छापा खबर


एनआरएनले त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडे

एनआरएनले त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडे

नेपालखबर
असोज २८, २०७६ मंगलबार ३:११,

गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् ।

लामो लाइनमा बस्नुपरेको भन्दै उनीहरूले आइतबार बेलुका डेस्क तोडफोड गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

तोडफोडमा उत्रिएका एनआरएनए रमेशकुमार थापालाई पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ।

पिए ७१०२५६६ नम्बरको अस्ट्रेलियन राहदानीवाहक थापाले मुड्कीले हानेर अध्यागमनको सिसा फुटाएर कर्मचारीमाथि पनि अभद्र व्यवहार गरेका थिए । उनीसहित पाँचजनाको समूहले कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए ।

तोडफोड गर्ने थापालाई पक्राउ गरिएको र उनका अन्य चार साथीको कागजपत्र लिइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

थापालाई आइतबार राति महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको थियो भने सोमबार बेलुका अध्यागमन विभागको हिरासतमा सारिएको थियो ।

जरिवाना गरेर उनलाई मंगलबार छाडिने विभागका महानिर्देशक पौडेलले बताए । उनलाई छाड्न एनआरएका नेताहरूले अध्यागमन अधिकारीहरूलाई दबाब दिएका थिए। मंगलबारदेखि एनआरएनको नवौँ अधिवेशन काठमाडौंमा सुरु हुँदै छ । जसका लागि करिब १५ सय प्रतिनिधि काठमाडौं आइसकेका छन्।

यसरी भयो घटना
आइतबार राति १२ बजेतिर उनीहरू क्याथे ड्रागन एयरलाइन्सको उडान केए १०४ मार्फत नेपाल आएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका कारण साँझ आउने विमान राति आएका थिए।

जसकारण बेलुका अबेरसम्म अध्यागमनमा भिडभाड थियो । अध्यागमन कार्यालयमा नेपाली, निःशुल्क भिसा पाउने सार्क राष्ट्र तथा चिनियाँ र अन्य विदेशीका लागि छुट्टाछुट्टै डेस्क हुन्छ।

उनीहरू नेपाली मूलका अस्ट्रेलियन नागरिक हुन् । उनीहरूसँग एनआरएनए कार्डसमेत थिएन । पर्यटक भिसामा नेपाल प्रवेश गर्न लागेका थिए।

जसकारण उनीहरू अन्य विदेशी पर्यटकजस्तै लाइनमा बस्नुपर्ने थियो । लाइन लामो थियो । निःशुल्क भिसा पाउनेतर्फको लाइन खाली भएपछि उनीहरूले त्यहाँ गएर आफूहरूलाई छिटो भिसा दिन दबाब दिएका थिए।

सो डेस्कमा कार्यरत महिला अधिकृतले सम्बन्धित डेस्कको लाइनमा बस्न आग्रह गरेकी थिइन् । त्यही क्रममा एक भारतीय सो डेस्क हुँदै बाहिरिएकी थिइन्।

त्यसपछि उनीहरूले भारतीयलाई सजिलै इन्ट्री दिने आफूहरू लाइनमा बस्नुपर्ने भन्दै डेस्कको सिसा फुटाएर कर्मचारीमाथि अपशब्द बोलेका थिए । लगत्तै अध्यागमन कर्मचारीले प्रहरी बोलाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad