पार्टी सभापतिको ‘भिटो’आयो । पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय भनेर चिनिने डोबाटेको नाम अन्तिम समयमा हटाइयो। 

विन्दुकुमार थापा कानून,संचार तथा प्रदेश मामिला मन्त्री बने। उनले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिए । अंशुभरा ग्रुपको नाममा व्यवसायमा सफल विन्दुले आफूले पढेको कानुन मन्त्रालयको जिम्मेवारीलाई कसरी न्याय गर्छन्, त्यो प्रतीक्षाको विषय भएको छ। 

 व्यापारमा सफल उनको अब वास्तविक परीक्षा सुरु भएको छ । सरकार गठनको एक महिनापछि गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार मुख्यमन्त्री नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीता कुमारी पौडेलले मन्त्रिपरिषद् विस्तार गरिन्। शुक्रबार दिउँसो प्रदेश प्रमुख पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .