ad ad

छापा खबर


एटिएम ह्याक प्रकरणमा छानबिन समितिले भन्यो-पुरानो प्रविधिको कार्डले ह्याकरलाई सजिलो

एटिएम ह्याक प्रकरणमा छानबिन समितिले भन्यो-पुरानो प्रविधिको कार्डले ह्याकरलाई सजिलो

नेपालखबर
भदौ १९, २०७६ बिहिबार २:४४,

बैंक तथा वित्तीय संस्थाले पुरानै प्रविधिमा आधारित एटिएम कार्डलाई निरन्तरता दिएकाले ह्याकरलाई सजिलो भएको पाइएको छ ।

मुलुकका विभन्न बैंकबाट ह्याकरले एटिएम ह्याक गरी करोडौं रुपैयाँ चोरी गरेपछि गठन गरिएको छानबिन समितिले यस्तो आशंका गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा विजयराज खनालले लेखेका छन्।

राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठित छानबिन समितिले बुधबार गभर्नरसमक्ष बुझाएको प्रतिवदेनमा ‘बैंकहरूले पुरानै प्रविधिमा आधारित एटिएम कार्डलाई निरन्तरता दिएकाले चोरी भएको आशंका’ गरिएको छ।

‘हामीले १२–१४ वटा सुझाबसहितको प्रतिवेदन बुझाएका हौँ,’ संयोजक मिश्रले भने, ‘हामीले अत्याधुनिक सुविधा अपनाउन र म्याग्नेटिक स्ट्राइप प्रविधि पूर्ण रूपमा हटाउनसमेत भनेका छौँ ।’

मुलुकका बैंकहरूले एकै कार्डमा ‘चिप’ र ‘म्याग्नेटिक स्ट्राइप’ दुवै प्रविधिमा आधारित एटिएम प्रचलनमा ल्याएका छन् । सुरक्षाका दृष्टिकोणले म्याग्नेटिक स्ट्राइप कार्ड (एटिएम कार्डको पछाडिपट्टि देखिएको कालो रिबन) तुलनात्मक रूपमा असुरक्षित मानिन्छ।

‘चिप्स’मा आधारित कार्डचाहिँ अन्तर्राष्ट्रियस्तरमा केही सुरक्षित मानिन्छ । नेपाली बैंकहरूले उपलब्ध गराउने कार्डहरूमा यो दुवै प्रविधिको सम्मिश्रण छ।

भारतमा चिप्स कार्डको प्रयोग भई नसकेकाले नेपालमा पनि पूर्ण रूपमा चिप्समा जान नसकिएको बैंकर्सहरूले बताउँदै आएका छन् । भारतमा नेपाली कार्डबाट पनि पैसा झिक्न मिल्ने सुविधा भएकाले बैंकहरूले म्याग्नेटिक स्ट्राइप कार्डलाई निरन्तरता दिएका हुन्।

ह्याकरहरूले नेपालबाट नेप्समा आबद्ध बैंकहरूको परिचय नम्बर (बिआइएन) प्रयोग गरेर १ करोड ७५ लाख र भारतबाट भारु १ करोड ५ लाख निकालेका थिए ।

नेपालबाट निकालिएको रकममध्ये लगभग सबै समात्न प्रहरी सफल भएको छ । प्रहरीले ह्याकरहरूबाट १ करोड २६ लाख रुपैयाँ, ९ हजार १ सय डलर फेला पारेको थियो । भारतबाट निकालिएको रकम भने नोक्सान भएको प्रतिवेदनमा उल्लेख छ।

नेपालबाट झिकिएको भनिएको सबै १ करोड ७६ लाखमा केही कारोबार भने बैंकहरूका सम्बन्धित ग्राहकहरूले नै गरेको भए पनि यकिन रकम बैंकहरूले पत्ता लगाउने क्रम चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .