निद्रामा घुरेकै कारण श्रीमतीले दुईपटक खाटबाट खसाएको नमिठो अनुभव छ लोकन्थली नयाँबस्तीका श्रीराम कार्कीलाई ।
दोस्रोपटक खाटबाट खसाल्दा कार्कीको हात मर्केको थियो। उनले भने, “घुर्न पनि अति नै घुर्ने रहेछु अनि यस्तो नगरोस् पनि कसरी? श्रीमतीले खाटबाट खसालेकोमा मलाई केही गुनासो छैन, मोबाइलमा भिडियो खिचेर देखाएकी थिइन्, त्यो सुन्दा त म आफैँ पनि तर्सें ”
यो समस्या कार्कीको मात्र होइन, घरघरकै समस्या हो । मोटोपन भएका मानिसले घुर्नु त सामान्य हो भन्ने गर्छन् । अन्य मानिसले पनि घुरेकै कारण कतिपय परिवारमा समस्या आउने गरेको छ ।
धेरैलाई घुर्ने समस्या रोग हो भन्ने जानकारी पनि नभएको पाइएको छ । कार्कीले उपचारका लागि कुनै पनि चिकित्सककहाँ नगएको र यो रोग हो भनेर आफूलाई जानकारी नभएको बताएका खबर आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेका छन्।
यस्तै स्नातक दोस्रो वर्षमा अध्ययनरत नविता थापा साथीहरूसँग शैक्षिक भ्रमणमा धादिङ जाँदा बल्ल थाहा आफूले घुर्ने बानी।
नाक, कान, घाँटी विशेषज्ञ डा. निर्मला तामाङका अनुसार धेरैको निद्रामा घुर्ने बानी हुन्छ, वरपरकालाई घुर्ने बानीले समस्या भए पनि आफूले घुरेको छु भन्ने आफैँलाई थाहा हुन्न ।
निद्रामा घुर्ने बानी मोटोपना भएका र ज्येष्ठ नागरिकमा धेरै हुने उनले बताए।
‘घुर्ने बानी पनि एक प्रकारको रोग हो भनेर थाहा नभएको हुनसक्छ तर यो घातक रोग हो,’ तामाङले भने, “घुर्ने बानीका कारण मुटु, उच्च रक्तचाप र चिनी रोगलाई नराम्रो असर पार्छ, त्यसकारण यसलाई समयमा नै उपचार गर्नुपर्छ।”
डा.तामाङले घुर्ने बानी भएको मानिस राति सुत्न सकेको हुँदैन, त्यसैले दिउँसो बढी निद्रा लाग्ने, गाडी, कार्यालय वा विद्यालयमा पनि एकैछिन बस्दा पनि निदाउने जानकारी दिए।
डा. तामाङका अनुसार साधारण घुराइ मोटोपन हुनेहरू अथवा अन्य स्वस्थ मानिसलाई हुनसक्छ तर यसमा ‘स्लिप एप्निया’मा जस्तो श्वास रोकिने वा अक्सिजनको मात्रा घट्ने हुँदैन ।
‘स्लिप एप्निया’ हुनेहरूलाई निदाएको बेला गर्धनभित्रको श्वासनली साँघुरो भई केही बेरका लागि बन्द हुन्छ, जसका कारण शरीरमा अक्सिजनको मात्रा घट्न थाल्छ, मुटुको चाल अनि प्रेसर बढ्न थाल्छ । यसको केही समयपछि छोटो समयका लागि निद्रा खुल्छ अनि फेरि श्वासप्रश्वास सुचारु हुन्छ ।
अल्पकालीन परिणाममा मुटुको चाल गडबड हुने तथा हृदयाघात (हार्ट अट्याक) देखि लिएर दीर्घकालीन रूपमा शारीरिक तथा मानसिक असरहरू हुन सक्ने भएकाले शङ्का लाग्नेबित्तिकै डाक्टरको परामर्श लिनु उचित हुने डा.तामाङको सुझाव छ ।
निद्रामा घुर्ने समस्या छ भने यसका लागि निद्रासम्बन्धी जाँच गर्नुपर्ने हुन्छ । यसलाई ‘पोलिसोम्नोग्राफी’ पनि भनिन्छ । यो जाँच गर्नका लागि तपाईं एक रात अस्पतालको बेडमा भर्ना भई सुत्नुपर्नेछ ।
यो जाँचले तपाईं निदाएको बेला घुर्ने, श्वास रोकिने तथा अक्सिजनको मात्रा कम हुने एवं अन्य निद्रासम्बन्धी रोगहरू भए नभएको किटान गर्न सहयोग गर्नेछ ।
निदाएको बेला शरीरमा टाँसिएका तार वा सेन्सरहरूले निद्राको अवस्था, घुराइको मात्रा, अक्सिजनको मात्रा, श्वासको गति, मुटुको चालको निगरानी तथा भिडियोको माध्यमबाट निद्राका गतिविधिहरू परीक्षण गर्छ । सेन्सरहरू टाँस्न प्रयोग हुने क्रिमको एलर्जी तथा रोगकै कारण हुनसक्ने भवितव्यबाहेक यो जाँचका कारण शरीरमा अन्य कुनै नराम्रो असर हँुँदैन।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिलचन्द्र झाले घुर्ने रोग नै लागेको हो भने हृदयाघात (हार्ट अट्याक), मुटुको चालमा गडबडी, प्यारालाइसिस, मानसिक समस्या, थकान, प्रेसर, मधुमेह, यौन समस्या आदि हुने सम्भावना धेरै हुने जानकारी दिनुभयो । उहाँले अत्यधिक आलस्यपन तथा निद्राका कारण मोटोपन झन् बढ्दै जानसक्छ ।
श्वास नलीको माथिल्लो भागमा विविध कारणवश अवरोध भएपछि घुर्ने समस्या हुन्छ । खासगरी जिब्रोको पश्च भाग, मूल, तालु, तालुको त्यान्द्रो, गालाको मांशपेशी र श्वास नलीमध्ये यी परिस्थितिहरूको मुख्य भूमिका रहने आयुर्वेदिक डा. अमितमान जोशीले जानकारी दिए।
प्रतिक्रिया