ad ad

राजनीति


गण्डकी प्रदेश सभामा एमाले सांसदको उदण्डता

गण्डकी प्रदेश सभामा एमाले सांसदको उदण्डता

वाशुदेव मिश्र
असार ३०, २०७८ बुधबार १९:२९,

गण्डकी प्रदेश सभाको बिहीबारको बैठकमा विपक्षी एमाले बिरोधमा उत्रियो। संसद अवरोध गरिरहँदा र नाराबाजीमा उत्रिएको बेला पूर्वमन्त्री तथा एमाले सांसद रामशरण बस्नेतले मन्त्रीको टेबुल नै उचालेर फाले। 

अगाडि सभासद आशा कोइराला, धनमाया तामाङलगायतका सभासद बसिरहेका थिए। आफ्नो ठाउँमा बसिरहँदा भएको उदण्डतताल उनीहरु तर्सिए। पछि मार्सल लगाएर उदण्डतता रोकियो। 

सरकारबाट हटेको एक महिनापछि नै उदण्डतामा उत्रेका सभासदको सार्वजनिक रुपले नै आलोचना भयो। आलोचनापछि बिहीबार नै एमाले संसदीय दलले पत्रकार सम्मेलनको आयोजना गर्‍यो। पत्रकार सम्मेलनमा टेबुल उचाल्ने मन्त्रीले आफूले टेबुल फालेको नभइ मिलाएर राखेको जिकिर गरे। 

‘पत्रकार साथीहरु कसैले लेख्नु भएको छ भने सच्याउनु होला, त्यो कुनै नियतवश हैन। तपाईँहरु विचारमा कांग्रेससँग, माओवादीसँग, जनता समाजवादीसँग नजिक हुनु सक्नुहुन्छ। विचार जे छ, त्यही लेखेर कसैले वाहवाही भन्ला तर त्यो सत्य हुन सक्दैन’,उनले भने,‘ त्यहाँ भीडभाड थियो, कुर्सी हान्न नसक्ने हैन तर मिलाएर राखेको हो, गोडामा लाग्छ भनेर उता सारेको हो।’ 

उनले विगत वर्षमा सकिन लागेका योजनालाई बजेट नहालेर एउटै वडामा ९ वटासम्म योजना हालिएकोले बजेटको विरोधमा सदन अवरुद्ध पारेको जिकिर पनि गरे। 

एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले पनि टेबुल नहानिएको जिकिर गर्दै टेबुल र कुर्सी हान्ने तागत भने एमालेसँग भएको बताए। 

‘एमालेका २७ जना सभासदहरु एकसेएक छौँ, हामी टेबलु उचाल्न नसक्ने हो र?  त्यहाँ हामी सबै कुर्सी उचाल्न सक्छौँ’,उनले भने, ‘हामीले विरोध गरिरहँदला सत्ता पक्षका सांसद भएर बीचमा बस्न मिल्छ ? मर्यादा पालकले छेक्नु स्वभाविक हो । त्यसको प्रतिवाद गर्नु संसदीय परम्परा हो । ’
 

मार्सल लगाएर गण्डकीको बजेट पारित

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गएको शनिबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए,‘उहाँहरु (सत्ता पक्ष)सँग बहुमत छ, बहुमतले बजेट त पास गर्नुहोला तर गलत हुँदा हामी चुप लागेर बस्दैनौँ। सिंगो २७ जनाको गोलो विपक्षीसँग छ। मलाई जस्तो कृष्णचन्द्र नेपालीलाई सरकार चलाउन सजिलो छैन।’

प्रतिपक्षी नेताले दिएको चेतावनीकै बीच आइतबार स्थगित बजेट अधिवेशन सुरु भयो। एमालले नयाँ सरकार गठनसँगै १६ करोड रकमान्तर गरिएको आरोपसहित सभा अवरुद्ध गर्‍यो। 

सदन अवरुद्ध हुने श्रृंखला दोहोरिरहँदा मंगलबार सो प्रकरण छानविन गर्न विपक्षी दलका नेताको संयोजकत्वमा ७ सदस्यीय समिति बनाउने सहमति बन्यो। सदन चल्यो। 

बिहीबार सदन सुरु हुँदा एमालेले फेरि अवरोध गर्‍यो। बजेटले क्रमागत योजनाहरुमा रकम विनियोजन नगरिएको र योजनाहरु हेरफेर गरिएको १० बुँदे ध्यानाकर्षण पत्रसहित विरोधमा उत्रनुको भित्री उदेश्य भने बजेट पारित गर्ने कार्यसूची विथोल्नु थियो। 

विनियोजन विधेयकमाथि विरोध जनाउनु थियो। सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु भएको घोषणा गर्नासाथ विपक्षीको ‘गोलो’ नाराबाजीमा उत्रियो। विपक्षीको नाराबाजीकै बीच अर्थमन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका  कृष्णचन्द्र नेपालीले विधेयक प्रस्तुत गरे। बैठक रोकियो।

४ बजे सदन सुरु भयो। विपक्षीले अवरोध गरिरहे। सत्ता पक्ष र विपक्षी सभासदबीच भनाभन भयो त्यसपछि ‘मार्सल’ लगाइयो। मार्सल लगाएर सभा सुरु गरिएपछि विपक्षीहरु नाराबाजी गर्दै सदनबाट बाहिर निस्के। निवर्तमान मुख्यमन्त्री गुरुङले भनेजस्तै प्रतिपक्षी बाहिरिएपछि विनियोजन विधेयक र आर्थिक वर्ष २०७८/०७९ को बजेट बहुमतले पारित भयो।

जेठ २७ गते सपथ लिएका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले असार १ गते आर्थिक वर्ष २०७८/०८९ को बजेट ल्याएका थिए। बजेट ल्याएलगत्तै असार ४ गते उनले विश्वासको मत लिए। सदन लामो समयसम्म स्थगित भयो। 

रातो किताब बनाउन नभ्याइएकोले सदन रोकिएको बताइए पनि सत्ता पक्ष समय घर्केपछि सदन सुरु गर्ने ‘मुड’ मा थियो। विपक्षीको विरोधको आँकलनसहितको यही योजना अनुसार असार २७ गतेबाट स्थगित सदन सुचारु गरिएको थियो।

३ वर्ष अगाडि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेतृत्वमा २ तिहाइको शक्तिशाली सरकार थियो। सरकार बजेट ल्याउने तयारीमा थियो तर प्रतिपक्षले निरन्तर सदन अवरुद्ध गरिरहेको थियो। 

जेठको अन्त्यमा पेश गरिएको प्रदेश कर र गैरकर ,राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन गर्न बनेको विधेयक पास नगरे त्यसकै जगमा उभिएर असार १ गते बजेट ल्याउन मिल्दैनथ्यो। 

विपक्षी विरोधमा उत्रिएपछि त्यो बेला मार्सल लगाएरै सदनबाट २ वटा विधेयक पारित गरिएको थियो। अहिले समय फेरिएको छ। तत्कालीन विपक्षी कांग्रेस सरकारको नेतृत्वमा छ भने नेकपा नरहेपछि ब्यूँतिएको एमाले प्रतिपक्षको भूमिकामा।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .