ad ad

विचार


यसरी एक्लिँदैछ चीन

यसरी एक्लिँदैछ चीन

ब्रायन पी क्लाइन
असोज ११, २०७७ आइतबार १०:४९,

गत केही साताभित्र चीन र युरोपबीचको दशकौँ लामो सम्बन्धमा ठूलो धक्का लागेको छ। दुवै पक्षबीच लगानी र मानव अधिकारसम्बन्धी मुद्दामा चलिरहेको छलफल रोकिएको छ। चिनियाँ लडाकु विमान खतरनाक रुपले ताइवान नजिकै उडेका छन्। त्यस्तै, सीमामा दुवैतर्फका सैनिकको मृत्यु भएपछि भारतसँगको सीमा विवाद पनि चर्किएको छ।

अर्कोतिर अमेरिकासँग उसको व्यापार युद्ध पनि चलिरहकै छ। चार दशकअघि चीनमा आर्थिक सुधार र खुलापन सुरु भएयता विश्वसँग उसको सम्बन्ध यति तिक्त कहिल्यै भएको थिएन। जापान, अस्ट्रेलिया र भारतजस्ता एसिया–प्रशान्त क्षेत्रका हरेक प्रमुख शक्तिबाट बेइजिङ एक्लिएको छ भने त्यहीबेला पश्चिम युरोप, क्यानडा र अमेरिकासँग पनि उसको सम्बन्ध बिग्रिएको छ।

पछिल्लो समय चीनको बढ्दो महत्वाकांक्षा उसका छिमेकीहरुको महत्वाकांक्षासँग बारम्बार टक्कर खान थालेको छ। यसले अबको बहुपक्षीय विश्व व्यवस्थाको नेताको रुपमा आफूलाई स्थापित गर्ने चीनको प्रयासमाथि प्रश्न उठाएको छ। चीनले आक्रामक तरिका अपनाएपछि त्यसप्रतिको विरोध सुरु भएको छ। चीन यही बाटोमा हिँडिरहे त्यो विरोध अझ बढ्नेछ। र, चीनले अझ बढी एक्लिएको महसुस गर्नेछ। उसलाई नियन्त्रण गर्ने अमेरिकाको ठूलो रणनीतिका कारण होइन, चीनको आफ्नै नीतिका कारण यो स्थिति उत्पन्न भएको हो।

चीनको बढ्दो बजारमा पहुँच प्राप्त गर्न चाहने मुलुकहरुले पनि अहिले महसुस गर्न थालिसकेका छन्– बेइजिङकै नियमअनुसार नचले उनीहरुले आर्थिक र राजनीतिक रुपले सजाय पाउनेछन्। चीनमा तिनका नागरिकलाई दुव्र्यवहार गरिनेछ, धम्क्याइनेछ। त्यसैले भारत र जापानले हालै रसदसम्बन्धी रक्षा सम्झौता गरे। अस्ट्रेलिया, जापान र भारत आपूर्ति शृंखलासम्बन्धी सम्झौता गर्ने योजनामा छन्। उनीहरुको रक्षा बजेट पनि बढ्दैछ।

चीनको बजारको सम्भावना आकर्षक थियो। त्यसैले मुलुकहरु उसको अनादर गर्न चाहँदैनथे। तर, अहिले चिनियाँ बजारले आफ्नो धेरैजसो आकर्षण गुमाएको छ। कोभिड–१९ को महामारीले चीनको अर्थतन्त्रलाई थोरै मात्र क्षति गरेको छ। अर्कोतिर, विकसित मुलुकहरु नै मन्दी खेपिरहेका छन्, संक्रमणको दोस्रो लहर चलिरहेको छ। तैपनि नाफाको सम्भावनाले अब पहिलेजस्तो धेरै भूराजनीतिक प्रतिष्ठा कमाउन सक्दैन।

चीनसँग राजनीतिक युद्ध सुरु भएपछि यथास्थिति चाहने युरोपेली कम्पनीहरु चिन्तित भएका छन्। लगानी सन्धिका लागि भएको छलफलमा युरोपेली संघले चीनको बजारमा पहुँच पाउनुपर्ने अडान राखेको छ। यसअघि यस्ता वार्ताहरुमा विकासका लागि भन्दै चीनलाई थप समय दिने चलन थियो।

जापानले आफ्ना कम्पनीहरुलाई मुख्यभूमि चीनबाट बाहिर सर्न उत्प्रेरित गरिरहेको छ। त्यस्तै हङकङमा सुरक्षा कानुन लागू गरिएपछि त्यहाँ रहेका विदेशी कम्पनीहरु बस्ने कि सर्ने भन्ने विषयमा पुनर्मूल्यांकन गरिरहेका छन्। त्यसमाथि चीनले मुलुकको निजी क्षेत्रलाई पनि थप सरकारको नियन्त्रणमा ल्याउन बल गरिरहेको छ। यसले अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई दिएको स्पष्ट संकेत हो– स्थिति पहिलेजस्तो छैन।

भूराजनीतिक रुपमा चीनले बहुपक्षीय सम्बन्धलाई समर्थन गर्छ। तर, आफूले भने थुप्रै विषयमा यसको पालना गर्दैन। हिमालयमा भारतसँगको भौगोलिक विवाद र चिनियाँ किनाराबाट टाढाको समुद्रमा माछा मार्ने कार्यमा चीनले एकतर्फी रुपमा कदम चाल्ने गरेको छ। दक्षिण चीन सागरमा अवैध टापु निर्माणमा पनि उसले अन्तर्राष्ट्रिय फैसलालाई बेवास्ता गरेका छ।

बाँकी विश्वलाई ‘हुँदैन’ भन्न सक्नेगरी चीन शक्तिशाली भएको छ। यसले संयुक्त राष्ट्रसंघ, अमेरिका र युरोपेली संघको विचारलाई अप्रासांगिक बनाइदिएको छ।

सैन्य हिसाबले पनि चीन नाटकीय रुपमा विकसित भएको छ। २० वर्षअघि चीनको सेनालाई राम्रो हातहतियार नभएको, असंगठित भन्ने गरिन्थ्यो। अहिले त्यो सेना यति विशाल र परिष्कृत बनिसकेको छ कि अमेरिकाको रक्षा मन्त्रालयले २०२० को वार्षिक रिपोर्टमा भनेको छ, ‘चीनले गएको दुई दशकमा जनमुक्ति सेनालाई हरेक क्षेत्रमा शक्तिशाली बनाउन र आधुनिकीकरण गर्न स्रोत, प्रविधि र राजनीतिक इच्छाशक्तिको राम्रो संयोजन गरेको छ। वास्तवमा केही क्षेत्रमा चीन अमेरिकाभन्दा पनि अघि बढिसकेको छ।’

विगतमा कूटनीतिक असमझदारी देखिँदा चीनलाई अरुले बुझ्न नसकेको भन्ने गरिन्थ्यो। तर, अहिले अन्य मुलुकले चीनलाई बुझ्न नसकेर समस्या निम्तिएको होइन। उनीहरुले के महसुस गर्न थालेका छन् भने चीन आफ्नो भविष्यको योजना मात्र बनाउँदैन, बरु अरुमाथि पनि आफ्नो दृष्टिकोण लाद्न खोज्छ।

कोभिड–१९ महामारीको उत्पत्तिबारे अनुसन्धान गर्नुपर्छ भन्दा अस्ट्रेलियामाथि चीनले आर्थिक प्रतिबन्धहरु लगायो। अमेरिकाले लगाउने प्रतिबन्धहरुको चीनले प्रायः विरोध गर्ने गरेको छ। संयुक्त राष्ट्रसंघमा उसले त्यसविरुद्ध मत पनि दिन्छ। तर, अहिले झन् सानातिना कारणले आफैँ प्रतिबन्ध लगाइरहेको छ।

चीन र बाँकी विश्वबीचको दूरी त्यसरी नै बढ्दै छ, जसरी चीनको नाटकीय उदय भएको थियो। महाशक्तिहरुबीच दुश्मनी चलिरहेका बेला एक मुलुकले अर्कोलाई सकेसम्म धकेल्ने, एक्ल्याउने गर्नेछन्। तर, हालैका घटनाहरुबाट के देखिन्छ भने अरु मुलुकले जस्तै चीनले विश्वमा आफ्नो प्रभाव विस्तार गर्न खोज्दा त्यसको विरोध बढिरहेको छ।

आगतको भाका प्रायः विगतसँग मिल्नेगर्छ। तर, भविष्य लेखिन अझै बाँकी छ। नेताहरुले इतिहाससँग अनन्त युद्ध गर्न होइन, सामूहिक फाइदालाई हेरेर निर्णय लिनेछन्।

सन्तुलन गुमाएको पृथ्वीमा हाम्रो साझा भविष्य, यसलाई झेल्न आवश्यक तयारी नभएको अन्तर्राष्ट्रिय व्यवस्था र राष्ट्रिय सीमाहरुले रोक्न नसक्ने महामारीले बुद्धिमत्तापूर्ण नीति निर्माण गर्न आह्वान गरिरहेको छ। कमसेकम चीन र उसका छिमेकीहरुले अहिले संवादको अवसरलाई कायम राख्ने प्रतिबद्धता गर्नैपर्छ। महाशक्तिबीचको विगतका द्वन्द्वभन्दा निकै ठूला चुनौती हाम्रो अघिल्तिर छन्। र, कुनै पनि मुलुक एक्लैले ती चुनौतीको सामना गर्न सक्ने छैन।

(साउथ चाइना मर्निङ पोस्टबाट। ब्रायन पी क्लाइन पूर्व अमेरिकी कूटनीतिज्ञ हुन्। उनी न्युयोर्कस्थित रणनीतिक सल्लाहकार कम्पनी डिसिजन एनालाइटिक्सका संस्थापक तथा सीईओ हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .