ad ad

छापा खबर


१९ र १३ दिनमा पदमुक्त भएका मन्त्रीसँग थिए थरीथरीका योजना

१९ र १३ दिनमा पदमुक्त भएका मन्त्रीसँग थिए थरीथरीका योजना

नेपालखबर
असार ११, २०७८ शुक्रबार १:१०,

केपी ओली नेतृत्वको कामचलाउ सरकारमा नियुक्त भए पनि २० मन्त्री पदभार सम्हालेलगत्तै दीर्घकालीन योजना कोर्दै थिए । तर, सर्वोच्च अदालतको अन्तरिम आदेशले एकै झट्कामा सबै पदमुक्त भए । तीमध्ये कतिपय १९ र कतिपय १३ दिने मन्त्रीको नाम लेखाएर सिंहदरबारबाट बाहिरिए ।

 पद ग्रहण गर्नेमध्ये कतिपय पहिलोपटक मन्त्री भएका थिए, त्यसैले उनीहरूसँग ‘अतिरिक्त’ उत्साह पनि थियो र काम गर्ने सपना पनि । तर, विडम्बना १ मन्त्रालय चलाउने सामान्य प्रद्धति बुझ्न नपाउँदै उनीहरू पदमुक्त हुनुपर्‍यो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा किरण दहालले लेखेका छन्।

२१ जेठमा नियुक्त १२ जनाले १९ दिन र २७ मा नियुक्त आठजनाले १३ दिन मात्रै मन्त्रालय सम्हाल्ने मौका पाए । नयाँ पत्रिकाको सम्पर्कमा आएका कतिपय मन्त्रीले सिंहदरबारको छोटो कार्यकालको अनुभव सुनाएका छन् ।

नेकपा भंग भएसँगै एमाले प्रवेश गरेपछि प्रदेश २ की सांसद ज्वालाकुमारी साहलाई पूर्वपार्टी माओवादीले सांसद पदबाट निष्कासन गरेको थियो । क्षतिपूर्तिमा संघीय मन्त्री पद प्राप्त गरेकी साहले १३ दिन मात्रै पद सम्हाल्ने अवसर पाइन् ।

कृषि तथा पशुपक्षी विकासमन्त्री बनेकी साहको सिंहदरबारमा मन्त्रीको रूपमा पहिलो अनुभव थियो । उनलाई ७ असारसम्म मन्त्रालयअन्तर्गतका विभागले ब्रिफिङ दिइरहेका थिए, त्यसको भोलिपल्टै उनको मन्त्री पद गयो।

‘असार २७ मा मन्त्रालय सम्हालेपछि त्यहाँ देखिएका समस्या समाधान गर्ने योजना बनाइरहेकी थिएँ । ७ असारसम्म सबै विभाग, प्रोजेक्ट र संस्थानहरूको ब्रिफिङ सकिएको थियो,’ उनले भनिन् ।

८ असारमा सर्वोच्चको फैसला आउँदा उनी सचिवसँग छलफलमा थिइन् । कृषिजन्य उत्पादनको बजार सुनिश्चितता कसरी गर्ने रु छलफलको विषय थियो । तर, बैठक सकिएकै थिएन, फैसला सुन्नेबित्तिकै स्थगित गरेर उनी मन्त्रालयबाट बाहिरिइन् । उनले १३ दिनको अवधिमा आफ्नो ध्यान मल मलखादको समस्यालाई प्राथमिकता दिनु भएको बताइन्।

 बाराबाट प्रतिनिधिसभामा निर्वाचित एकवाल मियाँ जनता समाजवादी पार्टी (महन्थ) समूहबाट मन्त्री बनाइएका थिए । उनले मन्त्रीको रूपमा १९ दिन युवा तथा खेलकुद मन्त्रालय सम्हाले ।

पहिलोपटक मन्त्री भएका उनलाई पनि मन्त्रालयको संरचनाबारे जानकारी थिएन । मन्त्रालयअन्तर्गतका राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय युवा परिषद्लगायतका संस्थाहरूको गतिविधिबारे ब्रिफिङ लिएर बुझ्दै थिए । तत्काल गर्नुपर्ने कामको सूची तयार हुँदै थियो, तर पदबाट बाहिरिनुपर्‍यो ।

अहिले मियाँको मन्त्री पदसँगै उनले बनाएका योजना पूर्व भइसकेका छन् । सर्वोच्चको फैसलालगत्तै उनले सञ्चारमाध्यमसँग १९ दिन वा १९ वर्ष नै मन्त्री भए पनि निस्कने दिन पूर्व हुने भएकाले दुःखी नभएको प्रतिक्रिया दिए।

पहिलोपटक मन्त्री बनेका जनता समाजवादी पार्टीका विमलप्रसाद श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी थियो । उनी पनि मन्त्रालयको संरचना बुझ्ने प्रयासमा थिए । शाखा–महाशाखाको सञ्चालनको प्रकृति बुझिनभ्याउँदै उनलाई सर्वोच्चले पदमुक्त गर्‍यो।

उनको काम श्रमबजारको विस्तारमा सघाउने भएकाले वैदेशिक रोजगारीको विषयलाई प्राथमिकतामा राखेर योजना बनाएका थिए । ‘मुख्यतः सुरक्षित स्थानमा वैदेशिक रोजगारीको सुनिश्चितता गर्न प्रयास गरिरहेको थिएँ,’ उनले भने । प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा कोष पनि श्रम मन्त्रालयमा भएकाले त्यसबारे पनि रुचि दिने समय उनलाई छोटो अवधिमा मिलेको बताए।

एमालेबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाइएका गणेशकुमार पहाडी पनि पहिलोपटक मन्त्री बनेका थिए । नियुक्त भएको १३ दिनमा पद गए पनि आफूले १३ वटा काम गरेको उनको दाबी छ।

यस अवधिमा नीतिगत तहमा प्रशस्त काम गरेको सुनाए । स्थानीय तहसम्बन्धी विभिन्न कार्यक्रम तथा समितिका कार्यविधिसम्बन्धी नमुना मस्यौदा तयार पार्नु १३ दिने कार्यकालको सफलता भएको उनको दाबी छ । ‘जति दिन पदमा बसेँ, इमानदार भएर काम गरेँ,’ उनले भने, ‘१३ दिन मन्त्री हुँदा यस्तै–यस्तै १३ वटा काम गरेको छु।’

बंगलादेशमा चिकित्सा शिक्षा पढिरहेका नेपाली युवतीबारे विवादास्पद अभिव्यक्ति दिएपछि राजीनामा दिएर बाहिरिएका शेरबहादुर तामाङका लागि दोस्रोपटक मन्त्री बनेको पनि सुखद रहेन । दोस्रो कार्यकालमा उनले १९ दिन मात्रै काम गर्ने मौका पाए।

कोभिड महामारीले अत्याइरहेको समयमा स्वास्थ्य मन्त्रालय सम्हाल्न पुगेका तामाङलाई अलि समय मन्त्रालय चलाउने चाहना र योजना थियो । देशको पहिलो प्राथमिकता खोपलाई ध्यान दिएर मन्त्री बनेपछि खरिद प्रक्रिया अगाडि बढाएको उनले सुनाए । आफ्नो प्रयास सफल भई खोप चाँडो आउनेमा उनी आशावादी देखिए । यद्यपि, सम्पूर्ण नेपालीलाई स्वास्थ्य उपचार निःशुल्क गर्ने उनको सोच पूरा हुन नसकेको उनले बता ।

‘नेपाली नागरिकको स्वास्थ्य उपचार निःशुल्क गर्नेसम्बन्धी प्रक्रिया र त्यसको अध्ययन प्रारम्भ भयो । एक वर्ष मन्त्रालय बस्न पाएको भए शतप्रतिशत नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने काममा लाग्थेँ र सकिन्थ्यो पनि,’ तामाङले भने।

१९ दिने कार्यकालमा उनले नेपालमै भ्याक्सिनको विकास गर्ने योजना बनाए । सम्भव भएसम्म कोरोनाको खोप पनि नेपालमै विकास गर्न सक्ने कार्यविधि मन्त्रिपरिषद्बाट पारित पनि भयो।

एसिडपीडितहरूको उपचारसम्बन्धी कार्यविधि, सरकारी अस्पतालहरूलाई अपग्रेड गरी जो–सुकै व्यक्ति अस्पताल आउँदा उपचार गरेर फर्किने परिस्थिति निर्माण गर्ने, गाँजाको औषधीय गुणसम्बन्धी अनुसन्धान गरेर औषधीय प्रयोजनका लागि खुला गर्ने, स्वास्थ्यसम्बन्धी जनशक्तिबारे मापदण्ड तयार गर्नेलगायत उपलब्धिबारे तामाङले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .