ad ad

छापा खबर


स्वस्थ रहन कस्तो खानपान? पढौं पोषणविद्को सल्लाह

स्वस्थ रहन कस्तो खानपान? पढौं पोषणविद्को सल्लाह

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ४:५२,

अस्वस्थ जीवनशैली, खानपानमा ध्यान नदिनु, आवश्यक व्यायाम नहुनु आदि विभिन्न कारणले गर्दा पछिल्लो समय स्वास्थ्यमा जटिलता बढ्दै गएका छन्।

पौष्टिक आहार के हो र स्वस्थ खानपान कसरी गर्ने भन्ने जानकारी हुँदाहुँदै पनि स्वादिलो खानाको लोभमा मानिसले आफ्नो स्वास्थ्य बिगारिरहेका छन्। त्यसैले स्वादिलो होइन, स्वास्थ्यका लागि फाइदाजनक पोषणयुक्त खानेकुराको सेवन गर्नु जरुरी छ। यसबारे आजको नयाँ पत्रिकामा पोषणविद् विनिता पन्तले जानकारी दिएकी छन्।

सन्तुलित भोजन
व्यक्तिको उचाइ, तौल, कार्य प्रकृति, लिंग, उमेर, स्वास्थ्य अवस्थाका आधारमा शरीरलाई चाहिने शक्ति लिन खाइने खाना सन्तुलित आहार हो। सामान्यतया पाँचवटा खाद्यसमूह अर्थात् अन्न, दाल गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, अन्डा र दूध, चिल्लो र गुलियो खाद्यवस्तु आवश्यक मात्रामा मिलाएर खाँदा आहार सन्तुलित हुन्छ । दिनभर शरीरलाई चाहिने क्यालोरीका लागि पाँचवटै खाद्यवस्तु खान आवश्यक छ।

पौष्टिक तत्व
दिनहुँ खाइने खानामा आवश्यक मात्रामा पौष्टिक तत्व हुन आवश्यक छ । काब्रोहाइडेट, भिटामिन, प्रोटिन, फाइबर, चिल्लो, खनिज तत्व, क्याल्सियम, फलाम, आयोडिन, फ्लोरिन, पानी, फोलेट आदिजस्ता सबै पोषक तत्व समावेश हुन जरुरी छ ।

फाइबरयुक्त खाना
खाजाको रूपमा खाइने अधिकांश परिकार मैदाबाट बनेका हुन्छन् । जसले शरीरमा चाहिने आवश्यक तत्व परिपूर्ति गर्न सक्दैन । रगतमा चिल्लोपना बढ्ने, फ्याटिलिभर, डाइबिटिज र मोटोपनाको समस्या देखिन सक्छ । सामान्यतया हाम्रो शरीरलाई २० देखि २५ ग्रामसम्म फाइबर आवश्यक हुन्छ । तसर्थ, फाइबर पाइने खानेकुरा, जस्तैः गहुँको रोटी, कोदो, फापर, सागपात, दाल गेडागुडी दिनहुँ खानामा समावेश गर्नुपर्छ ।

कार्बोहाइडेट कम खाने
प्रविधिको विकाससँगै हाम्रो जीवनशैली बिलासितासँगै जोडिन थालेको छ । अधिकांश मानिसले एक ठाउँमा लामो समयसम्म बसेर काम गरिरहेका हुन्छन् । शरीरलाई कुनै पनि किसिमको व्यायाम भइरहेको हुँदैन । जसले गर्दा क्यालोरी एकदमै कम खपत भइरहेको हुन्छ । मोटोपनाको समस्या हुने, मधुमेह, चिल्लोपना बढ्ने, उच्च रक्तचापजस्ता विभिन्न जटिलता यसैकारण देखिन्छन् । कार्बोहाइडेट र अति क्यालोरीयुक्त खानेकुराले मोटोपना निम्त्याउँछ । तसर्थ शारीरिक काम बढी नगर्ने व्यक्तिले कार्बोहाइडेटजन्य खानेकुरा कम मात्रामा खानुपर्छ ।

पानी र फलफूल
शरीरलाई स्वस्थ खानासँगै प्रशस्त पानी पनि आवश्यक पर्छ । खासगरी पौष्टिक तत्व शरीरको विभिन्न भागमा पुर्‍याउन, शरीरको अनावश्यक तत्व बाहिर निकाल्न, शरीरमा तातोपना कायम राख्न आदि विभिन्न कार्यका लागि पानी अति आवश्यक छ । त्यस्तै, दैनिक कम्तीमा एक वा दुईवटा फलफूल खान सकिन्छ । जसले शरीरमा आवश्यक पौष्टिक तत्व परिपूर्ति हुन्छ । अर्थात् व्यक्तिको स्वास्थ्यस्थिति, लिंग, तौल, उचाइ, उमेर आदिका आधारमा निश्चित आहार निर्धारण गर्न आवश्यक हुन्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .