ad ad

विचार


प्रदीप गिरिले ‘म मार्क्सवादी हुँ’ भनेर स्वघोषणै गर्नुभएको थियो

प्रदीप गिरिले ‘म मार्क्सवादी हुँ’ भनेर स्वघोषणै गर्नुभएको थियो

विजयकान्त कर्ण
भदौ ७, २०७९ मंगलबार १९:४०, काठमाडौँ

चिन्तक प्रदीप गिरि थला परेपछि उहाँको स्वास्थ्यलाभका निम्ति निकै प्रार्थनासभा आयोजन गरिए। लेखेर र भाकल गरेर स्वास्थ्यलाभको कामना गरियो। मृत्युपश्चात पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा उहाँको शव राखी श्रद्धाञ्जली अर्पण गरियो। आर्यघाटमा लगि कर्मकाण्ड सहित दागबत्ती दिइयो। सरकारले तोपको सलामी चढाएर सम्मान दर्शायो। यो प्रदीप गिरिको चिन्तन र व्यवहारभन्दा सर्वथा उल्टो कर्म थियो। उहाँलाई यस्ता कर्मकाण्डमा अलिकता पनि विश्वास थिएन। उहाँ धर्मकर्मका नाममा गरिने हरेक कर्मकाण्डबाट टाढा रहन रुचाउनुहुन्थ्यो। अध्यात्ममा केही हदसम्म विश्वास देखिए पनि उहाँ देवीदेउताको नाममा कहिल्यै पूजापाठ गर्नुहुन्थेन। 

उहाँको जीवनदर्शन अर्कै थियो। कर्ममा विश्वास गर्ने उहाँको जीवनशैली १०–५ को थिएन। अहिले यो गर्ने, भरे त्यो गर्ने भन्ने ‘रुटिन लाइफ’देखि धेरै टाढा बस्ने उहाँ स्वच्छन्द जीवनशैलीमा हिँड्न रुचाउनुहुन्थ्यो, जसलाई केहीले अराजक जीवनशैलीको रुपमा पनि टिप्पणी गर्दथे। कहिलेकाहीँ मलाई पनि त्यस्तै लाग्थ्यो। संगत गर्दै जाँदा थाहा भयो, त्यो उहाँको अराजक नभई स्वाभाविक चरित्र रहेछ। उहाँसँग बाक्लो संगत गरेको चारपाँच वर्षयता लगभग दिनहुँजसो कुराकानी हुन्थ्यो। नियमित हुने बसाइ बेलुकी ५ देखि १० बजेसम्म चल्थ्यो। कोरोनाकालको त्रासदीमा त झन् रातभर जाग्राम बसेर गफ गरिन्थ्यो। उहाँसँग धेरै योजनाहरु थिए, धेरै काम गर्न खोजिरहनुभएको थियो। तर उहाँ आफैँ भन्नुहुन्थ्यो– ‘अब म बढीमा दुईचार वर्ष मात्र मर्त्यलोकमा रहन्छु होला।’ त्यसरी आफ्नो मृत्युबोध गर्न सक्ने व्यक्तिले आफ्नो शरीरभित्र क्यान्सर फैलिरहेको जानकारी चाहिँ पाउन सक्नुभएको थिएन। 

गान्धीवादी ग्रामीण नेता
प्रदीप दाइ ग्रामीण जीवनपद्धतिसँग जोडिएको नेता हुनुहुन्थ्यो। उहाँको घरमा सयौँ नोकरचाकर थिए। घोडा पालिएका थिए। बालक प्रदीप घोडा चढेर स्कुल जान्थ्यो। सबैले मालिक भनी बोलाउँथे। त्यस्तो वैभवशाली थियो, उहाँको जीवनको सुरुवाती कालखण्ड। तर कालान्तरमा उहाँले अंगीकार गरेको जीवनशैली अत्यन्त सादगीपूर्ण रह्यो। चकटीमा बसेर खाने, गम्छा भिर्ने र खाटमा सुत्ने उहाँलाई गाउँलेले मालिक भनी सम्बोधन गर्दा ‘मलाई किन मालिक भन्छौ’ भन्दै हपार्नुहुन्थ्यो। 

उहाँको संगत बीपी कोइराला, भारतका समाजवादी आन्दोलनका नेता जयप्रकाश नारायण र राममनोहर लोहियासँग भएकोले होला, सोच्ने र लोकलाई हेर्ने दृष्टिकोण पनि उहाँहरुसँग मेल खान्थ्यो। जयप्रकाशको आन्दोलन र क्रान्तिको प्रभाव, बीपीको राजनीतिक दर्शन र साहित्यको प्रभाव र राममनोहर लोहियाको समाजवादी चिन्तनबाट अत्यन्त प्रभावित हुनुहुन्थ्यो। त्यसैले होला, आफू खानदानी परिवारमा जन्मिए पनि उहाँमा समाजका त्याज्य, उपेक्षित, गरिब, दलित र मुस्लिमजनलाई हेर्ने सवालमा अत्यन्त करुणाभाव थियो र उहाँ तिनलाई सहयोग गर्न हरदम तत्पर रहनुहुन्थ्यो। 

भिडिओ :

असाध्यै अध्ययनशील हुनुहुन्थ्यो उहाँ। इतिहासका कुरा गर्ने, प्लेटो र अरस्तुदेखि लिएर अहिलेसम्मका सारा इतिहास वाचन गर्ने, दर्शनशास्त्रको व्याख्या गर्ने, विज्ञानको कुरा गर्ने, मार्क्सवादको धाराप्रवाह विवेचना गर्ने गर्नुहुन्थ्यो। हिन्दु धर्मका सबै पुस्तक लगभग कण्ठस्थ थियो। कुरान र बाइबलजस्ता ग्रन्थ पढेको र मार्क्सवादका गहन अध्येता उहाँलाई मैले वर्तमान भारतीय विदेशमन्त्री एस जयशंकरको किताब प्रकाशित हुनासाथ किनेर लगिदिएँ। उहाँले मलार्ई दुई दिनभित्र पुस्तक पढिसकेर तेस्रो दिन त्यसमाथि छलफल गर्न होमवर्क दिनुभयो। म पनि निर्धारित दिनमा किताब पढेर गएँ। 

जानासाथ उहाँले भारतीय विदेशमन्त्रीले ‘इन्डिया वे’ भनेर लेख्छ भने हामीले ‘नेपाल वे’ भनेर किन लेख्न सक्दैनौँ? भनेर कुरा सुरु गर्नु भयो। नेपाल के हो? नेपालको परराष्ट्र नीति कस्तो हुनुपर्छ? हामीले कुन बाटो लिने? हामी ७० वर्षमा कहाँकहाँ चुक्यौँ? हामीले समीक्षा गर्ने कि नगर्ने? भारतले यसरी समीक्षा गरिरहेको छ। चिनियाँहरुले गरिरहेका छन्। हामीले किन नगर्ने, बेला भएन? अब यसमाथि काम थालौँ न भन्नु भयो। किताबका एकएक अंश केलाउँदै उहाँले मसँग निकै तर्कवितर्क गर्नु भो। यस्ता विषयमाथि छलफल गर्न विज्ञहरुको भेला गर्ने प्रस्ताव गर्नु भयो। मैले गाह्रो छ भन्दा उहाँ एकचोटि प्रयास गरौँ न गाह्रो काम त हो नि गर्ने भन्नुहुन्थ्यो। 

उहाँ समाजको बृहत्तर आयाममाथि चर्चा गर्न चाहनुहुन्थ्यो। संविधानमाथि विमर्श चलाऔँ न भन्नुहुन्थ्यो। उहाँकै सल्लाह बमोजिम कोरोना सुरु हुनुभन्दा केही समयअघि हामीले प्राध्यापक लोकराज बराल, कृष्ण खनालजस्ता व्यक्तिहरु डाकी संवाद पनि चलायौँ। मलाई आश्चर्य लागेको के हो भने उहाँले त्यस कार्यक्रममा सबै युवाहरुलाई डाक्नुभएको थियो। नयाँ पुस्तालाई पुराना पुस्ताले ज्ञान हस्तान्तरण गर्दै जानुपर्छ भन्ने उहाँलाई युवापुस्तामाथि निकै विश्वास देखिन्थ्यो। उहाँ युवाहरुसँग संगत गर्न रुचाउनुहुन्थ्यो। 

अहमदावादस्थित महात्मा गान्धीको साबरमती आश्रमसँग राम्रो सम्बन्ध भएकोले उहाँले युवाहरुलाई अध्ययनका निम्ति गान्धी आश्रम पठाउनुहुन्थ्यो। त्यहाँबाट सिकेर आएको ज्ञानलाई समाजोपयोगी काममा लगाइयोस् भन्ने चाह राख्नुहुन्थ्यो। त्यसरी अध्ययन–तालिम लिएर फर्कने युवाहरुको संख्या २५–३० जति होला। अस्पतालमा कष्टकर अन्तिम घडी बिताइरहेको उहाँलाई भेट्न तीनचार दिनसम्म लगातार गएँ। त्यहाँ जाँदा उहाँलाई हेरचाह गर्ने केही युवाहरुले आफूहरु सावरमती आश्रमबाट दीक्षित भएको बताएका थिए। 

गान्धीको आश्रमबाट अत्यन्त प्रभावित उहाँले सर्वश्व दान गरेको जमिन बस्तीपुरमा त्यस्तै आश्रम बनाउनुभएको छ। त्यो आश्रमको अवधारणा सिधै महात्मा गान्धीको अहमदावादस्थित साबरमती आश्रमसँग मिल्दोजुल्दो छ। उहाँ आफ्नो आश्रम विश्वभरका अनुसन्धाता, साहित्यकार, कवि, कलाकार, फिल्मकार र लेखकका निम्ति अध्ययन–अनुसन्धान केन्द्रको रुपमा विकास गर्न चाहनुहुन्थ्यो। एकदिन मलाई बताउनुभएको सम्झन्छु, ‘विजय, गज्जु बाबु (गजेन्द्रनारायण सिंह) ले पनि राजविराज स्थित आफ्नो घरलाई आश्रमको स्वरुप दिई सञ्चालन गर्नुहुन्थ्यो नि, तपाईंलाई थाहा छ?​’

मार्क्सवादलाई उहाँ समाज परिवर्तनको एउटा माध्यम मान्नुहुन्थ्यो। तर सत्ताप्राप्तिका निम्ति गरिने हिंसा उहाँका निम्ति त्याज्य थियो। त्यसलाई स्वीकार्नु हुन्थेन। हिंसात्मक आन्दोलनसँग विमति रहेको उहाँमा हिंसाबारे प्रष्ट बुझाइ थियो। माओवादीले उठाएका मुद्दा सही भए पनि उसले अंगीकार गरेको हिंसात्मक राजनीतिको उहाँ सधैँ विपक्षमा रहनुभयो। हिंसा किन गलत हो भन्नेबारेमा उहाँको तर्क हुन्थ्यो– तपाईं मरेको मान्छेलाई जिउँदो बनाउने सामर्थ्य राख्नुहुन्न भने तपाईंलाई कसैको ज्यान लिने पनि कुनै अधिकार रहँदैन। यस्तो बाटोले समाज परिवर्तन हुँदैन भन्ने उहाँको गहिरो विश्वास थियो। उहाँ दृष्टान्त दिँदै भन्नुहुन्थ्यो– ‘मार्क्सको सिद्धान्त पछ्याउँदै हिंसाबाट सबै परिवर्तन गर्छु भन्ने लेनिन अन्ततः थाकेर गए। हिंसाले कहीँ पुर्याउँदैन भन्ने हामीले विश्व राजनीतिबाट सिक्न सक्छौँ।’

यहाँनेर उहाँलाई गान्धी चाहिन्थ्यो। जयप्रकाश नारायण चाहिन्थ्यो। राममनोहर लोहिया चाहिन्थ्यो। उहाँ सुनाउनुहुन्थ्यो– ‘तपाईंलाई थाहा छ विजय बाबु, जेपी बाबु पनि मार्क्सवादी हुनुहुन्थ्यो। राममनोहर पनि मार्क्सवादी नै हो। बीपी पनि मार्क्सवादी हुन्। म त मार्क्सवादी नै हुँ।’ त्यसैले होला, नेपालका सबै कम्युनिस्ट नेताहरुसँग उहाँको राम्रो सम्बन्ध थियो। मार्क्सवादमाथि उहाँको अध्ययन कति विशद् थियो भने घनश्याम भुसालजीहरुसँग उहाँ देशभर कम्युनिस्टहरुलाई मार्क्सवाद पढाउँदै हिँड्नु भयो। 

उहाँलाई मन परेको किताब रातभरि पढेर भए पनि सक्नुहुन्थ्यो। पढ्नु मात्र हुन्थेन। उहाँमा किताब पढेर त्यसको ज्ञान ग्रहण गर्ने अचम्मको क्षमता थियो। प्रत्येक पुस्तकलाई आलोचनात्मक चेतद्वारा हेर्ने उहाँमा गजबको क्षमता थियो। उहाँ नेपाली समाज आलोचनात्मक नभइदिएकोमा चिन्तित हुनुहुन्थ्यो। एकदिन साँझ ७ बजे फोन गरेर बोलाउनु भयो। ‘यति साँझ आउने र?’ मैले घुमाएर अनिच्छा जाहेर गरेँ। उहाँले ‘तपाईं आइहाल्नोस्’ भन्नुभयो। नगई धर भएन। उहाँलाई संसद् विघटन भएकोमा निकै पोलेको रहेछ। भन्नुभयो– ‘सबैभन्दा ठूलो चुनौती कहाँनेर छ थाहा छ तपाईंलाई? मलाई संसदको होइन संविधानको चिन्ता लाग्यो।’ 

‘संविधानमा तपाईंले सही नै गर्नुभएको छैन,’ मैले उहाँलाई भनेँ, ‘मैले त संविधान जलाइदिएको हुँ। यस्तो संविधान गए पनि हामीलाई के भयो र?’ 

उहाँको जवाफ थियो– ‘त्यसैले अहिले हाम्रो भूमिकाको खाँचो परेको छ। संविधान लेख्नेले यो संविधान बचाउँदैनन्। संविधानको समर्थनमा हस्ताक्षर नगर्ने मजस्ता र  चित्त नबुझेर यसलाई जलाउने तपाईंजस्ताले यो संविधान बचाउन सडकमा उत्रनुपर्ने भयो।’

नभन्दै त्यसपछि नागरिक आन्दोलनकारीहरु सडकमा आउन थाले। त्यो आन्दोलनमा उहाँको निकै समर्थन थियो। 

उहाँ हरेक आन्दोलनलाई विचारले नेतृत्व गरेको हुनुपर्छ भन्नुहुन्थ्यो। विचारबिनाको आन्दोलन हुँदैन भन्नुहुन्थ्यो। आन्दोलनको लागि आन्दोलन गरिनुहुँदैन, पहिला विचार निर्माण गर्नुपर्छ भन्नुहुन्थ्यो। उहाँको भनाइ हुन्थ्यो, ‘हामीकहाँ सबैभन्दा खराबी के छ भने हामी विचार छाडेर आन्दोलन गर्छौं। त्यसैले परिणाम यस्तो आउँछ। गान्धीसँग सिक्ने के हो भने हामी मज्जाले हिँड्नुपर्छ। गान्धी हजारौँ किलोमिटर हिँड्थे, जनतासँग प्रत्यक्ष संवाद गर्थे।’ 

भन्नुहुन्थ्यो– ‘हाम्रा नेता नहिँडेर बिग्रिएका हुन्। हाम्रा नेताहरु महंगा गाडीमा चढेर जनतामाझ पुग्छन्। यी हिँड्दैनन्। गाउँमा बस्दैनन। ती जनतालाई एकोहोरो कुरा सुनाउँछन्, संवाद गर्दैनन् अनि ती कसरी जोडिन्छन् जनतासँग? जनतासँग जोडिन र तिनका समस्या बुझ्न गाउँमै गएर बस्नुपर्छ। उनीहरुसँग दोहोरो संवाद गर्नुपर्छ। अनि तिनलाई विचारले जोड्नुपर्छ। गान्धीले अंग्रेजलाई भारत छाड भनेर मात्र आन्दोलन गरेका थिएनन्, स्वतन्त्रतापछि कस्तो भारत बनाउने भन्ने रुपरेखा सहित आन्दोलनमा होमिएका थिए।’

गान्धीबाट प्रभावित प्रदीप गिरिको मलाई सबैभन्दा महत्वपूर्ण कुरा नै यही लाग्थ्यो, विचारबिनाको आन्दोलन आन्दोलन नै होइन। चाहे त्यो दलितले गरेको होस् या मधेशीले थालेको आन्दोलन या महिलाले नेतृत्व गरेको स्वाभिमानको आन्दोलन नै किन नहोस्, आन्दोलनको शीर्षमा वैचारिकी चाहिन्छ चाहिन्छ।  

(राजनीतिशास्त्रका प्राध्यापक तथा पूर्वराजदूत कर्णसँग जेवी पुन मगरले गरेको कुराकानीमा आधारित) 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .