ad ad

छापा खबर


चीन-अमेरिका द्वन्द्वमा यसरी फस्दैछ नेपाल

चीन-अमेरिका द्वन्द्वमा यसरी फस्दैछ नेपाल

नेपालखबर
भदौ २६, २०७६ बिहिबार १:१०,

चिनियाँ विदेश मन्त्रालयले इन्डो प्यासिफिक रणनीति (आईपीएस) लाई तथाकथित भन्दै त्यसमा नेपाल नरहेको धारणा सार्वजनिक गरेपछि अमेरिकाले नेपालसँग औपचारिक धारणा माग गरेको छ।

विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि चिनियाँ विदेश मन्त्रालयले हरेक छलफलको अंश आफ्नो वेबसाइटमा राखेको छ। यद्यपि परराष्ट्र मन्त्रालयले छलफलका विवरणबारे जानकारी दिएको छैन।

चीनले नेपालसँग इन्डोप्यासिफिकका विषयमा कुराकानी भएको र नेपाल त्यसको विपक्षमा रहेको धारणा वेबसाइटमा राखेपछि अमेरिकाले नेपालसँग औपचारिक धारणा मागेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

विदेश मन्त्रालयले चिनियाँ भाषामा सबैको धारणा राखेको छ। तर अंग्रेजीमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगका दुईपक्षीय छलफलको आधार समेटिएको छ।

पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको धारणा पनि चिनियाँ भाषामै राखिएको छ। बुधबार अबेरसम्म उनीहरूका धारणा वेबसाइटमा संगृहीत छन्। उनीहरूको धारणालाई चिनियाँ भाषाबाट ‘गुगल ट्रान्सलेट’ गर्दा आईपीएसले चिनियाँ सहकार्य रोक्न खोजेको शैलीमा सत्तारूढ दलका अध्यक्ष दाहालको धारणा आएको देखिन्छ।

बेइजिङमा जारी नोटपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रतिक्रिया दिइसकेको छ। यसअघि चिनियाँ दूतावासले बेइजिङ र वासिङ्टनबीचको तनाव काठमाडौंस्थित चिनियाँ दूतावासमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरेको थियो।

परम्परागत शक्ति र उदाउँदो शक्तिबीच नेपालका विषयमा भएको दोहोरीले नेपाललाई थप असजिलोमा घँचेट्ने विज्ञहरू बताउँछन्। यो दोहोरी मत्थर गर्न नेपाली कूटनीतिज्ञले पहिल्यै सजग हुनुपर्ने थियो।

तर त्यो तहसम्म हाम्रा कूटनीतिज्ञले न भेउ पाए न तयारी गरे। अन्योल र अलमलमै हाम्रो कूटनीति चलेको भन्दै आलोचना भइरहेको छ।

विदेशमन्त्री र अध्यक्ष दाहालबीच हङकङका विषयमा छलफल भएको थियो। दाहालले चीनको विशेष प्रशासनिक क्षेत्र हङकङबारे चिनियाँ पक्षमा धारणा राखेको नोटमा उल्लेख छ। सत्तारूढ दलका अध्यक्षको अभिव्यक्तिलाई सरकारी धारणाकै रूपमा हेर्ने गरिन्छ। यो मामिलामा नेपाल चुकेको कूटनीतिक अधिकारीको विश्लेषण छ।

‘हङकङमा केही शक्तिले हस्तक्षेप गर्दै उछाल्ने र आतंकवादविरुद्ध चीनको लडाईलाई अवरोध गर्ने काम गरेको छ’, दहाललाई उद्धृत गर्दै नोटमा भनिएको छ, ‘हङकङ चीनको आन्तरिक मामिला हो। नेपाल त्यसको विरोध गर्दछ।’

दाहालले नेपाल असंलग्न नीतिमा बलियोसँग उभिएको उल्लेख गर्दै तथाकथित इन्डो प्यासेफिक रणनीतिसँग नेपाल असमत रहेको विदेशमन्त्री वाङलाई बताएका थिए।

‘नेपाल एक बहुपक्षीय विश्व व्यवस्थाको पक्षमा रहेको र सन्तुलित, सहभागितामूलक तथा सबैको जित हुने विश्वव्यापीकरणका पक्षमा चीनसँग काम गर्न चाहन्छ’, दाहाललाई उद्धृत गर्दै विदेश मन्त्रालयले नोटमा राखेको छ।

केही समयअघि अमेरिका भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपाल इन्डो प्यासेफिक रणनीतिको केन्द्रमा रहेको’ धारणा सार्वजनिक गरेको भन्दै अमेरिकी विदेश मन्त्रालयले वक्तव्य जारी गरेको थियो। अमेरिकी वक्तव्यपछि मन्त्री ज्ञवालीले अस्वीकार गर्दै नेपाल असंलग्न नीतिका पक्षमा रहेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .