छापा खबर


सुध्रिएनन् टिपर चालक

सुध्रिएनन् टिपर चालक

नेपालखबर
असोज १७, २०७६ शुक्रबार ०:३०,

कंलकीबाट थानकोटतर्फ गइराखेको बा ३ ख ३८१७ नम्बरको टिपरले सोही दिशा गइराखेको बा ४६ प ४९०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुधबार चितवनका सुनिल अधिकारीको मृत्यु भयो।

मोटरसाइकल पछाडि सवार अधिकारीको घटनास्थलमै मृत्यु भयो भने, चालक हिराबहादुर बानियाँ घाइते भए।

बानियाँको ओमसमाज अस्पतालमा उपचार भइरहेको छ। गत भदौमा तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिपरले आइतबार राति सिनामंगलमा मोटरसाइकललाई ठक्कर दिँदा पासाङ भोटेको मृत्यु भयो।

तीव्र गतिमा आएको टिपरले कार्गो कार्यालयनेर बा ८५प ५६९, बा ३८प २३९३ र ना ४३ प ८७३५ नम्बरका तीनवटा मोटरसाइकललाई ठक्कर दिएको थियो । बा८५प ५६९ नम्बरका चालक छाङबुङ भोटे, ना ४३प ८७३५ नम्बरका चालक प्रमोद धिताल घाइते भए भने बा ३८प २३९३ नम्बर मोटरसाइकलका चालक भोटेको मृत्यु भयो।

उपत्यका ट्राफिक महाशाखाको तथ्यांक हेर्दा साउनदेखि असोजसम्म टिपरकै ठक्करबाट ३ जनाको मृत्यु भइसकेको खबर आजको कान्तिपुर दैनिकमा दीपेन्द्र बिष्टले लेखेका छन्।

टिपर र ट्रकको ठक्करबाट मानिसको मृत्यु भएको यो नौलो घटना होइन । प्रत्येक वर्ष टिपर र ट्रकको ठक्करले मृत्यु र घाइते हुनेको संख्या बढ्दो छ । तर, यसलाई नियन्त्रण तथा न्यूनिकरण गर्ने प्रयास भएको देखिँदैन।

एक वर्षअघि स्कुटरमा यात्रारत २४ वर्षीया अस्मिता भण्डारीलाई काठमाडौंको जडीबुटी चोकमा बा ४ ख ३५५० नम्बरको टिपरले किचेर मृत्यु भयो । गत वर्ष जेठमा भक्तपुर सागामा टिपरकै कारण हरि कटुवाल, सविता घिमिरे र अविन्द्र घिमिरेको ज्यान गएको थियो ।

मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७५र७६ मा मात्र २ हजार ७ सय ६२ जनाको दुर्घटनामा मृत्यु भएको प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक प्रहरी निर्देशनालयको तथ्यांक छ ।

मुलुकभर २१ हजार ६ सय ५४ सवारी दुर्घटना भएका थिए । निर्देशनालयकाअनुसार टिपर र ट्रकसँग जोडिएका ८० प्रतिशत दुर्घटनामा चालकको लापरबाही देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad