ad ad

छापा खबर


नेपालमा फैलिँदै चिनियाँको अपराध जालो : यस्तो छ १६ वर्षदेखिको नालीबेली

नेपालमा फैलिँदै चिनियाँको अपराध जालो : यस्तो छ १६ वर्षदेखिको नालीबेली

नेपालखबर
भदौ १७, २०७६ मंगलबार २:४,

बिहेका नाममा नेपाली युवतीलाई चीन तस्करीको आरोपमा चार चिनियाँलाई पक्राउ गरेको दुई दिनपछि एटिएम ह्याकिङमा संलग्न ६ चिनियाँ पक्राउ परे।

२० साउनमा चार किलो सुनसहित पक्राउ परेका चिनियाँ हिरासतमै छानबिनमा छन्।

पछिल्लो एक महिनामा फरक-फरक किसिमको अपराधमा ११ जना चिनियाँ पक्राउ परिसकेका छन्। पछिल्ला यी तीन घटनाले नेपालमा चिनियाँ नागरिकले अपराधको जालो फैलाउँदै गएको देखिन्छ।

नेपालमा चिनियाँको आगमन बढेसँगै विभिन्न किसिमका अपराधमा पनि उनीहरूको संलग्नता बढेको छ। यो प्रहरीका लागि समेत टाउकोदुखाइ भएको छ। विभिन्न प्रकृतिका अपराधमा चिनियाँको संलग्नता बढ्न थालेपछि नियन्त्रणका लागि त्यहीअनुसार सुरक्षा रणनीति लिइएको प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले बताए।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा विभिन्न घटनामा एक सयभन्दा धेरै चिनियाँ नेपालमा पक्राउ परिसकेका छन्। धेरैजसो डलर तस्करीमा पक्राउ परेका छन्। आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।

त्यस्तै सुन, वन्यजन्तुका अंग, जडीबुटी तस्करी, ह्याकिङ तथा अवैध चिकित्सकीय अभ्यासका घटनामा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

०६० को आसपासदेखि नै नेपालमा चिनियाँको अपराधमा संलग्नता देखिएको प्रहरी अधिकारीहरू बताउँछन्। बिजनेस भिसामा नेपाल बस्ने विदेशीहरू चिनियाँहरू पहिलो नम्बरमा छ। व्यापारको आवरणमा धेरैजसो डलरको अवैध कारोबारमा संलग्न रहेको स्रोत बताउँछ । ठमेल क्षेत्रलाई आधार बनाएर चिनियाँहरूले संगठित रूपमा नै आर्थिक अपराधको धन्दा चलाइरहेका छन् ।

सुन ओसार्ने, डलर लैजाने
मुख्यगरी सुन र डलर तस्करीमा उनीहरूको संलग्नता देखिएको छ । नेपालमा आउँदा अवैध सुन लिएर आउने र फर्कँदा डलर लैजाने प्रवृत्ति देखिएको प्रहरी प्रवक्ता जोशी बताउँछन् । पछिल्लो समय नियमित रूपमा सुनसहित चिनियाँहरू पक्राउ पर्दै आएका छन् ।

१२ कात्तिक २०७५ मा एक लाख २२ हजार चार सय डलरसहित प्रहरीले एक चिनियाँलाई विमानस्थलमा पक्राउ गरेको थियो । नेपालबाट चीनमा डलर तस्करी गर्न खोज्ने क्रममा इरेसा नामक चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो । सडकमार्गबाट समेत उनीहरूले डलर तस्करी गर्दै आएका छन् ।

४ असोज २०७४ मा रसुवामा प्रहरीले चिनियाँ नागरिक ली वानलाई ५० हजार अमेरिकी डलरसहित पक्राउ गरेको प्रहरी रेकर्ड छ। ७ माघ २०७३ मा रसुवाको टिमुरेबाट चिनियाँ नागरिक वाङ चुङ १८ हजार चार सय ३२ अमेरिकी डलरसहित पक्राउ परेका थिए।

१३ असोज २०७४ मा चिनियाँ महिला यानकुन दुवानलाई ४६ हजार चार सय ८० युएस डलरसहित नेपालबाट भुटान जान खोज्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

३२ जेठ २०७२ मा चिनियाँ महिला याङ होङ ९८ हजार पाँच सय डलरसहित विमानस्थलमै पक्राउ परेकी थिइन् ।

१ माघ २०७३ मा २ लाख ६० हजार अमेरिकन डलर, एक लख १८ हजार यूरो र केही अष्ट्रेलियन डलरसहित रसुवातर्फ जाँदै गरेका तीन चिनियाँलाई प्रहरीले नागढुंगामा पक्राउ गरेको थियो । बा १ य १२३२ नम्बरको गाडीमा उनीहरू रसुवानाका हुँदै चीन जाने क्रममा थिए ।

१० भदौ २०७२ मा विमानस्थलमा एक चिनियाँ दुई करोड २५ लाख बराबरको विदेशी मुद्रासहित पक्राउ परेका थिए । ७४ हजार अमेरिकी डलर, ७६ हजार यूरो, ४८ हजार स्वीस फ्रेङकसहित यी वाङ पक्राउ परेका थिए ।

१० वर्षअघिदेखि नै चिनियाँहरू नेपालबाट अवैध डलरको कारोबारमा संलग्न रहेको प्रहरी तथ्याङकमा देखिन्छ । १८ असोज २०६७ मा चिनियाँ नागरिक कोविन लि ४० हजार डलरसहित भक्तपुरमा पक्राउ परेका थिए ।

२०६८ को पुसमा भक्तपुरको जगातीबाट ९७ हजार दुई सय २३ डलरसहित प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले तातोपानी नाका हुँदै डलर तस्करीको प्रयास गरेका थिए ।

२०६७ कै असोजमा तीन लाख अमेरिकन डलरसहित तीन चिनियाँलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो । त्यतीबेला तातोपानी नाकामा पटक पटक ठूलो परिणाममा डलरसहित चिनियाँहरू पक्राउ परेको प्रहरी अधिकारीहरू बताउँछन् ।

वन्यजन्तुको प्रमुख गन्तव्य
वन्यजन्तु तस्करीको प्रमुख गन्तव्य चीन हुने गरेको छ। यस्तो गिरोहमा पनि चिनियाँहरूको संलग्नता बढ्दो छ । डेढ वर्षअघि अफ्रिकाको कंगोबाट टर्की हुँदै एक सय ६२ केजी सालकको खपटा तस्करीमा समेत दुई चिनियाँको संलग्नता खुलेको थियो । १५ माघ २०७४ मा विमानस्थलबाट सालकको खपटासहित चिनियाँ नागरिकहरू क्वी जिओरोङ र क्वी लिबाओलाई पक्राउ गरेको थियो।

४ भदौ २०७५ मा समुद्री घोडा तथा बाघको छालासहित तीन जना चिनियाँ नागरीकलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ । काठमाडौं वान होटलका सञ्चालक चिनियाँ नागरिक चेन क्आङलाई काठमाडौंको ठमेलस्थित उनकै होटलबाट परीसरबाट खटिएको टोलीले पक्राउ गरेको थियो । उनको साथबाट समुद्री घोडा ३०० ग्राम यार्सागुम्बा ९० ग्राम सुनाखरी ३३० ग्राम तथा विभिन्न जडीबुटी साढे ६ केजी बरामद भएको छ ।

त्यस्तै उनकै सहयोगीहरू बाघको हड्डीसहित १८ वर्षीय जिन वाई तथा वर्ष १९ को झाङ यु ताईनलाई परिसरले पक्राउ गरेको हो । आठ जेठ २०६७ मै चिनियाँ नागरिकसहितको एक समूह ४६ किलो सालकको खपटासहित पक्राउ परेको थियो । चिनियाँ नागरिक जुजी याङबालाई जिल्ला अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो । उनी चार वर्षअघि जेलबाट भागेकोमा हालसम्म पक्राउ परेका छैनन्।

अवैध अस्पताल सञ्चालन
चिकित्सा क्षेत्रमा समेत चिनियाँहहरूको अपराध गरेको खुलेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले १६ फागुन २०७४ मा १३ जना चिकित्सकलाई पक्राउ गरेको थियो । नेपालमा अनुमतिबिना नै चिकित्सकी कार्य गरेको भन्दै ठमेलको एपोलो इन्टरनेशनल लिक्लिननिक, बौद्धको चाइना ग्रेट वाल हेल्थ सेन्टर, चाइनाज् पिपल्स हस्पिटल र चाइना डेन्टल अस्पतालमा कार्यरत चिकित्सकहरू पक्राउ परेका थिए। अहिले पनि कतिपय चिनियाँहरू अनाधिकृत रूपमा अस्पताल सञ्चालन गरेर बसेको उजुरीमा सिआईबीले अनुसन्धान गरिरहेको छ।

लागूऔषधमा पनि
लागूऔषध कारोबारमा समेत नेपालमा केही चिनियाँ पक्राउ परेका छन् । अवैध रूपमा नेपाल मेडिकल प्राक्टिस गरेको आरोपमा कतिपय चिनियाँ पक्राउ परेका थिए ।
१५ जेठ २०७३ मा लागूऔषध नियन्त्रण ब्यूरोले तीन केजी कोकिनसहित चिनियाँ नागरिक चुन म्यानलाई पक्राउ गरेको थियो । जसमा संलग्न केही व्यक्तिहरू चीनमै रहेको खुलेको थियो। नेपालबाट चीनमा चरेश तस्करीका घटना समेत देखिएको लागूऔषध नियन्त्रण ब्यूरोको अनुसन्धानमा खुलेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .