ad ad

छापा खबर


यस्ताे छ आत्महत्या दुरुत्साहन मुद्दाको पहिलो नजिर, फैसला कस्तो भयो?

यस्ताे छ आत्महत्या दुरुत्साहन मुद्दाको पहिलो नजिर, फैसला कस्तो भयो?

नेपालखबर
भदौ ९, २०७६ सोमबार १:५,

आत्महत्या गर्न दुरुत्साहन मुद्दामा गत असारमा पहिलो फैसला भएको छ। जसमा अभियुक्तलाई काठमाडौं जिल्ला अदालतले आंशिक दोषी ठहर गरेको छ।

गत २६ असार मा भएको फैसलामा जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले रामेछाप मन्थली घर भएका २४ वर्षीय डोरबहादुर श्रेष्ठलाई आंशिक दोषी भन्दै पाँच महिना कैद, हजार रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला दिएको थियो।

काठमाडौं–१६ माछापोखरी बस्ने उनकी श्रीमती कविता श्रेष्ठले २६ माघमा आफ्नै डेराको शौचालयमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । माइती पक्षले हत्या भएको भन्दै ज्वाइँविरुद्ध जाहेरी दिएका थिए। याे खबर अाजकाे नयाँ पत्रिकामा छापिएकाे छ। 

अनुसन्धानका क्रममा आत्महत्या नै भएको, तर डोरबहादुरले आत्महत्या गर्न बाध्य बनाएको भन्दै २२ फागुन ०७५ मा मुद्दा दायर गरिएको थियो । सुरुमा डोरबहादुरलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो।

‘श्रीमतीलाई श्रीमान्को कुनै बाह्य केटीसँगको हेलमेलले ठूलो तनाव हुने नारी मनोविज्ञान रहेको र प्रतिवादीले आफ्नै श्रीमतीको जानकारीमा आउने गरी बाह्य केटीसँग कुरा गरेको कारणबाट मृतक कविता श्रेष्ठ प्रताडीत भई आत्महत्या गरेको भन्ने मिसिलबाट देखिएकाले प्रतिवादी डोरबहादुर श्रेष्ठले मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ ९१० बमोजिम आफ्नै श्रीमती कविता श्रेष्ठलाई आत्महत्या गर्नेसम्मको परिस्थिति खडा गरी आत्महत्या गर्न दुरुत्साहन गरेको ठहर्छ,’ फैसलामा भनिएको छ ।

डोरबहादुर र कविताले ०७२ मा प्रेमविवाह गरेका थिए । विवाहको केही महिनापछि नै आफूहरूबीच विवाद हुने गरेको अभियुक्तले समेत बयानमा स्विकारेका थिए। त्यसलाई समेत अदालतले आधार बनाएर फैसला गरेको थियो । उनीहरूको सात महिनाको बच्चासमेत छ। बच्चालाई ५० हजार क्षतिपूर्ति दिन अदालतले भनेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .