ad ad

विचार


ठूला दल र बिजनेस कम्युनिटीलाई सुझाव : बालेन्द्रलाई गलाउन खोजियो भने प्रत्युत्पादक हुन्छ

ठूला दल र बिजनेस कम्युनिटीलाई सुझाव : बालेन्द्रलाई गलाउन खोजियो भने प्रत्युत्पादक हुन्छ

डा. सूर्यराज आचार्य
भदौ १२, २०७९ आइतबार १६:२७, काठमाडौँ

तत्काल हेर्दा महानगरपालिकाका मेयर नै डोजर लिएर काम गर्नेभन्दा अलिकति फरक अर्थ लाग्ला। तर, मेयर बालेन्द्र शाहले थालेको अनधिकृत संरचना भत्काउने काम व्यवस्थित शहरीकरण र कानुन पालनाको हिसाबले एकदम सही छ।

बालेन्द्रका पनि आफ्नै कमजोरी हुँदै जालान्, तर यो अहिले उनले गरेको हस्तक्षेप अत्यन्तै सान्दर्भिक छ। यो काम व्यवस्थित सहरीकरणको आधारभूत मापदण्ड लागु गर्ने मात्र हो।

काठमाडौं कुरुप भयो, व्यवस्थित सहरीकरण भएन भनेर हामी आलोचना गर्छौं । बाटोमा खल्डाखुल्डी भए, ठेकदारले काम गरेन भनेर सरकारलाई थुप्रै गाली गर्छौं। तर, आफैंलाई पर्दा विभिन्न निहुँ निकाल्छौं। मेयर बालेन्द्रले गर्नुभएको राम्रो पक्ष के हो भने उतैतिर सोझ्याइदिनुभयो।

बेसमेन्टको पार्किङ काठमाडौंको ट्राफिकका लागि सबैभन्दा मुख्य विषय बनेको छ। निजी गाडी लिएर सहरमा निस्कँदा सबैभन्दा धेरै टाउको दुखाइको विषय नै कहाँ पार्किङ गर्ने भन्ने छ। नितान्त प्राविधिक इस्युको हिसाबले पनि बेसमेन्ट खालि गराएर पार्किङ राख्ने विषय गर्नेपर्ने कुरा हो।

नक्सा पास भनेको के हो? शहरी विकासका मापदण्ड के हो? पार्किङ बनाउने भनेर बेसमेन्ट बनाएर नक्सा पास गर्दा छुट पाइन्छ। यो छुट भनेको एम्बुलेन्स चलाउँछु भनेर गाडी भन्सार फ्रीमा ल्याएर भाडामा लगाए जस्तै हो।

प्राविधिक हिसाबले मेयर बालेन्द्रले पार्किङ खोल्न खोज्नुै विल्कुल वैज्ञानिक छ। यो जसरी पनि गर्नैपर्ने काम हो। यसमा अहिलेसम्म कसैको आँखा पुगेको थिएन। यो विद्यासुन्दरले गर्दा पनि हुन्थ्यो, साँच्चै भन्ने हो भने प्रमुख जिल्ला अधिकारीले पनि यो काम गर्दा राम्रै हुन्थ्यो। गगन थापाजीले नै उठाएको भए पनि हुन्थ्यो।

बालेन्द्र आफैं इञ्जिनियर पनि हुन् । विज्ञलाई नेतृत्वमा पठायो भने त्यसको सकारात्मक काम देखिने रहेछ भन्ने उदाहरण पनि बालेन्द्र हुनुभयो। उहाँमा केही कमजोरी होलान्, अलि अनुभव छैन, परिपक्वता छैन, तर उहाँको एउटा विज्ञताको अठोट जुन देखिएको छ, त्यसको हामीले स्वागत गर्नुपर्छ।

ठूला दललाई धक्का
बालेन्द्रको कदमलाई समर्थन गर्ने वा विरोध गर्ने प्रष्ट नभई अबको निर्वाचनमा राजनीतिक दललाई पनि अघि बढ्न असहज हुन्छ। राजनीतिक दलका लागि यो महत्वपूर्ण विषय पनि बनेको छ।

काठमाडौंमा ब्यूँतने बालेन्द्रको एउटा राजनीतिक मुद्दा थियो, जसको राजनीतिक अर्थ पनि छ। चुनावमा जित्ने हार्ने मात्र नभई राष्ट्रिय राजनीतिमा दलहरुको जुन एकाधिकार थियो, थोरै हदसम्म पनि त्यसलाई धक्का लागेको अवस्था हो।

बालेन्द्रले लिएका केही कदमहरुको परिणाम के होला भन्ने छुट्टै विषय हो, त्यो हेरिएला। तर, अहिले के देखियो भने हाम्रा जनप्रतिनिधिहरु शासन सत्तामा बस्नेले दूधको दूध पानीको पानी नभनी म भोलि हार्छु कि? भोलि हारेपछि के होला भन्नेमा ध्यान नदिई गयो भने जनताले देखिने किसिमले सघाउँछन् भन्ने सन्देश गएको देखिन्छ। यो आगामी निर्वाचनमा पनि कुनै न कुनै रुपमा चर्चाको विषय बन्छ।

ठूला दल र उहाँहरुका उम्मेदवारलाई पानीमाथिको ओभानो बन्ने ठाउँ छैन। उहाँहरुका उम्मेदवार र कार्यकर्ताहरुले यो अभियानबारे बोल्न कर लाग्छ। बालेन्द्रले लिएको स्टेपलाई कुनै पनि किन्तु परन्तु जोडेर व्यवसायीहरुलाई समय दिनुपर्ने लगायतका कुराहरु गरियो भने प्रत्युत्पादक हुन सक्छ।

उद्योगी व्यवसायीलाई सुझाव
अब यहाँ नेपाल उद्योग वाणिज्य संघको विज्ञप्ति निस्कन सक्छ, त्यो भयो भने मजस्तो नागरिकले यो देशलाई ओरालो लगाउनेमा विकृत राजनीतिमात्र नभई उद्योगी व्यवसायी, नागरिक धेरथोर सबै संलग्न छन् भन्ने निश्कर्ष निकाल्नुपर्छ।

एउटा बिजनेस कम्युनिटी, समाजको वर्चश्वशाली वर्ग राजनीतिको विसंगतिभित्रका छिद्रमा आड लिएर रमाइरहेको छ। एउटा जिम्मेवार बिजनेस कम्युनिटीले काठमाडौं शहरमा कहीँ पनि काम परेर जानपर्यो भने पार्किङ शुल्क अत्यन्तै महंगो छ। युरोपियन मुलुकमा भन्दा पनि महंगो हुन थालेको छ।

सशुल्क पार्किङमा यो चाप किन बढ्यो भने यसरी व्यवसायिक भवनका पार्किङहरु अन्य प्रयोजनमा काम भए। ती व्यवसायिक पसलमा भएका पार्किङमा पार्किङ नै भएको भए त बाहिर सशुल्क पार्किङमा पनि कम प्रेसर पथ्र्यो।

हामी वास्तवमा राजनीतिक विसंगति भयो भनेर दल र नेताहरुलाई आलोचना गर्छौं। सँगसँगै समाजमा देखिएका असफलताहरु उद्योग, व्यवसायी, पेशाकर्मी, मिडियाकर्मी, यो हामी  सबैको असफलता हो। त्यसकारण, उद्योग व्यवसायीहरुले कानुन बेचेर व्यवसाय गर्ने होइन, नाफा गर्ने होइन, जुन अत्यन्तै घातक हुन्छ। उहाँहरुका लागि पनि यो चेतनामुलक हस्तक्षेप हो।

अहिलेसम्मको हाम्रो बुझाइ र मनोविज्ञान के छ भने काठमाडौं फोहोर भयो, अव्यवस्थित भयो भनेर मौका पाउँदा सबैले भन्छौं। तर, हामी उद्योगी ब्यवसायी, नागरिक सबै नियम कानुन मिचेर काठमाडौं बिगार्न हात हालिरहेका छौं।

यो काममा मेयरले दादागिरी वा डनगिरी देखायो भन्न मिल्दैन। बाटो मिचेको कुरालाई ३५ दिने सूचना ननिकालेर खबर मात्र गरेको भए उहाँहरुले खाली गराउनुहुन्थ्यो?

मेयर बालेन्द्र शाह आफैं प्राविधिक हुनुहुन्छ, युवा हुनुहुन्छ, अनुभवमा केही कमी होला । तर, उहाँको कार्यशैली र नियतमा प्रश्न गर्ने बेला भएको छैन। उहाँको कार्यशैलीप्रति उद्योग व्यवसायीले तर्क गर्ने बेला भएको छैन। यो बेलामा संयम भएर खाली गर्न लाग्ने समय माग्नलाई उद्योग वाणिज्य संघले मध्यस्तता गर्नुपर्छ।

आजको भोलि सबै नहुन सक्छ, व्यवहारिक हिसाबले तत्काल सम्भव नहुनसक्छ भनेर वाणिज्य संघले कानुनको पालना होस् भनेर सोच्नुपर्छ। नक्सा पास गर्दाको मापदण्ड अनुसार त्यो भवनको प्रयोग होस भन्नेमा हामी सबैले सघाउँछौं, कानुनको राज्य भयो भनेमात्र उद्योग व्यवसाय फस्टाउँछ भन्ने व्यवसायीले बुझ्नुपर्यो। अब त पुराना राजनीतिक दलहरुले मात्र नभई उद्योगी व्यवसायीले पनि अब कसरी गर्ने? भनेर सोच्नुपर्ने बेला भएको छ।

ठूला राजनीतिक दलहरु त हरेक पटक परीक्षणमा हुनुहुन्छ, जनताले हरेक पटक आलोचना गरेका छन्। यो चाँहि उद्योग व्यवसायीको पनि परीक्षणको घडी हो।

अहिले मेयरले लिएको कदमप्रति उद्योग कम्युनिटीले कसरी व्यवस्थित गर्छ भन्ने मुख्य विषय बनेको छ। आफ्नो समूहले गरेको सबै न्यायोचित भन्नेखालको ढंगबाट व्यवसायीले सोच्नै हुँदैन। त्यसो भयो भने उहाँहरुले राजनीतिक वैधता गुमाउनुहुन्छ।

यदि बालेन्द्रलाई गलाउन खोजियो भने त्यो प्रयुत्पादक हुन्छ। अहिले जुन वैकल्पिक राजनीतिक, स्वतन्त्र र सर्वसाधारणको आक्रोश एकैठाउँमा भएर त्यो पात्रहरुमा मात्र व्यक्त भएको छ, सँगसँगै यो विकृत राजनीतिलाई जोगाउने उद्योगी, व्यवसायी पनि रहेछन् भन्ने घातक सन्देश जान्छ।

यसमा उद्योग व्यवसायीहरु अर्थतन्त्र र समृद्धिका लागि महत्वपूर्ण समुदाय हो। मलाई लाग्छ, उहाँहरुले यस्तो अपरिपक्व निर्णय लिनुहुँदैन।

यो (पूर्वाधार) क्षेत्रको अध्येताको हिसाबले पनि म के भन्छु भने नक्सा पास गर्दा पार्किङ चलाउनु भनेको एम्बुलेन्स चलाउँछु भनेर ल्याएर गाडी भाडामा लगाएको जस्तै हो। हुबहु मिल्ने कुरा भनेकै यही हो।

उद्योग वाणिज्य संघले आफ्ना सदस्यको पक्ष लिने भन्दा पनि व्यवहारिक निर्णय गरेर केही समय लिने गर्नुपर्छ। मेयरले लिनुभएको स्टेपको सैद्धान्तिक हिसाबले समर्थन गरेर केही समयमा पार्किङमै लगाउँछु भनेर समय निकाल्दा उत्तम हुन्छ।

नक्सामा मापदण्ड प्रष्ट तोकिएको कुरा लागू गर्नका लागि काठमाडौंको मेयर नै फिल्डमा जानुपर्ने हुनु नै दुर्भाग्यको कुरा हो। तर, मेयर नगई एउटा इन्जिनियरले खाली गर्नुस् भनेको भए उहाँले टेर्नुहुन्थ्यो? मिडियामा यति चर्चामा आउँथ्यो?

एउटा युवा मेयर हुनुहुन्छ, उहाँ स्वतन्त्र हुनुहन्छ। त्यसकारण उहाँलाई भोलि आफ्नो कार्यकर्ता हो कि हैन भन्ने चिन्ता छैन। त्यही कुरो विद्यासुन्दरले गर्न सक्नुहुन्नथ्यो। बालेन्द्रको ठाउँमा कांग्रेस र एमालेको मेयर चुनिएको भए पनि यो काम गर्न सक्नु हुन्नथ्यो। उहाँहरुले के देख्नुहुन्थ्यो भने, ओहो! यो पोलिसी लागू गर्यो भने त कि एमालेको कि कांग्रेसको घर पर्छ।

नेपालको निर्वाचन प्रणालीमा सबैभन्दा बढी मत ल्याउने ब्यक्ति बालेन्द्र नै हो, शेरबहादुर देउवाको भन्दा उहाँको बढी मत छ। मुलुकको जनप्रतिनिधि नियम कानुन पालना गराउनका लागि डोजर ड्राइभरहरुसँगै फिल्डमा गएर गर्नुहुन्छ भने सम्मान गर्नुपर्छ।

उहाँको अभिव्यक्ति र शैली मेयरको हिसाबले मात्र हेर्दा केही अमर्यादित देखिन सक्छन। तर, ती गौण विषय हुन्। मुल कुरा उहाँको अठोट, आँट र मोटिभेसन हो। जुन कानुन पालनको कुरा हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .