छापा खबर


जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ०:२९,

मनाङको हुम्देसम्म नियमति उडान थाल्ने भन्दै गत शुक्रबार गण्डकी प्रदेश सरकारले समिट एयरको जहाज चार्टर गर्यो।

पोखराबाट हुम्देका लागि उडेको उक्त जहाजमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ लगायत १५ जना सवार थियो।

पोखरा विमानस्थलबाट बिहान ८ बजेर ३४ मिनेटमा उडेको जहाज हुम्दे अवतरण गर्दा ८ बजेर ५८ मिनेट भएको थियो।

पोखरादेखि ४९ नटिकल माइल (९०.७४ किमी) टाढाको हुम्दे सामान्य अबस्थामा १६ देखि १८ मिनेटमा पुगिने भए पनि त्यो दिन खराब मौसमका कारण २४ मिनेट लागेको थियो।

क्याप्टेनद्वय एडी शेर्पा र टी लामाले हुम्दे अवतरणपछि सुरुमै नेताहरुलाई सुझाएका थिए, ‘मौसम खराब छ, २० मिनेटभन्दा बढी ढिला नगरिदिनुहोला। मौसम बिग्रियो भने समस्या आउन सक्छ।’

क्याप्टेनद्वयले चिसोको कारण जहाजमा समस्या आउनसक्छ भनेर एउटा इन्जिन बन्द गरेर अर्को इन्जिन चालू अवस्थामै राखे।

तर, औपचारिक कार्यक्रममा मस्त भएका नेताहरुले एक घण्टा २० मिनेट बितिसकेको पत्तै पाएनन्।

यो खबर आजको नागरिक दैनिकमा पोखराबाट सन्तोष पोखरेलले लेखेका छन्।

‘हामीले बारम्बार ढिला भयो, छिटो गरिदिनुपर्यो भनेर आग्रह गर्दा पनि उहाँहरुले मान्नु भएन, हुन्छ भन्ने जवाफ मात्र दिनुभयो,’ जहाजमै गएका एकजना अधिकारीले भने, ‘मौसम बिग्रिँदा पाइलटद्वय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी तनावमा हुँदा पनि नेताहरुले पूरै वेवास्ता गरे।’

१० बजेर २० मिनेटमा हुम्देबाट उडेको जहाज २६ मिनेट लगाएर पोखरा अबतरण गरेको थियो। ‘खराब मौसमका कारण मन आत्तिएको थियो’ ती अधिकारीले भने।

त्यतिमात्र होइन, त्यो दिन नेताहरुले मनाङमा बढी समय विताउँदा समिट एयरको पोखरा जोमसोम उडान नै रद्द हुन पुगेको थियो।

त्यसले गर्दा एयरलाइन्सका कर्मचारीले यात्रुबाट खप्कीसमेत खानु परेको थियो।

दुर्गमको मात्र नभइृ पोखरा काठमाडौँ रुटमा पनि शीर्ष नेताहरुका कारण बेलाबेला जहाजले पर्खनुपर्ने अबस्था आउने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .