चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन्।
उनले आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लाओसको उदाहरण प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन्।
नेपालजस्तै भूपरिवेष्टित मुलुक लाओस पनि रेल कनेक्सनका कारण भूजडित बन्ने क्रममा रहेको उनको भनाइ थियो । वार्तामा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रपति सीले केरुङ(काठमाडौं रेल निर्माणको विषय आफ्नो उच्च प्राथमिकतामा रहेको उल्लेख गरेका थिए। उनले नेपालमा रेलको कुरा अब छलफल र बहसको विषय नै नभएको, बरु त्यसलाई कसरी ल्याउने भन्नेतर्फ ध्यानकेन्द्रित भइरहेको बताए।
‘अब प्राविधिक रूपमा कसरी ल्याउन सकिन्छ भन्नेतर्फ हामी केन्द्रित हुनुपर्छ,’ राष्ट्रपति सीले भने। सन् २०१६, २०१८ र २०१९ मा रेलको विषयमा छलफल भइसकेकाले अब त्यही आधारमा सम्भाव्यता अध्ययनको चरणमा प्रवेश गरिएको उनले जानकारी दिए। दुई देशको संयुक्त विज्ञप्तिमा केरुङ(काठमाडौं रेललाई पोखरा हुँदै लुम्बिनी पुर्याउने सैद्धान्तिक प्रतिबद्धता जनाइएको छ।
रेल ल्याउने प्रयासकै लागि यसअघि पूर्वसम्भाव्यता अध्ययन भएको राष्ट्रपति सीले बताए। पूर्वसम्भाव्यता अध्ययनअनुसार हिमालय पार गरेर रेल ल्याउन निकै चुनौतीपूर्ण देखिए पनि चीनले विकास गरेको प्रविधिले त्यो चुनौती सामना गर्न सक्ने सीले विश्वास व्यक्त गरेका थिए।
सिगात्सेबाट केरुङ हुँदै काठमाडौंसम्म ल्याउने भनिएको रेलमार्ग उच्च भेगमा पर्छ । त्यसको निर्माण भौगोलिक र प्राविधिक दृष्टिले निकै जटिल रहेको उल्लेख गर्दै राष्ट्रपति सीले भने, ‘तर जसरी पनि ल्याउने कोसिस गर्छौं।’ यो खबर आजको कान्तिपुरमा दुर्गा खनालले लेखेका छन्।
नेपालसँगको ‘कनेक्टिभिटी’ बढाउन सडक सञ्जाललाई पनि प्राथमिकता दिने, तर त्यसका लागि चरणबद्ध रूपमा काम गरिने राष्ट्रपति सीले उल्लेख गरे । पहिलो चरणमा अरनिको राजमार्गको स्तरोन्नति र केरुङतर्फ टनेल निर्माणको काम गरिने उनले बताए । त्यसपछि मुस्ताङको कोरला नाका, संखुवासभाको किमाथांका हुँुदै कर्णालीतर्फ नाका विकास गर्ने प्राथमिकता चिनियाँ राष्ट्रपतिले उल्लेख गरेका थिए।
करिब ४० मिनेटका लागि निर्धारित नेपाल(चीन द्विपक्षीय वार्ता त्यसभन्दा निकै बढी चलेको थियो। त्यस क्रममा चिनियाँ राष्ट्रपतिले खुलस्त ढंगले आफ्ना धारणाहरू राखेका थिए।

प्रतिक्रिया