ad ad

विचार


जापानले कसरी छलिरहेछ ठूलो कोरोना विपत्ति?

जापानले कसरी छलिरहेछ ठूलो कोरोना विपत्ति?

अस्कर बोयड
चैत १०, २०७६ सोमबार १०:२०,

शनिबारसम्म जापानमा कोरोना संक्रमितको संख्या ९ सय कटेको पुष्टि भएको छ। यो भनेको जापानमा पहिलो कोरोना संक्रमित भेटिएको दुई महिनाको अवधिमा संक्रमित हुनेको संख्या हो।

कोरोना संक्रमणको उद्गमस्थल मानिएको चीनको वुहानबाट आएका ती व्यक्ति जापानको अस्पतालमा जनवरी १० देखि १५ सम्म रहँदा उनमा संक्रमण भएको पुष्टि गरिएको थियो।

उता इटालीमा चाहिँ जापानमा भन्दा दुई हप्तापछि (जनवरी २३ मा) पहिलो संक्रमित व्यक्ति भेटिएको हो। तर, त्यसको केहि दिनपछि नै लम्बार्डी भन्ने क्षेत्रका केहि नगरहरुका ५० हजार मानिसलाई क्वारेन्टिन गर्नुपरेको थियो। त्यसपछि मुलुकको पुरै उत्तरी क्षेत्रलाई गरियो। अहिले पुरै देश नै क्वारेन्टिन मा छ। ४० हजारभन्दा बढि संक्रमित भएको पुष्टि भएको छ भने ३६ सय मानिसले ज्यान गुमाइसकेका छन्।

अमेरिकाको न्यूयोर्कले त्यहाँका बार र रेष्टुराँ बन्द गरेको छ भने क्यालिफोर्नियाले व्यापकरुपमा नागरिकको आवतजावत लगायतका गतिबिधिमा बन्देज लगाएको छ।

टोकियो वरपर हेर्दा त्यस्तो परिदृष्य देखिँदैन। खेल प्रतियोगिताहरु रद्द गरिएको छ। स्कूलहरु बन्द छन्। ठूला मनोरञ्जन स्थलहरु बन्द गरिएको छ। तर, त्यसबाहेक समग्रमा जापान भने सामान्य अवस्थामा चलिरहेको देखिन्छ। कुनै क्वारेन्टिन छैन। बार तथा रेष्टुराँहरुलाई बन्द गर्न बाध्यकारी छैन। क्लबहरु समेत खुलै छन्।

तपाईंलाई एकाबिहानै ४ बजे नुडल आइटम रामेन खान मनलाग्यो भने चिन्ता लिनुपर्दैन। तपाईं सबवेसम्म पुग्दा केहि खाली भएको देख्न सक्नुहुन्छ तर तुरुन्तै यो भरिन्छ। तपाईंलाई कार भाडामा लिएर देशको कुनै कुनामा पुगेर फर्किन मन लाग्यो भने पनि कुनै समस्या छैन। कसैको रोकतोक छैन। यसको अर्थ सो रोग पनि यसैगरि बिना रोकतोक देशभर फैलिनु पर्ने हो।

किन यस्तो फरक भो त? यो रोगबाट अरु देशहरु यती नराम्रोसँग पीडित हुँदा जापानले कसरी यो विपत्ती छलिरहेको देखिन्छ त?

जुनजुन कारणले गर्दा यो भाइरसको संक्रमण अन्यत्र निकै सहज र तीव्ररुपमा फैलिएको छ, ती सबै आधार जापानमा पनि छन्। यो भाइरस उत्पन्न भएको ठाउँ चीनसँग जापानको निकट सम्पर्क छ।

यहाँका शहरहरु विशाल छन्। त्यहाँ उच्च जनघनत्व छ। सानासाना अपार्टमेन्टमा मान्छेहरु कोच्चिएरै बसेका हुन्छन्। रेलको भिडभाड अन्यत्रका शहरभन्दा कम छैन। कामका लागि आवतजावतलाई कम गर्न र घरबाटै काम गर्न आग्रह गरिए पनि ३ करोड ८० लाख जनसंख्या रहेको टोकियोमा मान्छेहरु भने सब काममै व्यस्त देखिन्छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार इटाली यति नराम्रोसँग प्रभावित हुनुको एउटा कारण यहाँका जनसंख्याको उमेर हो। युरोपमा सबैभन्दा बढि र विश्वमै दोश्रो बढि औसत आयु हुने देश हो इटाली। अहिले फैलिरहेको कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएका बुढ्यौली उमेरका मानिसलाई बढि मात्रामा प्रभावित गर्छ।

यस आधारमा पनि जापान इटालीभन्दा एक तह माथि नै छ किनभने संसारमै सबैभन्दा बढि औसत आयु भएको जनसंख्या जापानकै हो। उमेरका कारण त्यहाँको ठूलो जनसंख्या यो भाइरसको अत्यधिक जोखिममा रहेको हुन्छ।

यो भाइरसका कारण चीनमा ज्यान गुमाउनेमध्ये धेरैमा पाइएको एउटा समानता हो– धुम्रपान गर्ने बानी। जसको फोक्सोमा क्षति पुगिसकेको छ, उनीहरुको यो भाइरसका कारण हुने निमोनियाले ज्यान छिटो जानसक्छ। यसमा पनि जापानले आफ्नो नियन्त्रण कायम गरेको छ। सन् २०१७ को अध्ययनले जी७ मुलुकहरुमध्ये धुम्रपान गर्ने पुरुष जनसंख्या सबैभन्दा बढि जापानमै देखाएको थियो।

जापानले यो रोगलाई नियन्त्रणमा राख्न त्यहाँका नागरिकलाई कडा नियम लागु गरेको छैन। चीनले जुन तहको क्वारेन्टिन र यात्रामा रोक लगायो, त्यो तहका बन्देज पनि लगाएको होइन।

पूर्णरुपमा प्रतिबन्धित मुलुकबाट बाहेक अन्यत्रबाट अहिले पनि जापान भ्रमण गर्न सकिन्छ। प्रतिबन्धित मुलुकबाट आइपुगेकालाई पनि सेल्फ आइसोलेसनमा १४ दिन बस्न भनिएको छ।

kyotowomen

त्यहि प्रश्न फेरि दोहोरिन्छ– त्यसो हुँदा यो फरक चाहिँ किन त? कसरी जापानले संक्रमितलाई यति सानो संख्यामा सीमित राख्न सफल भएको छ।

शंकालु एउटा उत्तर छ जसले जापानको कम परिक्षण दरमाथि प्रश्न उठाउँछ। जापानमा संक्रमितको संख्या न्यून छ किनभने यसले पर्याप्त मात्रामा परिक्षण नै गरेको छैन भन्ने एउटा तर्क छ। त्यसो त, जापानले आयोजना गर्न लागेको ओलम्पिक हुने–नहुनेमै प्रश्न उठेको छ। सरकारले ओलम्पिक आयोजना गर्ने मौका नगुमोस् भनेर संक्रमितको संख्या कम देखाइरहेको हो कि भन्ने प्रश्न उठाइएको छ।

दक्षिण कोरियाले व्यापकरुपमा परिक्षणलाई तीव्रता दिएको पाइन्छ। ‘परिक्षण परिक्षण परिक्षण’ भन्ने विश्व स्वास्थ्य संगठनको सुझावलाई कोरियाले अनुसरण गरेको पाइन्छ। जापानले भने जुन व्यक्तिमा प्रष्ट लक्षणहरु देखिएका र संक्रमितसँग प्रत्यक्ष सम्पर्क भएका व्यक्तिको मात्र परिक्षण गर्ने गरेको छ।

नयाँ प्रबिधिबाट १०–१५ मिनेटमै परिक्षण रिपोर्ट उपलब्ध हुन्छ तर जापानमा कुनै व्यक्तिमा गम्भीर लक्षण देखिएमात्र परिक्षण गरिएको छ। कुनै व्यक्तिमा चार दिन वा सोभन्दा बढि समयसम्म ज्वरो आएमा परिक्षण गरिन्छ।

तर सरकार परिक्षणको मामिलामा फेल भएको भए हामीले पक्कै पनि अन्यत्र वा अरु तवरबाट यो रोगका प्रमाण फेला पर्थ्याे। स्वास्थ्य संस्थाहरु र शवगृहहरुमा भिडभाड बढि हुनुपर्ने थियो। त्यस्तो हामीले पाएका छैनौं।

तीन प्रकारका सोचहरु अहिले रहेको पाइन्छ : षडयन्त्र, सौभाग्य र कुशलता।

षडयन्त्रको सिद्धान्तअनुसार त्यहाँ व्यापकरुपमा ढाकछोप गरिएको हुनुपर्छ। यस्तो भएको भए त्यहाँ मानिसहरु परिक्षण नभएर, उपचार नपाएर आफ्नै घरमा मरिरहेको हुनुपर्छ र अस्पतालले पनि मृत्यु हुनेको संख्या नै गलत दिनुपर्‍यो। यो कुरा विश्वास गर्न गार्‍हो छ। त्यस्तो अवस्थामा त्यहाँका डाक्टरहरु समेत चुप रहने संभावना हुँदैन। कुनै अधिनायकवादी सरकार भएको भए उसका जनतालाई त्यो तहमा नियन्त्रणमा राख्ने कल्पना गर्थ्याे होला। त्यहाँको वास्तविकता त्यस्तो छैन। मान्छेलाई जोगाउन डाक्टरहरु बोल्थे। चीनमा डाक्टरहरु बोलेको देख्यौं भने यहाँ पनि पक्कै बोल्थे।

जापान भाग्यमानी भएकै कारण यसरी बँचेको हो भन्ने अर्को विचार पनि यथार्थपरक लाग्दैन। यहाँको पूर्ववत् प्रचलनहरुले गर्दा यो भाइरस संक्रमण अन्यत्र जस्तो नफैलिएको हुनसक्छ। जस्तै अन्यत्र हात मिलाउने चलन छ भने यहाँ केहि पर झुकेर अभिवादन गरिन्छ। मास्क लगाउने अभ्यास बढि छ। वृद्ध मानिसहरु छुट्टै बस्ने जापानको पुरानै परम्परा हो। यसरी आफैं छुट्टै बस्ने र सामाजिक दूरी कायम राख्ने जापानको चलनले यहाँको संक्रमणलाई तीब्र हुनबाट रोक्न भूमिका खेलेको मान्न सकिन्छ।

तेस्रो विचार अनुसार, जापानको पहिलेदेखि कै विद्यमान अवस्थामा उसले चालेका ‘ठीकै र पर्याप्त’ प्रयासले पनि राम्रो काम गरेको हुनुपर्छ। आवश्यक परेको ठाउँमा मात्र लक्षित गरी गरिएका परिक्षण र ठूला कार्यक्रमहरु रोकेका कारणले व्यापकरुपमा फैलिनबाट रोकेको हुनुपर्छ। त्यसैगरी व्यक्तिगत तवरबाट र कर्पोरेट स्तरबाट गरिएको बिकेन्द्रित पहलहरुले गर्दा बाँकी जनसंख्यामा पनि भाइरस पुग्नबाट रोकिएको हुनसक्छ।

फेरि पनि अर्को प्रश्न उठ्नसक्छ : यो अवस्था कहिलेसम्म कायम रहन सक्ला त?

जापानी प्रधानमन्त्री सिन्जो अबेले घोषणा गरेको दुईदेखि तीन हप्ताको गम्भीर समय सकिन लागेको छ। केहि स्कूलहरु खुल्ने तयारीमा छन्। टोकियोको सिन्जुकु स्टेसन वा सिवुया क्रसिङ पुग्दा ती ठाउँमा अहिले भिडभाड देख्न सकिन्छ।

अहिले हनामी (चेरी फक्रिने दृष्य देखिने) मौसम हो। यतिबेला रुखमुनि बसेर पिकनिक तथा भोजहरु गरेको सर्वत्र देखिन्छ। राजधानीकै सबैभन्दा ठूलो पार्क सिन्जुकु ग्योएनमा अहिले पनि मानिसहरु तस्बिरहरु खिचिरहेको र फक्रिन लागेका फूलहरुको नजिक झुम्मिएका दृष्य छरपष्ट देखिन्छ।

हनामीजस्ता औपचारिक कार्यक्रमहरुमा रोक त लगाइएको छ तर यो चलन उनीहरुको जीवनशैलीको रुपमा अत्यन्तै जरो गाडेको हुँदा यी गतिबिधिमा मानिसले संयमता अपनाएर टाढै रहलान् भन्ने अपेक्षा गर्न गार्‍हो छ।

यदि जापानका केहि अध्ययनले संकेत गरेजस्तै यो संक्रमणको सबैभन्दा कठिन परिस्थिति आउन बाँकी नै हो भने के अहिलेको परिस्थिति त्यसको पूर्वसंकेत मात्रै हो त?

(दि जापान टाइम्सबाट)

याे पनि: 
जहाँ कोरोना भाइरसभन्दा सरकार एक कदम अगाडि छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .