छापा खबर


सीको भ्रमण सुनिश्चित गर्दै फर्कियो चिनियाँ टोली

सीको भ्रमण सुनिश्चित गर्दै फर्कियो चिनियाँ टोली

नेपालखबर
असोज ८, २०७६ बुधबार २३:५२,

राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सुनिश्चितताको सन्देश दिएर चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरू फर्केका छन्।

नेकपाको स्कुल विभागसँग ‘सी चिनफिङ विचारधारा’ माथि छलफल चलाउन आएका चिनियाँ टोलीका प्रमुख सङ ताओले भ्रमणको आश्वासन दिएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

दुई पार्टीबीचको छलफललाई राष्ट्रपति सीको भ्रमणको तयारीका रूपमा लिइएको छ। सी असोज अन्तिम साता आउने तयारी छ।

राष्ट्रपतिको भ्रमणअघि चिनियाँ टोली त्यसको अध्ययन गर्ने सिलसिलामा अन्य मुलुकमा पनि जाने प्रचलन छ। प्रायः विदेश विभाग प्रमुख सङ नै त्यस्तो भ्रमणको तयारीका लागि अन्य मुलुकमा जाने गरेका छन्।

यसअघि राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जानुअघि सङ तीनपटक उत्तर कोरिया पुगेका थिए। विदेश विभाग प्रमुख सङको राष्ट्रपति सीसँग सिधा रिपोर्टिङको च्यानल रहेको छ।

‘चिनियाँ टोलीले राष्ट्रपति सी आउने सन्देश दिएको छ। कहिले, कसरी आउने भन्ने तय हुँदै जान्छ,’ विचारधारात्मक छलफलको नेपालतर्फ संयोजन गरेका नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले भने।

नेकपाका नेताहरूले मंगलबार दुई पार्टीबीच सम्झौता गर्दा राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको धारणा राखेका थिए। त्यसको जवाफमा सङले ‘तपाईंहरुको आशा पूरा हुने विश्वास गर्नुहोस्’ भनेका थिए।

राष्ट्रपति सीको भ्रमणका विषयमा चिनियाँ टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै छलफल गरेको थियो। छलफलमा उनीहरूले यहाँको सुरक्षा व्यवस्थाबारे पनि जिज्ञासा राखेका थिए।

‘सी चिनफिङ विचारधारा’ मा भएको छलफलबाट चिनियाँ टोली प्रभावित भएको नेकपाका नेताहरूले दाबी गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad