तिब्बतसँग जोडिएका गाउँ। मुलुकको सडक सञ्जालले छोएको छैन। आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडाका टापको आवाज कतैकतै मात्र सुनिन्छ। बरु बस्ती थर्किने गरी मोटरसाइकल गुड्छन्, स्पिकरमा तिब्बती गीत घन्काउँदै।
डोल्पाको बुद्धडोल्पो गाउँपालिकामा हिजोआज बाटो नै जाम हुने गरी मोटरसाइकल कुद्न थालेका छन्। सदरमुकाम दुनै सडकले जोडिएको एक वर्ष मात्रै भएको छ। तर यो दुर्गम गाउँमा तीन सयभन्दा बढी मोटरसाइकल स्थानीय बासिन्दाको भर–अभरको साथी बनेका छन्। यो खबर आजको कान्तिपुरमा अब्दुल्लाह मियाँले लेखेका हुन्।
बुद्धडोल्पो दुनैबाट तीन दिन पैदल दूरीमा छ । यहाँका ६ वटै वडामा मोटरसाइकल चलिरहेका छन् । यही गाउँपालिकाको धो ताराप नेपालकै सबैभन्दा अग्लो स्थानको मानव बस्ती हो । यहाँ चल्ने मोटरसाइकल १ लाख ३० हजारदेखि ३ लाख रुपैयाँसम्मका छन् । तीन सय सीसीसम्मका मोटरसाइकल चलाउन पेट्रोल भने मुस्ताङ र दुनैबाट ल्याइन्छ । एक लिटर पेट्रोलको २ सयदेखि ३ सय रुपैयाँसम्म पर्छ । सीमावर्ती नाका मरिम लाबाट धो तारापसम्म एक दिनमै मोटरसाइकलमा आउजाउ गर्न सकिन्छ।
घोडा र याकबाट सामान ओसार्दा भने दुईदेखि तीन दिन लाग्छ । स्थानीयले वर्षौंदेखि मरिम लाबाट सामान आयात गर्दै आए पनि कानुनी रूपमा सीमा खुला भएको छैन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल डोल्पो महोत्सव उद्घाटन गर्न गत साता धो ताराप आएका बेला स्थानीयले उक्त नाका खुला गर्न माग गरेका थिए ।
वडा ३, ताक्सीका पाल्जाङ गुरुङका अनुसार सबै मोटरसाइकल सीमावर्ती क्षेत्र मरिम लाबाट ल्याइएका हुन् । त्यहाँ वर्षमा एकपटक बजार लाग्छ । स्थानीयवासीले यार्चागुम्बु टिपिसकेपछि २० दिनका लागि चिनियाँले सीमामा बजार खुला गर्छन् । ‘त्यतिबेला यार्चा बेचेको पैसाले हामी आफूलाई आवश्यक सामान खरिद गर्छौं,’ पाल्जाङले भने, ‘मोटरसाइकल पनि त्यतिबेलै किन्ने हो ।’
ताक्सीका मिङ्मार लामाले यार्चा बिक्री गरेको पैसाबाटै मोटरसाइकल किनेको बताए । ‘पहिले यार्चा बेचेको पैसाले खाद्यान्न र कपडा मात्रै किन्थ्यौं,’ उनले भने, ‘अहिले खाद्यान्नसहित मोटरसाइकल किन्ने धेरै छन्।’
यहाँ गुड्ने कुनै मोटरसाइकलको नम्बर छैन न त चालकसँग लाइसेन्स । मोटरसाइकल चलाउने अधिकांश युवा छन् । सबैजसो मोटरसाइकलमा ८ देखि १० हजार रुपैयाँका अलग्गै स्पिकर जडान गरिएको छ । पहिले घोडा चढेर आउजाउ गर्नेहरू अहिले स्पिकरमा तिब्बती गीत घन्काउँदै मोटरसाइकल हुइँक्याइरहेका छन्।
अधिकांशले मोटरसाइकल किनेपछि चलाउन सिकेका हुन् । ‘यत्तिकै चलाउँदा चलाउँदै सिकियो,’ स्थानीय कर्मा गुरुङले भने, ‘पछाडि दुई जना राखेर पनि कुदाउन सक्छु, सामान ओसारपसार गर्न पनि सजिलो भएको छ ।’
प्रतिक्रिया