ad ad

छापा खबर


मन्त्री बिना र केयुकेएलका महाप्रबन्धक भट्टराईबीचको विवाद उत्कर्षमा

मन्त्री बिना र केयुकेएलका महाप्रबन्धक भट्टराईबीचको विवाद उत्कर्षमा

नेपालखबर
असार ३, २०७६ मंगलबार १:३४,

खानेपानी मन्त्री बिना मगर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महाप्रबन्धक महेश भट्टराईबीचको विवाद उत्कर्षमा पुगेको छ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री मगर महाप्रबन्धक भट्टराईसँग असन्तुष्ट छिन्। भट्टराईमाथि मन्त्रीको निर्देशन अवज्ञा गरेको आरोप छ। यो खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापकसमेत रहेका भट्टराई बेतलबी काज बिदा लिएर चार वर्षका लागि केयुकेएलको व्यवस्थापनमा आएका हुन्। हरेक वर्ष त्रिविले उनको काज बिदा नवीकरण गर्दै आएको थियो।

तर गत माघदेखि त्रिविबाट उनको काज बिदा नवीकरण भएको छैन। काजबिदा स्वीकृत नहुनुमा मन्त्रीको हात रहेको भट्टराई पक्षको आरोप छ। त्रिविबाट बिदा नवीकरणको प्रक्रिया अघि बढेको केयुकेएल प्रशासनले जनाएको छ।

भट्टराई स्वयंले पनि आफ्नो काज बिदा नवीकरण टुंगो नलागेको स्वीकार गरेका छन्। ‘काज बिदा नवीकरण प्रक्रियामा छ,’ उनले भने, ‘टुंगो लागेको छैन।’

काज बिदा प्रक्रिया टुंगो नलागेको अवस्थाका कानुनी रूपमा भट्टराई ‘एउटै व्यक्ति दुई संस्थामा रहेको’ पुष्टि भएको मन्त्री पक्षको आरोप छ। खानेपानी मन्त्रालयबाट केयुकेएलको सञ्चालक समिति बोर्डमा रहेका प्रतिनिधिहरू पनि एउटै व्यक्ति कानुनी रूपमा दुई संस्थामा रहन नमिल्ने दाबी गर्छन्।

त्रिविबाट काज बिदा नवीकरण भएका बेला भट्टराई सहायक प्राध्यापकबाट प्राध्यापकमा बढुवासमेत भएका छन्। बढुवा हुनु त्रिविको नियमित प्रक्रिया भएको भट्टराईको प्रष्टोक्ति छ। तर मन्त्री पक्षले भने केयुकेएलमा महाप्रबन्धक भएको व्यक्ति त्रिविबाट बढुवा भएको विषयलाई नैतिकतासँग जोडेको छ।

मन्त्रालय नेतृत्व र भट्टराईबीचको द्वन्द्वमा काठमाडौं महानगरपालिका पनि जोडिएको छ। विगत दुई महिनादेखि केयुकेएलको सञ्चालक समितिको अध्यक्ष आफूले पाउनुपर्ने अडान राख्दै महनगरपालिकाले सञ्चालक समितिको बैठकसमेत बहिष्कार गर्दै आएको छ।

काठमाडौं महानगरबाट प्रतिनिधित्व गरी सञ्चालक समितिका सदस्य बनेका महेश काफ्ले केयुकेएल सञ्चालक समितिको अध्यक्ष महानगरपालिकाले पाउनुपर्ने दाबी गर्छन्।

खानेपानी मन्त्रालयले अख्तियारलाई पठाएको चिठीमा २०७३ असार ५ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेड सञ्चालक समितिको निर्णय भनी संस्थालाई २२ लाख १० हजार रुपैयाँ अनावश्यक व्ययभार थपेको आरोप लगाइएको छ।

भट्टराई २०७२ माघबाट त्रिविबाट काज बिदा लिई काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) महाप्रबन्धकमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन्। केयुकेएलका सञ्चालक समितिका पूर्वअध्यक्ष तथा हाल बैठकको अध्यक्षता गरिरहेका सूर्यराज कँडेलले गत माघदेखि त्रिविबाट भट्टराईको काज बिदा स्वीकृत नभएको बताए।

कँडेलले खानेपानी मन्त्रालयबाट केयुकेएल सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन्। ‘अहिले उहाँ ९भट्टराई० दुवैतिर एकैपटक जागिर खाइरहनुभएको छ, सिद्धान्ततः यो मिल्दैन,’ उनी भन्छन्।

यसबारे केयुकेएल प्रशासनसँग सोधपुछ गरिएको र माघदेखि काज बिदा स्वीकृत नगराइएको जानकारी आएको उनको भनाइ छ। केयुकेएल प्रशासन प्रमुख सुन्दरबाबु अर्यालले २०७५ माघदेखि त्रिविबाट महाप्रन्धक भट्टराईको काज बिदा स्वीकृत नभएको तर स्वीकृतिका लागि प्रक्रिया भने सुरु गरिएको मौखिक जानकारी आएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .