ad ad

राजनीति


एमालेका दुवै समूह एकताको पक्षमा, तर ओली र नेपालबीच तुस कायमै

एमालेका दुवै समूह एकताको पक्षमा, तर ओली र नेपालबीच तुस कायमै

मणि दाहाल
असार २८, २०७८ सोमबार २१:२७,

नेकपा एमालेका दुवै धार पार्टी एकताका लागि आइतबार राति भएको सहमतिमा अडिग देखिएका छन्। यद्यपि सोमबार सर्वोच्च अदालतले गरेको संसद् पुनर्स्थापनाको फैसलाप्रति भने उनीहरुको धारणा फरकफरक छ।

वरिष्ठ नेता माधवकुमार नेपालले फैसलालगत्तै आफूले विपक्षी गठबन्धन छाड्ने बताएका छन्। कोटेश्वरमा भएको गठबन्धनको बैठकमा उनले नयाँ परिस्थिति निर्माण भएकाले आफू पार्टी एकतामा जुट्ने बताएका हुन्। 

त्यसैगरी, अध्यक्ष केपी शर्मा ओली पक्ष पनि आइतबार राति भएको सहमतिलाई नै आधार बनाएर अघि बढ्न तयार भएको छ। 

एमालेका सचिव प्रदीप ज्ञवालीले एकताका लागि अघि बढ्ने बताए। 

‘हाम्रो प्रयास हिजोको कार्यदलले तयार पारेको प्रस्तावको जगमा सिंगो पार्टीलाई एकतावद्ध बनाएर लैजानेमै केन्द्रित हुन्छ,’ ज्ञवालीले भने, ‘आफ्नो सरकारलाई ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउनेगरी संविधानमा भएको यत्रो छेडखानी गर्दा पनि त्यसको स्वागत गरेर जयजयकार गरिरहनु भएको छ। संविधानको आधारभूत संरचना भत्केको र पार्टीको सरकार गएको विषयमा पनि चिन्ता व्यक्त गरेको देखिँदैन।’

नेपाल समूहप्रति तीतो पोखे पनि ज्ञवालीले अधिकांश नेताहरु एकै स्थानमा हुने बताए। 

वरिष्ठ नेता नेपालले संसद् पुनर्स्थापनालाई स्वागत गरेका छन्। विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपालसहित उनको समूहका २६ जना सांसदले हस्ताक्षर गरेका थिए। 

त्यसैगरी प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेपालसहित उनी निकट २३ जना सांसदले अदालतमा रिट दिएका थिए। त्यही मुद्दामा परमादेश जारी गर्दै सर्वोच्च अदालतले देउवालाई मंगलबार साँझ ७ बजेभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न भनेको छ। 

सर्वोच्च अदालतको गत फागुन २३ गते फैसलाले करिब दुई तिहाइ बहुमत प्राप्त गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजित गरेको थियो। 

त्यसको ४ महिना ५ दिनपछि सर्वोच्च अदालतले अर्को फैसला गरेको छ, जसले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल एमालेभित्र एकता चाँडो सक्ने दबाब पनि सिर्जना गरेको छ। 

फागुन २३ को फैसलापछि एमालेका अध्यक्ष ओली र वरिष्ट नेता माधवकुमार नेपाल समूहले फरक अलग रुपमा गतिविधि गर्दै आएका छन्। 

फागुन २८ गते ओलीले आफू पक्षका केन्द्रीय सदस्यहरुलाई मात्रै बोलाएर कमिटीमा सदस्यहरु थप गरेपछि नेपाल पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ। नेपाल समूहले जिल्ला तहसम्म सामान्तर संगठन निर्माण गरेको छ।

नेपालनिकट नेता रघुजी पन्तले बहुमतको सरकार गुमाउने र पार्टी विभाजन हुने अवस्था किन आयो भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने बताए।

‘अहिले नयाँ राजनीतिक परिस्थिति निर्माण भएको छ। त्यसका सम्भावना र चुनौती दुवै छन्। दुखद् कुरा छँदाखाँदाको सरकार गयो। हामीले बुद्धि नपुर्‍याउँदा करिब दुई तिहाइ बहुमत रहेको प्रतिनिधिसभा थियो। पहिलो विघटनले बहुमत गुम्यो र दोस्रो विघटनले सरकार नै गुम्यो,’ नेता रघुजी पन्तले भने, ‘अहिलेको अवस्था किन आयो, त्यसको समीक्षा हुनुपर्छ। सबैले आआफ्नो कमिकमजोरी देख्नुपर्छ।’

पन्तले अहिलेको अवस्थामा बुद्धि नपुर्‍याउने र विभाजित हुने अवस्था सिर्जना भए सबैथोक नाश हुने बताए।

‘विभिन्न दुर्घटनाले हामी विनाशको अवस्थामा थियौँ। बुद्धि नपुर्‍या​उने र विभाजन हुने हो भने सर्वनाश हुन्छौँ,’ पन्तले भने। 

कार्यदल तहमा आइतबार राति सहमति भए पनि ओली र नेपालबीचको तुस भने कायमै छ।

‘आइतबार कार्यदलमा भएको सहमतिले एउटा आधार दिएको छ,’ पन्तले भने, ‘नयाँ परिस्थिति निर्माण भएको लाग्छ भने नयाँ विषय थप्ने र नयाँ सहमति गराउने हो। राजनीतिमा नयाँ समस्या आयो भने त्यसको समाधान गर्ने बढ्ने हो।’

तर, सचिव ज्ञवालीले नयाँ परिस्थिति अनपेक्षित नभएको बताए।

‘हाम्रो साथीहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुभयो। फैसलाको आधार त्यही बन्यो। बन्छ भन्ने अनुमान पनि थियो,’ ज्ञवालीले भने, ‘त्यो नबनोस् भनेर प्रयास पनि भएको हो। उहाँहरु अलग हुन मान्नु भएन। त्यसैले यो अनपेक्षित थिएन। अबको परिस्थितमा उहाँहरु कसरी आउनु हुन्छ, त्यो भने हेर्न बाँकी छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .