ad ad

राजनीति


राष्ट्रपति भण्डारीलाई म्यान्मारमा भव्य स्वागत, दुई देशबीच पर्यटन समझदारी

राष्ट्रपति भण्डारीलाई म्यान्मारमा भव्य स्वागत, दुई देशबीच पर्यटन समझदारी

नेपालखबर
असोज ३०, २०७६ बिहिबार ७:४०,

म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

म्यान्मारको राजधानी नेपितस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मार सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको राष्ट्रिय समाचार समितिले जनाएकाे छ।

राष्ट्रपति भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार साँझ म्यान्मारको राजधानी नेपित आइपुगेका थिए। राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सु चीबीच उपहार आदानप्रदानसमेत गरिएको थियो।

दुई राष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र राष्ट्रपति विनबीच आजै प्रेसिडेन्सियल हाउसमा भेटवार्ता सम्पन्न भएको छ। राष्ट्रपति भण्डारीले सो हाउसमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन्। त्यसअघि आज बिहान सो हाउसको परिसरमा राष्ट्रपति भण्डारीलाई म्यान्मारको सेनाले सम्मान गारत (‘गार्ड अफ अनर’) दिएको थियो।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन्। राष्ट्रपति भण्डारी कात्तिक ३ गतेसम्म म्यान्मारको राजकीय भ्रमणमा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .