ad ad

विचार


ट्रम्प नै हुन् अमेरिकाको वास्तविक अनुहार

ट्रम्प नै हुन् अमेरिकाको वास्तविक अनुहार

सुसान अबुलहवा
कात्तिक २८, २०७७ शुक्रबार १३:१,

गतसाता जब अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउन सुरु भयो भयो, तब अमेरिकाभर, खासगरी वामपन्थी खेमामा एउटै प्रतिक्रिया देखिन्थ्यो– डोनाल्ड ट्रम्पले यति धेरै मत कसरी ल्याए? ट्रम्प प्रशासन पथभ्रष्ट र दुष्ट भएकोमा सबैको मतैक्य थियो। तर, उनको चार वर्षे शासनकालपछि पनि यति कडा प्रतिस्पर्धा कसरी भयो, उनीहरु धेरैले विश्वास गर्न सकिरहेका थिएनन्।

उनीहरुको भनाइ ठिक हो। किनभने विगतको तुलनामा ट्रम्पको शासनकालमा अमेरिकामा खुल्लमखुल्ला नश्लवाद, हिंसाको प्रोत्साहन र स्त्रीद्वेष स्पष्ट रुपमा प्रकट भयो। ट्रम्पका पूर्ववर्ती राष्ट्रपतिहरुले भने यस्ता कार्यप्रतिको आफ्नो आवेगलाई मुखुण्डोले छोपेका थिए।

ट्रम्पमा अरुप्रति न्यूनतम सहानुभूति समेत छैन। यसमा कुनै सन्देह छैन। तर, के उनी वास्तवमै आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरुभन्दा यति धेरै फरक छन् त? तीभन्दा ट्रम्प बढी नश्लभेदी हुन्? अथवा तीभन्दा बढी क्रुर र अहंकारी हुन् त?

मलाई त्यस्तो लाग्दैन।

हामीले चिनेको अमेरिकाको वास्तविक अनुहार ट्रम्प नै हुन्। धेरैजसो अमेरिकीहरुका लागि यो कुरा बुझ्न कठिन हुन सक्छ। तर, अमेरिकाभित्र र बाहिर अमेरिकी साम्राज्यको भयानक बर्बरतालाई हामी जजसले देखेका छौँ, उनीहरुका लागि चित्र एकदमै स्पष्ट छ।

ट्रम्प प्रशासनविरुद्ध अमेरिकी नागरिकहरुको भय र आक्रोश पक्कै पनि न्यायोचित छ। ट्रम्पको कार्यकालमा शरण खोज्दै सीमामा आइपुगेका परिवारलाई अलगथलग पारियो, पिँजडामा थुनियो। ट्रम्पले महिलाहरुको बदनामी गरे, श्वेत सर्वोच्चताको वकालत गरे। नश्लभेदी अर्धसैन्य मिलिसियाहरुको शक्ति बढाए। खुल्लमखुल्ला नातावादको अभ्यास गरे, आफू धनी बन्न सार्वजनिक कार्यालयको दुरुपयोग गरे। कोरोना भाइरस महामारीको व्यवस्थापनमा चुके। उनका व्यवसाय शंकास्पद छन्, उनले कर समेत छलेका छन्। ट्रम्पको यस्तो कृत्य अमेरिकी र बाँकी विश्व सबैका लागि आश्चर्यनक छ।

तर, वासिङ्टनका भित्रियाहरु र उनीबीचको एउटै फरक के हो भने ट्रम्पले मुखुण्डो भिर्ने कोसिस गरेनन् वा सकेनन्। उनले आफ्नो ध्वंसात्मक, जातिवादी, विभाजनकारी स्वभावलाई लुकाएनन्। सत्य यही हो। अझ महत्वपूर्ण पक्ष, उनले अमेरिकाको यो ध्वंस, जातिवाद र विभाजनको राष्ट्रिय परम्परालाई आफ्नै देशमा अभ्यास गरे। जबकि चम्किलो व्यक्तित्व बोकेका उनका पूर्ववर्तीहरु भने वाक्पटुता र मुस्कानका साथ कमजोर मुलुकहरुमाथि त्यो ध्वंस थोपर्थे।

ट्रम्पले फासीवादी संगठन ‘प्राउड ब्वाइज’ का सदस्यहरुलाई ‘तम्तयार रहन’ निर्देशन दिए। के यो निर्देशन मोनिका लेवेन्स्कीसँगको यौनकाण्डबाट मानिसको ध्यान मोड्न बिल क्लिन्टनले इराकको खानेपानी आपूर्ति संरचनामा बर्साएको बमभन्दा भयानक हो त?

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत म्याडेलिन अलब्राइटले अमेरिकी नाकाबन्दीका कारण ५ लाख इराकी बालबालिकाको ज्यान जानुलाई ‘उचित मूल्य’ घोषणा गरिन्। सम्भवतः उनीहरुका लागि तेलखानी कब्जा गर्न र सो क्षेत्रमा इजरायलको प्रभुत्व स्थापना गर्न एउटा प्राचीन सभ्याताकै विध्वंस पनि सस्तो मूल्य नै होला। के ट्रम्पको टिप्पणी योभन्दा भयानक हो?

अमेरिकाको हस्तक्षेपअघिसम्म लिबिया अरब–अफ्रिकामा चल्दोपुर्जो राष्ट्र थियो। तर, लिबियाका नेता मुअम्मर गद्दाफीको डरलाग्दो तरिकाले हत्या गरियो। त्यसपछि विदेशमन्त्री हिलारी क्लिन्टनले स्वाद मानेर भनिन्, ‘हामी आयौँ, हामीले देख्यौँ र ऊ म¥यो।’ के यो भयानक थिएन?

यो चुनावमा ट्रम्पले झण्डै आधा मत जिते। यसले अफ्रिकन–अमेरिकनहरुले दशकौँदेखि व्यक्त गर्दै आएको भावनालाई प्रतिबिम्बित गरेको छ। त्यो के हो भने अमेरिका अत्यन्तै नश्लभेदी छ। तर, आधा अमेरिकीले व्यक्त गरेको आश्चर्य र आक्रोशले अमेरिकाबारे के भन्छ?

यसले भन्छ– अमेरिकाले विश्वमा गरेको विध्वंस तिनले देखेकै छैनन्। अझ भन्ने हो भने हेर्ने प्रयास समेत गरेका छैनन्। दक्षिणी गोलार्धमा अझ खासगरी अरब मुलुकमा अमेरिकाको विनाशलीला अझै जारी छ। ती मुलुकले अमेरिकाको केही खाइदिएका थिएनन्। तर, अमेरिकी युद्ध उद्योगको नतिजास्वरुप आज उनीहरु क्षतविक्षत भएर अवर्णनीय पीडा खेपिरहेका छन्।

त्यसैले ट्रम्पले यतिधेरै मत पाउँदा चकित हुने आधा अमेरिकीहरुलाई म भन्छु– तिमीहरु गलत छौ। ट्रम्प पथभ्रष्ट होइनन्। उनी अमेरिकाको सबैभन्दा वास्तविक अनुहार हुन्। इतिहासको ज्ञान भएका र मानवजगतप्रति ऐक्यबद्धता राख्ने अल्पसंख्यकबाहेक सम्पूर्ण अमेरिकाको तस्बिर हुन् ट्रम्प।

बाइडेनको जितको उत्सव मनाइरहेका आधा अमेरिकीहरुलाई मेरो प्रश्न छ– बाइडेनले नयाँ युद्ध सुरु गर्दा तपाईंहरु के गर्नुहुन्छ? किनभने उनले अर्को युद्ध थाल्नेछन्। आफ्नो लोकप्रियता बढाउन अमेरिकी राष्ट्रपतिहरुले गर्न जानेको एक मात्र काम यही नै हो।

र, यतिबिघ्न विभाजित मुलुकमा बाइडेनले पनि त्यही बाटो पक्रिने लगभग निश्चित जस्तै छ। उनले यसअघि नै संकेत गरिसकेका छन्– इरानलाई आफ्नो ठाउँ देखाउन जरुरी छ। अमेरिकाले इजरायलको सबै इशारा मान्ने गर्छ। तसर्थ इरान अमेरिकी साम्राज्यवादको नयाँ सिकार बन्न सक्छ।

(अल जजिराबाट। सुसान अबुलहवा प्यालेस्टाइनी लेखिका हुन्। उनको ‘मर्निङ्स इन जेनिन’ नामक उपन्यास प्रकाशित छ)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .