ad ad

विचार


के अमेरिकाले विश्वमा आफ्नो वर्चस्व फर्काउन सक्छ?

के अमेरिकाले विश्वमा आफ्नो वर्चस्व फर्काउन सक्छ?

जोसेफ नाथन
भदौ २, २०७७ मंगलबार १२:३८,

विश्वभर कोरोना भाइरस खतरनाक रुपले फैलिरहेको छ। मानव स्वास्थ्यमा यसले उत्पन्न गरेको जोखिमलाई कम आक्न सकिन्न। दुर्भाग्यवश कोरोना महामारीलाई अमेरिकाले चीनविरुद्धको व्यापार युद्ध अझ चर्काउन राजनीतिक अस्त्रका रुपमा प्रयोग गरिरहेको छ। अमेरिकाको एक मात्र उदेश्य चिनियाँहरुलाई वार्ताको टेबलमा ल्याउनु हो।

यो विश्वव्यापी प्रोपागान्डाभित्र अर्को एउटा कुटिल एजेन्डा लुकेको छ। अमेरिका र उसका मित्र राष्ट्रहरुले महामारीलाई आफ्नो कुशासन ढाकछोप गर्ने मौकाका रुपमा उपयोग गरिरहेको देखिन्छ।

अहिले कोभिड–१९ लाई नियन्त्रण गर्न र यसका जोखिमलाई न्यूनीकरण गर्न कुनै विश्वव्यापी एकीकृत योजना छैन। यस्तोमा यो महामारीविरुद्धको विश्वव्यापी युद्ध पराजयमा टुंगिने देखिन्छ। अझ भयंकर पक्ष– युवा प्रतिभाहरुको सिंगो पुस्ता आफ्नो सपना र चाहनासहित आगामी कयौँ वर्षका लागि गोदामघरमा थुप्रिने अवस्था देखिन्छ।

अमेरिकी नेतृत्वको बढ्दो मनोविकार
अमेरिकालाई उसको प्रतिस्पर्धात्मक क्षमताले महान बनाएको थियो। तर, गएको ३० वर्षभन्दा बढी समयदेखि उसले सो क्षमतालाई सँगाल्न सकेको छैन। बरु, अमेरिकाका राजनीतिज्ञ, सत्ता दलाल र तिनका सहयोगीहरु आफ्नै पथभ्रष्ट सम्भ्रान्तवाद र वैचारिक विश्वासमा लिप्त रहे। उनीहरुले संसारभर विनाशकारी नीतिको पक्षमा निरन्तर वकालत गरिरहे।

मध्यपूर्वदेखि अमेरिकासम्म उनीहरुले आतंकवादको गम्भीरतालाई बढाइचढाइ गरे र त्यो बहानालाई प्रयोग गरेर मुस्लिम मुलुकका अर्थतन्त्र ध्वस्त पारे। जसले ठूलो संख्यामा मानिसहरुलाई बसाइँ सर्न बाध्य बनायो।

भाग्यवश, जतिसुकै ठूलो विध्वंश र तिकडम गरेपनि अमेरिकाले आइन्दा कुनै पनि युद्ध निर्णायक र रणनीतिक तवरले जित्न सक्दैन भन्ने कुरा संसारले देखिसकेको छ। त्यसैले उत्तर कोरियाजस्तो एकान्तवासी राज्यले समेत अमेरिकासँगको वार्तालाई निरन्तरता दिनु निरर्थक छ भन्ने बुझिसकेको छ।

अमेरिकाको प्रणालीगत अन्याय र नश्लवादले अमेरिकालाई मात्र विभाजित तुल्याएको छैन। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन आफ्ना सहयोगीमार्फत विश्वभर द्वेषपूर्ण ‘सोसल इन्जिनियरिङ’ को विस्तार गर्न सफल भएको छ। पछिल्लो समयको ब्ल्याक लाइभ्स म्याटर प्रदर्शन र हङकङको लोकतन्त्र पक्षधर प्रदर्शन यही बढ्दो खतराको सानो हिस्सा मात्रै हो।

अमेरिकाले विदेशी बहुराष्ट्रिय कम्पनीहरुमाथि एकतर्फी रुपले प्रतिबन्ध लगाइरहेको छ। फ्रान्सको अल्सटम र चीनको हुवावेमाथि झैँ अमेरिकाले हालै टिकटकमाथि प्रतिबन्ध लगाएको छ। तर, त्यसले केही फाइदा गर्दैन। यी बहुराष्ट्रिय कम्पनीको प्राविधिक विकासमा अवरोध पु¥याएर अमेरिकाले नियममा आधारित विश्व अर्थतन्त्रको मजाक उडाएको छ र आफैँलाई ठूलो बदमास देखाएको छ।

डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसले ट्रम्प र रिपब्लिकन पार्टीको आलोचना गर्दै ‘टुटेको राष्ट्र जोड्न’ आह्वान गरेका छन्। उनीहरुको भनाइ एकदमै सही छ। तर, के डेमोक्रेट र अमेरिकी जनताले आफूलाई यो बढ्दो मनोविकारबाट बचाउन सक्छन्?

महामारीको यथार्थ
ट्रम्प र उनका सहयोगीहरुले महामारीलाई तुरुन्दै चीनविरुद्धको हतियारका रुपमा प्रयोग गरे। उनीहरुले यसलाई ‘चिनियाँ भाइरस’ वा ‘वुहान भाइरस’ को नाम दिए। महामारीको जोखिमको हिसाबकिताबमा पनि उनीहरु चुके। जसका कारण रुघाखोकीको भाइरसझैँ यो पनि हराउने ठाने।

थुप्रैले यो भाइरस चीनले निर्माण गरेर फैल्याएको आरोप अझै लगाइरहेका छन्। तर, सत्य त्यस्तो हुन्थ्यो भने अहिलेसम्ममा अमेरिकाले त्यसको प्रमाण दिइसक्थ्यो र चीनलाई अप्ठेरोमा जाकिसक्थ्यो।

बरु यी षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्नुभन्दा उनीहरुले किन केही राज्यले जानीजानी जनतालाई ढाँटिरहेका छन् र नागरिकबाट महत्वपूर्ण सूचना लुकाइरहेका छन् भन्नेमा आफ्नो ध्यान केन्द्रित गरेको भए त्यो अर्थपूर्ण हुनसक्थ्यो।

सिंगापुरमा अत्यन्त उच्च संक्रमण दरका बाबजूद मृत्युदर अत्यन्तै कम थियो। तब कुनै पनि मुलुकले उबाट सिक्न चाहेन। त्यसको कारण स्पष्ट छ। अहिले अमेरिकामा महामारीसम्बन्धी सबै अपडेट र सूचना ह्वाइट हाउसको माध्यमबाट सार्वजनिक हुन्छ। ट्रम्प प्रशासनले सोचेको हुनसक्छ– महामारीको तथ्यांकलाई तलमाथि पारेर आगामी नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन जित्ने सम्भावना बढाउन सकिन्छ। तर, आगामी तीन महिनामा महामारी रोकिनेवाला छैन।

चिस्याइएको खानेकुरामा भाइरस लामो समय बाँच्ने गरेको प्रमाण चीन र न्युजिल्यान्डमा फेला परेका छन्। जहाँ दोहो¥याएर संक्रमण बढ्दै छन्। त्यसैले भाइरसविरुद्धको यो लडाइँ लम्बिने देखिन्छ। खोप उपलब्ध भइसकेपछि पनि त्यसले भाइरसले भन्दा बढी क्षति गर्न सक्दैन भनेर ढुक्क हुन सकिन्न। अझ त्यसले सुरक्षाको झुठो अनुभूति समेत दिलाउन सक्छ।

अमेरिकी दुस्वप्नको अन्त्य
अरुलाई प्रेरित गर्नुको सट्टा अमेरिकी राजनीतिज्ञ तथा तिनका सहयोगीले यो विश्वलाई विशाल ज्यानमारा मैदानमा परिणत गरे। उनीहरुको विध्वंसात्मक कामले कयौँ मुलुकको अर्थतन्त्र विनाश भयो, अनगिन्ती जीवन क्षति भयो। तर, अहिले ती कठिनाइ अमेरिकाले आफ्नै नागरिकमाथि लाद्न थालेको छ।

हो, बाइडेन र ह्यारिसले भनेझैँ अमेरिका यतिबेला खण्डित बनेको छ। महामारीका सन्दर्भमा अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई तत्कालै पुनः सशक्तिकरण गर्न आवश्यक छ। त्यस्तै, महामारीसम्बन्धी चेतावनी दिने यूएस एजेन्सी फर इन्टरनेसनल डेभेलपमेन्टअन्तर्गतको आफ्नै कार्यक्रमलाई ब्युँताउनु पर्छ।

महामारीलाई प्रभावकारी रुपमा नियन्त्रण तथा यसको जोखिम न्यूनीकरण गर्नुअघिसम्म थुप्रै मानिसले ज्यान गुमाउनेछन् अथवा जटिल स्वास्थ्य समस्या झेल्ने छन्। अमेरिकामा मात्र होइन, विश्वभरी नै। यदि अमेरिका यति सरल र अत्यन्त जरुरी पहल लिन समेत सक्दैन भने उसले विश्व व्यवस्थाको नेतृत्व गर्न सक्दैन।

अल्बर्ट आइन्स्टाइनले भनेका थिए– यो संसार ती मानिसहरुबाट ध्वस्त हुने छैन, जो खराब काम गर्छन्। बरु, ती मानिसका कारण ध्वस्त हुनेछ, जो खराब काम देखेर पनि केही नगरी बस्छन्। तसर्थ, केही नगरी बस्यौँ भने हामी सबै गलत साबित हुनेछौँ। यदि अमेरिकी जनता अमेरिकाको वर्चस्वलाई फर्काउन सकिन्छ भन्ने अझै विश्वास गर्छन् भने तिनले राष्ट्रपति पदका उम्मेदवार तथा नेताहरुलाई सही काम गर्न दबाब दिनुपर्छ। अमेरिकाका सहयोगी मुलुकका नागरिकको जिम्मेवारी पनि त्यही हो।

(एसिया टाइम्सबाट। जोसेफ नाथनले सिंगापुरका अनेकौँ कन्सल्टेन्सीमा प्रमुख परामर्शदाताका रुपमा काम गरेका छन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .