ad ad

विचार


ट्रम्प र पम्पिओले बिर्सेको निक्सन र किसिन्जरको पाठ

ट्रम्प र पम्पिओले बिर्सेको निक्सन र किसिन्जरको पाठ

ची वाङ
भदौ २५, २०७७ बिहिबार १३:४१,

अमेरिकामा सन् २०२० को राष्ट्रपतीय चुनाव अन्तिम चरणमा प्रवेश गर्दैछ। दुवै पार्टीले उम्मेदवार मनोनयन गरिसकेका छन्। डेमोक्रेटिक उम्मेदवार जो बाइडेन र रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको बहस नजिकिँदै छ।

ट्रम्प र उनको रिपब्लिकन पार्टीले कोरोना भाइरस महामारीको दोष चीनको थाप्लोमा हाल्दै आएका छन्। यो महामारीले एक लाख ८० हजारभन्दा बढी अमेरिकीको ज्यान लिइसकेको छ। करोडौँले रोजगारी र आर्थिक सुरक्षा गुमाएका छन्।

रिपब्लिकन पार्टीका र्‍यालीहरुमा ‘चीनलाई हर्जना तिराउने’ नारा चर्काइँदै छ। राष्ट्रपतीय मात्र होइन, संसदीय निर्वाचनका सभाहरुमा पनि। ट्रम्प र उनको प्रशासनले त ५० वर्ष लामो चीन–अमेरिका सम्बन्ध नै गलत दिशामा रहेको दाबी समेत गरिसकेका छन्।

अमेरिकामा चीनलाई राजनीतिक मुद्दाका रुपमा यसअघि पनि थुप्रै पटक प्रयोग गरिसकिएको छ। सन् १९५० को दशकमा अमेरिकामा ‘चीनलाई कसले गुमायो’ भन्ने बहस थियो। सन् १९९२ को निर्वाचनअघि तियानमेन घटनाप्रति जर्ज एचडब्लु बुसको प्रतिक्रियालाई विल क्लिन्टनले चर्को आलोचना गरेका थिए। तर, यसपटक ट्रम्प र उनका अधिकारीहरुले सीमा नाघेको प्रतीत हुन्छ।

जुलाईमा रिचर्ड निक्सन प्रेसिडेन्सियल लाइब्रेरीमा दिएको भाषणमा विदेशमन्त्री माइक पम्पियोले अमेरिका–चीन सम्बन्धको आलोचना गरे। ५० वर्षअघि सन् १९७२ मा निक्सनले चीनसँग मेलमिलापको हात अघि बढाएका थिए। उनैको नामको पुस्तकालयमा बसेर पम्पियोले निक्सनको नाम खराब त गरेनन् तर त्यसबेलाको विश्व ‘धेरै फरक’ रहेको बताए।

‘चीनसँगको सम्बन्धले सहकार्य र उज्यालो भविष्यको बाटो कोर्नेछ भन्ने कल्पना हामीले गर्‍यौँ। तर, त्यो पूरा भएन,’ उनले भने। पम्पियोका अनुसार चीनसँग संवाद र मेलमिलापको रणनीति असफल भयो किनभने अमेरिकी राष्ट्रपतिहरुले सोचेजस्तो चीनले उदार व्यवस्था अपनाएन।

यी दुवै विन्दुमा पम्पियो गलत छन्। चीनसँगको ५० वर्षको सम्बन्धलाई असफल ठहर्‍याउनुभन्दा पहिले अमेरिकाले चीनसँग मित्रता किन गाँस्यो भनेर हेर्नु महत्वपूर्ण हुन्छ। त्यसरी हेर्दा शीतयुद्धमा सोभियतसंघभन्दा आफ्नो हात माथिबाट पार्न मात्र अमेरिकाले चीनसँग मित्रता गाँसेको थियो। सन् २०११ को ‘अन चाइना’ नामक पुस्तकमा हेनरी किसिन्जरले लेखेझैँ ‘निक्सन चिनियाँ नेताहरुलाई लोकतन्त्र वा स्वतन्त्रताको अमेरिकी सिद्धान्तअनुसार बदल्न चीन आएका थिएनन्। यसलाई उनले बेकार मानेका थिए।’

सन् १९७० को दशकमा अमेरिका र चीनबीचको सम्बन्ध सोभियत संघप्रतिको साझा खतराबाट जन्मिएको थियो। त्यसैले दुवै देशमा ठुल्ठूला घरेलु संकट आइपर्दा पनि यो सम्बन्ध टिक्यो। उदाहरणका लागि अमेरिकामा वाटरगेट काण्ड र चीनमा माओ त्सेतुङको मृत्युलाई लिन सकिन्छ।

जिम्मी कार्टरले चाहिँ द्विपक्षीय सम्बन्ध सामान्यीकरणलाई चिनियाँहरुको जीवनस्तर सुधार्ने माध्यमका रुपमा हेरेका थिए। तथापि, सम्बन्ध सामान्यीकरणको निर्णय भने उनले सोभियत खतराकै कारण लिएका थिए। यसले सम्बन्ध सामान्यीकरणको विपक्षमा रहेकाहरुलाई पनि यसको पक्षमा ल्याउन सहयोग गर्‍यो। खासगरी सन् १९७९ मा सोभियत संघले अफगानिस्तानमा आक्रमण गरेपछि। सम्बन्ध सामान्यीकरणले चिनियाँ जनतालाई सहयोग पुग्नेछ भन्ने कार्टरको निष्कर्ष सही थियो। किनभने जनवरी १९७९ मा चीन र अमेरिकाबीचको सम्बन्ध सामान्यीकरण हुँदै गर्दा देङ स्याओपिङले आर्थिक सुधार पनि सुरु गरे।

वास्तवमा सोभियतहरुविरुद्ध अफगानिस्तानमा अमेरिकाले गरेको गुप्त कारवाहीहरुमा चीनसँगको सहकार्य निकै महत्वपूर्ण थियो। अमेरिका र चीनबीच बढ्दो व्यापार र सम्बन्धले करोडौँ चिनियाँहरुलाई गरिबीको रेखामाथि उक्लिन पनि सघायो।

Mao Nixon
फेब्रुअरी १९७२ मा बेइजिङमा माओसँग अमरिकी राष्ट्रपति निक्सन

निक्सन र कार्टरको समयमा प्रचलित अर्को पक्षलाई पनि ट्रम्प र पम्पियोले भुलेको देखिन्छ। त्यो हो, कूटनीति र विदेशनीति सञ्चालनमा अनुभवी व्यक्तिको महत्व। निक्सन र कार्टरलाई किसिन्जर र जबिग्निएव ब्रेजेजिन्स्कीको सहयोग थियो।

उसो त उनीहरुको व्यक्तित्व ठूलो थियो। उनीहरुको स्थान जोकोही विदेशमन्त्री वा राष्ट्रिय सुरक्षा सल्लाहकारले लिन सक्दैन। तर, मेरो विचारमा यी दुवै पद सम्हालेका व्यक्तिमध्ये पम्पियो सबैभन्दा खराब हुन्। पम्पियोबारे यति निकृष्ट विचार राख्ने म एक्लो व्यक्ति होइन। पम्पियो न बौद्धिक व्यक्ति हुन्, न करिअर डिप्लोम्याट नै।

उनले आफ्नो पदलाई कुन हदसम्म राजनीतिकरण गरेका छन् भने उनी ट्रम्पका सनकको विश्वव्यापी प्रवक्ता मात्रै बनेका छन्। उनले टेलिभिजनमा गएर चीन र राष्ट्रपति सी चिनफिङमाथि निरन्तर गाली बर्साइरहेका छन्। तर, त्यसले कुनै उपलब्धी दिएको छैन। बरु, यसैपनि कमजोर बनेको अमेरिका–चीन सम्बन्धलाई थप क्षति पुर्‍याएको छ।

पम्पियोको कूटनीतिक क्षमता थप कमजोर हुनुको अर्को कारण हो– उनका सल्लाहकारमाझ चीन विज्ञको अभाव। कुनै समय वासिङ्टनमा जोन के फेयरब्यांक र ए डक बार्नेटजस्ता चर्चित विद्वानहरुले चीनसम्बन्धी निर्णय प्रक्रियामा सहयोग गर्थे। तर, पम्पियो चीनसम्बन्धी साँघुरो विचार राख्नेहरुको मात्रै कुरा सुनेर सन्तुष्ट देखिन्छन्। जसले उनको सनकलाई झनै बढाउँछन्।

जब ट्रम्प र पम्पियोले चीनसँगको आर्थिक सम्बन्धलाई बेवास्ता गर्छन्, तब उनीहरु यो विशाल उपलब्धीको सराहना गर्न असफल हुन्छन्। ट्रम्प र उनको प्रशासनले मात्रै अमेरिका–चीन सम्बन्धको यो अध्यायलाई बिर्सिएका होइनन्। चिनियाँहरुले पनि चीनको उदयमा अमेरिकीहरुले खेलेको भूमिकालाई नजरअन्दाज गरेर अहिले आफ्नो प्रगतिको बाधक बनेको भनेर अमेरिकाको आलोचना गरिरहेका छन्।

मैले अमेरिका अझै भावुक र चीन अझै कृतज्ञ हुनुपर्छ भनेको होइन। यतिबेला अमेरिका–चीन सम्बन्ध तनावग्रस्त देखिन्छ। त्यसैले दीर्घकालीन मतभेद हुँदाहुँदैपनि यी दुई देशले मिलेर अगाडि बढ्दा केकस्ता उपलब्धी हासिल गरेका थिए भनेर सम्झिनु चाहिँ महत्वपूर्ण हुन्छ।

यो निकै महत्वपूर्ण विषय हो। किनभने सोभियत संघको खतरा समाप्त भएपनि अमेरिका र चीनका साझा शत्रु अझै थुप्रै छन्। उदाहरणका लागि जलवायु परिवर्तन, आतंकवाद, गरिबी र कोभिड–१९ को महामारीलाई लिन सकिन्छ।

जसरी निक्सन र माओ अनि कार्टर र देङ विमतिहरुलाई बिर्सिन सफल भएका थिए, उसैगरी ट्रम्प र सीले पनि यो सम्झिन जरुरी छ– सहकार्य गरे अमेरिका र चीनले कयौँ सफलता प्राप्त गर्ने छन् र लडाइँ गरे धेरैथोक गुमाउने छन्।

(साउथ चाइना मर्निङ पोस्टबाट। ची वाङ यूएस–चाइना पोलिसी फाउन्डेसनका अध्यक्ष हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .