ad ad

राजनीति


एमाले सहमतिको अन्तरकुन्तरः बुँदा नम्बर ६ ले अल्झाएको १२ घण्टा

एमाले सहमतिको अन्तरकुन्तरः बुँदा नम्बर ६ ले अल्झाएको १२ घण्टा

सागर न्यौपाने
असार २८, २०७८ सोमबार १:४७,

‘यदि भीड गलत दिशातिर हिँडिरहेको छ भने एक्लै भए पनि सही बाटोमा हिँड्नू।’ 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हिजोआज आफ्ना निकटस्थहरूसँगका भेट्मा अक्सर यो वाक्य दोहो¥याउने गर्छन्। आइतबार पनि उनले आफूनिकट सांसद र पार्टीका अरु नेताहरूसँग यही भने।

तर नेपालले यसो भन्दै गर्दा आफ्नै पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक प्रतिगमन गरेको भन्दै चर्काे विरोधमा उत्रिएका उनका ‘कमरेड’ सर्वाेच्च अदालतबाट आउने सम्भावित फैसलापछि पनि ओली नै बलियो हुनेगरी सहमतिको खाका कोर्दै थिए।

नभन्दै राति राति १० बजे १० बुँदे सहमति सार्वजनिक भयो, जसमा नेता नेपालले चित्त बुझाएका छैनन्। उनले अदालतको फैसलालाई प्रभाव पार्नेगरी आउने कुनै पनि निर्णय आफूलाई मञ्जुर नहुने प्रतिक्रिया दिएका छन्। 

कार्यदलमा आफ्नै समूहका नेताहरूको भूमिकालाई लिएर वरिष्ठ नेता नेपाल सुरुदेखि नै असन्तुष्ट हुन्।  

नेपालनिकट कतिपय नेताहरूले कार्यदलका पाँच सदस्यलाई ‘विभिषण’को संज्ञा पनि दिएका थिए। कार्यदलका सदस्यहरूले अनौपचारिक छलफल गरुन्जेलसम्म नेता नेपालको उपाध्यक्ष भीम रावलप्रति अगाध भरोसा थियो।

तर जसै रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई भेटे, त्यसपछि उनको भावभंगीमा परिवर्तन हुन थाल्यो। गत सोमबार नेपालका तर्फबाट रावल संयोजक रहेको कार्यदल ब्युँतियो पनि।

‘रावलजीलाई भेटेर ओलीजीले आफूलाई ईश्वर पोखरेलको कुनै भरोसा नलागेकाले उहाँ भूमिकाविहीन भएको बताउँदै, अब पार्टी चलाउने तपाईंले नै हो भन्नुभएछ, उस्तै परे कार्यवाहक अध्यक्ष नै दिन्छु भन्नुभएछ, त्यसपछि रावल कमरेडको उत्साह नै अर्कै भएर गयो, ओलीजीको प्रतिगमन बिर्सिनुभयो,’ नेपाल निकट स्रोतले नेपालखबरसँग भन्यो,‘त्यसपछि त हो नि माधव कमरेड भीड गलत बाटोमा हिँडेको छ भने एक्लै भए पनि सही बाटोमा हिँड्नु भन्न थाल्नुभएको।’

खैर, बिहान साढे ९ बजे नै एमालेको एकता चाहनेहरूलाई खुसीको खबर दिने भन्दै बसेको कार्यदलले बैठक १२ घण्टापछि सकिँदा केही शंका गर्नुपर्ने ठाउँ छाडेरै सहमतिको दस्तावेजमा हस्ताक्षर गरेको छ। सहमति गर्नुअघि नेताहरूले बिहानदेखि रातीसम्म सिंहदरबार भित्र र बाहिर आपसी छलफल र परामर्श गरे। नेता नेपाललाई भेट्न मात्रै उपमहासचिव घनश्याम भुसाल दुई पटकसम्म कोटेश्वर पुगे।

तर दुवैपटकको भेटमा नेता नेपालको जवाफ अदालतको फैसलालाई प्रभावित पार्नेगरी कुनै निर्णय गर्नुहुँदैन भन्ने नै थियो। यही सन्देश बोकेर कोटेश्वर–सिंहदरबार गरेका भुसालले सहमतिमा हस्ताक्षर गरेपछि नेपालखबरसँग भने, ‘लामो समयपछि हामीले सहमतिको विन्दु पहिल्याउन सफल भएका छौं। ६ वटा बुँदामा पार्टी एकताको सर्त थिए। ती सर्तबारे समझदारी जुटेको छ, त्यसले पार्टी एकता बचाएको छ,अब हामी घाइते पार्टीलाई उपचार गरेर अघि बढ्छौं।’

वैशाख २७ गते नेता नेपालले सहमतिका लागि ६ वटा प्रस्ताव अघि सारेका थिए। ०७५ जेठ २ अघिको स्थितिमा पार्टीलाई फर्काउने, ०७७ फागुन २३ यताका सबै निर्णय खारेज गर्नुपर्ने, विवादको कारण पत्ता लगाएर आवश्यक निर्णय गर्ने,सरकार र पार्टीबीच समन्वय हुनुपर्ने, पार्टीका विधान तथा अधिवेशनहरू समयमै गर्नेलगायत छन्। यिनै ६ बुँदा आइतबारको सहमतिको मस्यौदाले समेटेको स्वयम् नेपाल पक्षधर नेताहरूको पनि भनाइ छ। 

यद्यपि भुसालले भनेझैं कार्यदलले घाइते पार्टीलाई मलहम लगाउन त सक्ला तर पूर्णतः उपचार गर्न स्वयम् ओली र नेपाल नै एक ठाउँमा हुनुपर्छ। सहमतिलाई लिएर यी दुई नेताले सार्वजनिक अभिव्यक्ति दिइसकेका छैनन्। प्रारम्भिक प्रतिक्रिया दिँदा नेपाल सहमतिप्रति उति सन्तुष्ट देखिन्नन्।

नेताहरूले दिने प्रतिक्रिया र अब अघि बढ्ने एमालेजनको बाटोले थप राजनीति दृश्य प्रस्ट हुँदै जाला, तर आइतबार पार्टीलाई फुट्न नदिने भनेर नेताहरूले गरेको दौडधुप स्वयम् उनीहरूले पनि पछिसम्म स्मृतिमा राखिरहनेगरी नै भएको थियो। 

आइतबार बिहान ८ बजे नै नेकपा एमाले केपी शर्मा ओली पक्षका नेताहरू सिंहदरबारस्थित वार्तास्थल अर्थमन्त्रालय पुगे। एमाले पार्टी विवाद समाधान समितिका संयोजक सुवास नेम्वाङसहित उपप्रधान र अर्थमन्त्री विष्णु पौडेल ८ नबज्दै पुगेका थिए। विष्णु रिमाल, शंकर पोखरेल र प्रदीप ज्ञवाली अलि पछि पुगे।

शनिबार सोही स्थानमा बसेको कार्यदलको बैठकले आइतबार बिहान सहमतिको बुँदामा हस्ताक्षर गर्ने सहमति गरेकाले निर्धारित समयमै उनिहरू वार्तास्थल पुगे। तर माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेका सबै नेता त्यो समयमा कोटेश्वरस्थित नेपाल निवासमा थिए। ९ बजेर १० मिनेट जाँदा संयोजक भीम रावलसहित घनश्याम भुसाल, सचिव भीम आचार्य, गोकर्ण विष्ट र रघुजी पन्त र सुरेन्द्र पाण्डे पनि वार्तास्थल पुगे। ९ बजेर २० मिनेटमा कार्यदलको बैठक सुरु भयो।

अघिल्लो दिनको सहमतिमा हस्ताक्षर गर्न जम्मा भएका नेताहरूबीच हस्ताक्षरभन्दा अगाडि केही कुरा अझै मिलाउनुपर्ने कुरा उठ्यो।

‘१० मध्ये अरू नौ वटा बुँदा त यूँ मिलेका थिए,’ कार्यदलका एक सदस्यले भने,‘तर छैठौं बुँदाले हामीलाई १२ घण्टा झुलायो।’

सहमतिको बुँदा नम्बर ६ मा ‘प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वाेच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सन्दर्भमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवम् संस्थागत निर्णयअनुरुप हामी अघि बढ्नेछौं’ उल्लेख छ।

यो विषय उल्लेख गरिएपछि आइतबार नै स्थायी कमिटी बैठक बोलाएर अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन नेपाल समूहका सांसदलाई निर्देशन दिने तयारी भइरहेको थियो। त्यसैका लागि ओलीले दिउँसो ४ बजेका लागि पार्टीको स्थायी कमिटी बैठक आह्वानसमेत गरेका थिए। तर नेपाल समूहका कार्यदल सदस्यहरूले त्यसो गर्न मान्दै मानेनन्।

त्यसपछि हस्ताक्षर गर्न जम्मा भएका कार्यदलका सदस्यहरू छुट्टाछुट्टै छलफल गरे। भीम रावल र विष्णु पौडेलले १५ मिनेट छुट्टै छलफल गरे। यस्तै विष्णु पौडेलले फेरि सुवास नेम्वाङलाई १२ मिनेट छुट्टै कुरा गरे। बिहानको खानाअगाडि सहमती जुटेन। नेताहरू बुँदा नम्बर ६ मै अल्झिए।

कतिसम्म भने नेताहरूका लागि खानासमेत बैठकस्थलमै आइपुग्यो। नेताहरूले फलफूल, मकै र मःम: खाँदै सहमतिको खेस्रा कोर्न थाले। तर सर्वाेच्चमा बुझाएको हस्ताक्षर फिर्ता हुने कि नहुने भन्ने विषय झन झन पेचिलाे बन्दै गयो, दिन ढल्यो, साँझ रात पर्यो। राती ८ बजेसम्म पनि ओली समूहले हस्ताक्षर फिर्ताको अडान राखेपछि अब कुरा नमिल्ने भयो भनेर नेपाल समूहका कार्यदल सदस्यहरू जर्याकजुरुक उठे। 

त्यसपछि बल्ल ओली समूह अदालतमा बुझाइएको हस्ताक्षरबारे मौन बस्ने सहमतिमा पुग्यो। सहमति अनुमोदन गर्न एमाले स्थायी कमिटीको बैठक सोमबार साँझ ५ बजेका लागि निर्धारण गरियो। 

अर्थ मन्त्रालयको तेस्रो तलामा रहेको हलमा बैठक चलिरहँदा नेताहरू कहिले झ्यालमा आएर त कहिले बैठकस्थलभन्दा अर्को कोठामा गएर फोन गरिरहेको देखिन्थ्यो। उता बालुवाटारमा त्यसबेलै सूचना पुग्यो- अघिल्लो दिन सहमति गरेर हस्ताक्षर मात्र गर्न बाकी राखिएको थियो तर रातभरमा माधवकुमार नेपाल पक्ष चेन्ज भए।

दिउँसो ४ बजे घनश्याम भुसाल माधव नेपाललाई भेटन कोटेश्वर पुगे। उनले सहमतिको प्रयास जारी रहेको बताए। उनी एकघण्टा नेपालसँग छलफल गरेर फर्किए। फेरि छलफल सुरु भयो। ओली पक्षले आजै जसरी पनि सहमती गरेर जानुपर्ने रणनीति बनाएको थियो । त्यसका लागि बालुवाटारले ४ बजे बोलाएको स्थायी कमिटी बैठक एकघण्टा सार्यो।

सहमतिको प्रयास गर्ने कोसिसका रुपमा त्यसलाई प्रचार गरियो। फेरि छलफल जारी राखियो। बैठक चलेकै बेलामा विष्णु पौडेललाई फोन आयो। उनी अर्जेन्ट काम परेको भन्दै वार्तास्थलबाट बाहिर निस्किए। आफू जरुरी काम परेर निस्किएको उनले बताए। त्यसको केही बेरपछि  फेरि घनश्याम र रघुजी पन्त पनि बाहिर निस्किए।

अब भने सहमति नभएको चर्चा हुन थाल्यो। त्यही बेला बालुवाटारले स्थायी कमिटीको बैठक स्थगित ग¥यो। उता संस्थापन एमालेले असार २९ गतेको लागि केन्द्रिय कमिटीको बैठक राखेर सबैलाई सन्देश पठायाे। एमाले विवाद अब झन गिजोलिएको देखिन थाल्यो।

यतिखेर ठ्याक्कै ८ बजेकाे थियाे। अब मिल्दैन भनेर उठेका नेपाल पक्षका नेताहरू स्थायी कमिटी सदस्य नेम्वाङले एकछिन बसाैं न भनेपछि राेकिएका थिए। त्यसैबेला हाे सञ्चारकर्मीसँग कुरा गर्दै सुवास नेम्वाङले सहमतिको प्रयास भैरहेको र आजै हस्ताक्षर गरेर युरो कपको फाइनल हेर्न जाने बताएकाे। 

छलफल लम्बिने भएपछि कार्यदलका सदस्यहरूका लागि खानाको व्यवस्था हुने भयाे। बैठकमा सहभागी एक नेताका अनुसार उनीहरूलाई पार्टीले नै खानेकुरा किनेर पठाइदिएकाे हाे। उपाध्यक्ष रावलका लागि भने उनकै घरबाट ल्याइयो। अर्थ मन्त्रालयभित्र नेताहरूबीच जति सकस थियाे, बाहिर निर्णय पर्खिबस्नेका लागि पनि समय कम्ता उकुसमुकुसपूर्ण थिएन। 

बेलाबेला नेताहरूको गाडी स्टार्ट हुन्छन्, सुरक्षाकर्मी अलर्ट हुन्छन् र यताउता गर्छन्। तर, नेताहरु कोही बाहिर निस्किन्नन्। आइतबार अर्थ मन्त्रालयमा राजनीतिक सरगर्मी थियाे, दृश्य बजेट सार्वजनिक हुनुभन्दा अघिल्लाे रातकाे जस्तै।

एकैपटक १० बजे १० बुँदे सहमति गरेर सबै नेता सँगै निस्किए,सहमति घोषणा गर्दा सबैभन्दा खुसी उपाध्यक्ष भीम रावल नै देखिन्थे। उनले सहमतिको बुँदा पढेर सुनाउन आग्रह गरेपछि सचिव प्रदीप ज्ञवालीले १० बुँदा पढेर सुनाए। नेताहरुले जेठ २ फर्किने भने तापनि जेठ ३ मा मनोनित गरेका केन्द्रीय सदस्यहरूलाई यथावत् राख्ने भनेका छन्।

यद्यपि १० प्रतिशत सदस्य मनोनीत गर्दा नेपाल समूहबाट सन्तुलन मिलाउने अनौपचारिक सहमति नेताहरूबीच भएको छ। फागुन २३ यताका सबै निर्णय खारेजको माग गरेको कार्यदलले माओवादी केन्द्रबाट एमाले बनेका नेताहरूलाई यथावत् राख्ने विरोधाभाषपूर्ण निर्णय पनि गरेको छ। १० बुँदाका अरू बाँकी विषय पार्टी व्यवस्थापनसित सम्बन्धित छन्।

तर ओलीले दुई-दुईपटक प्रतिनिधि सभा विघटन गर्दा सडकमा गएका नेपालपक्षीय नेताहरूले आफैँले भन्ने गरेको ‘प्रतिगमन’ बिर्सिएका छन् ओलीले चालेको संविधानविराेधी कदमबारे सहमतिपत्र मौन छ। उसो त पछिल्लो समय ओली प्रवृत्तिविरुद्ध सबैभन्दा धेरै आलोचनात्मक टिप्पणी गर्ने र ५ दलीय गठबन्धनको बैठकमा सहभागी हुँदा खरो रूपमा प्रस्तुत हुने उपाध्यक्ष भीम रावलले पछिल्लोपटक गठबन्धनका एक नेतासित भनेका छन्,‘एमाले मिल्दा अरूलाई किन टाउको दुख्यो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .