छापा खबर


मोतियाबिन्दुमा शल्यक्रियाको विकल्पमा तयार भयो थोपा औषधि

 मोतियाबिन्दुमा शल्यक्रियाको विकल्पमा तयार भयो थोपा औषधि

नेपालखबर
असार ३, २०७६ मंगलबार २:१,

आँखाको दृष्टिसम्बन्धी समस्यामा मोतियाबिन्दु (क्याटरेट्स), खस्रेरोग (ट्राकोमा) प्रमुख हुन्।

उमेर बढेसँगै नेपालमा मोतियाबिन्दु हुनुलाई सामान्य रूपमा लिइन्छ । मोतियाबिन्दु हटाउन संवेदनशील मानिने आँखामा सुई लगाएर शल्यक्रिया नै गर्नुपर्छ।

तर अमेरिकी चिकित्सकहरूले थोपाका रूपमा राख्न सकिने औषधिले मोतियाबिन्दुलाई विस्थापित गर्ने औषधिको खोज गरेका खबर आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन्।

‘आई ड्रपर’को सहयोगले उक्त औषधि आँखामा राख्न सकिनेछ । तर त्यो प्रयोगमा सफल अनुसन्धान प्रयोगमा भने आइसकेको छैन।

नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरका निर्देशक डा. कोमल खड्काले भने आफ्नै पालामा उक्त खोज औषधिका रूपमा आउनेमा आशङ्का व्यक्त गर्नुहुन्छ। ‘मानवमा परीक्षण भएको छैन, परीक्षण सफल भएपछि कानुनी अड्चन पार गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अमेरिकाबाट नेपालसम्म आइपुग्न कम्तीमा एक दशक लाग्छ।’

यद्यपि उहाँले समयमै आए आँखासम्बन्धी औषधीय विज्ञानमा चमत्कार र वरदान नै हुने बताए। शल्यक्रिया झञ्झटिलो, बढी समय लाग्ने, जोखिमयुक्त र खर्चिलो हुँदा ‘ड्रप’का रूपमा आउने औषधि छिटो आए आफूहरूका लागि पनि राहत हुने उनको भनाई छ।

उक्त औषधि चिकित्सकीय परीक्षणको चरणमा रहेको छ । तर औषधिको प्रयोगले शरीरमा अन्य कुनै असर नहुने सुनिश्चितता गर्न कडा कानुन रहेकामा परीक्षण चरण पूरा गर्न समय लाग्नेछ।

उक्त चरण पूरा गरेलगत्तै बजारमा औषधिको थोपा ‘ड्रप’को रूपमा उपलब्ध हुनेछ । जसले मोतियाबिन्दुमा शल्यक्रियाको वैकल्पिक उपचारको ढोका खोल्नेछ । जुन औषधीय विज्ञानमा ठूलै कदम हुनेछ।

दृष्टिको समस्या व्यापक
विश्वका २८ करोड ५० लाख मानिसमा दृष्टिको समस्या छ । अस्ट्रेलियास्थित ‘फ्रेड होल्लोज फाउन्डेसन’का अनुसार विश्वमा आँखा नदेख्ने मानिसको सङ्ख्या तीन करोड ४० लाख रहेको छ। जसमध्ये ९० प्रतिशत व्यक्ति विकासशील राष्ट्रका छन्।

तथ्याङ्कले आधाभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुका कारणले अन्धोपना हुने देखिएको छ । यथार्थमा अन्धोपना हुने प्रमुख कारणमध्ये एक मोतियाबिन्दु हो।

सन् १९९२ मा स्थापित उक्त फाउन्डेसन अस्ट्रेलियासँगै अफ्रिका, दक्षिण र दक्षिण पूर्वी एसियाली राष्ट्रहरूमा अन्धोपना हुन नदिन र दृष्टिमा समस्या भए उपचारमा केन्द्रित संस्था हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .