ad ad

छापा खबर


के अहिले लोकतन्त्र खतरामा छ? प्रधानमन्त्री नै किन गर्दैछन् खतराको संकेत?

के अहिले लोकतन्त्र खतरामा छ? प्रधानमन्त्री नै किन गर्दैछन् खतराको संकेत?

नेपालखबर
असोज २, २०७६ बिहिबार १:९,

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि आइलागे जाइलाग्ने बताएका छन्।

२७ दिनपछि बुधबार दुईवटा सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा आइलागे जाइलाग्ने बताएका हुन्।

‘लोकतन्त्रमाथि खतरा आइसकेको छैन तर खतरा निम्त्याउने प्रयासहरू भइरहेका छन्। बघिनीले डमरुमाथि खतरा पैदा नहुन्जेलसम्म केही गर्दैन, जब डमरु खतरामा पर्छ तब जाइलाग्छे। सरकार पनि लोकतन्त्रमाथि खतरा आइलाग्यो भने जाइलाग्ने छ। सरकार चुप लागेर बस्दैन,’ सिंहदरवारस्थित नयाँ संसद् भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने।

उनले कसैको पनि नाम नलिई र डमरुको उदाहरण दिएर जाइलाग्ने चेतावनी दिएका थिए। उनले प्रतिबन्धित विप्लव समूहको नाम नलिई नेपाली समाजमा हिंसाका लागि कुनै स्थान नरहेकाले बताए।

‘केही हिंसात्मक प्रयासहरू क्षणिक वितण्डा मात्रै हुन्, हिंसा र लुटपाट मच्चाउनेलाई सरकारले छुट दिँदैन,’ उनले भने।

यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

नेताहरूले बारम्बार लोकतन्त्र खतरामा रहेको बताउँदै आए पनि कोबाट र कसरी खतरा छ भन्नेबारे प्रामाणिक कुरा हालसम्म नआएकाले यस्तो अभिव्यक्ति एकले अर्कोलाई लगाउने राजनीतिक आरोपमा मात्रै सीमित भएको देखिन्छ।

त्यसो त प्रधानमन्त्री ओलीले बुधबारमात्रै यस्तो अभिव्यक्ति दिएका होइनन्। उनले गत असार ३ गते सञ्चारकर्मीहरूसँगको भेटघाटमा पनि यस्तै अभिव्यक्ति दिएका थिए।

‘संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध विभिन्न प्रकारका तत्वहरू घोर दक्षिणपन्थीदेखि घोर बामपन्थीसम्म, अति बामउग्रपन्थीदेखि अति दक्षिण प्रतिक्रियावादी समूह एकजुट भएको अवस्थामा लोकतान्त्रिक शक्तिहरू जुन कुराप्रति सजग हुनुपर्ने, जसका बीचमा एकता हुनुपर्ने त्यो नभएको मात्रै होइन, त्यसलाई बिथोल्न लोकतान्त्रिक शक्ति नै अग्रसर भएको देख्दा आश्चर्य लाग्छ,’ उनले भनेका थिए।

उनले बुधबार पनि सोही प्रकृतिको अभिव्यक्ति दिए। ‘लोकतन्त्रमाथि खतरा निम्त्याउने प्रयासहरू भइरहेका छन्। केहीले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध आवाज उठाउन कोसिस गरिरहेका छन्, गणतन्त्रमाथि धावा बोल्न थालियो भने सरकार चुप लागेर बस्दैन, एक्सनमा जान्छ।’

तर प्रधानमन्त्री ओलीले लोकतन्त्र कसका कारण खतरामा परेको हो भन्ने बारेमा केही बताएका छैनन्। उनले कुनै दल, संगठित समूह तथा कुनै संस्थाबाट लोकतन्त्र खतरामा परेको हो भन्ने बारेमा केही बताएका छैनन्।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले तत्काल लोकतन्त्रलाई खतरा नभए पनि आफ्नो सत्ता शक्ति खोसिएकाहरू अन्य कारणले उत्पन्न भएको विरोधमा खेलेर चलमलाउन खोज्दा प्रधानमन्त्रीको सो अभिव्यक्ति आएको हुनसक्ने बताउँछन्।

‘सबै सूचनाको पहुँचमा उहाँ हुनुहन्छ कुनै सूचना पाएर पनि यस्तो अभिव्यक्ति आएको हुनसक्छ। वा संविधान निर्माणका सहयात्रीहरूलाई लोकतन्त्रको पक्षमा र आफ्ना पक्षमा राख्न पनि यस्तो अभिव्यक्ति आएको हुनसक्छ,’ प्राध्यापक पोखरेलले भने।

राजनीतिक विश्लेषक झलक सुवेदीले पनि तत्कालै व्यवस्थामाथि खतरा नभएको टिप्पणी गरे।

संघीयता, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्वसहितको राज्यव्यवस्थालाई केही असहज मान्ने मानिसले चलखेल गर्न खोजेका होलान् भन्दै उनले व्यवस्थामाथि नै चुनौती आएको भन्न नमिल्ने बताए।

उनका अनुसार भारतमा नरेन्द्र मोदीको दोस्रो कार्यकाल सुरु भएपछि र नेपालमा पनि केही भारतीयहरू नेपालमा आएपछि नेपाली कांग्रेसकै महामन्त्रीले पनि हिन्दु राज्यको वकालत गर्दा व्यवस्था नै परिवर्तन गर्न पाइन्छ कि भन्ने तत्वहरू सल्बलाएको र यसलाई हेरेर पनि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको बताए।

‘सरकारका काम–कारबाहीप्रति प्रश्न उठाएका बेला मानिसका विभिन्न असन्तुष्टिहरू विकास भएन, रोजगारी पाइनँ जस्ता विषयलाई ‘डाइभर्ट’ गर्न पनि प्रधानमन्त्रीले लोकतन्त्रमाथि खतरा भएको भन्ने अभिव्यक्ति सार्वजनिक गरेका हुनसक्छन्,’ विश्लेषक सुवेदीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .