ad ad

छापा खबर


ओलीलाई साथ दिएका महन्थ ठाकुरलाई अर्को धक्का, ६ नेताले छाडे साथ

ओलीलाई साथ दिएका महन्थ ठाकुरलाई अर्को धक्का, ६ नेताले छाडे साथ

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार २:५,

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन्। ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट बहुमतमा देखिएको छ।

पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन्। यसअघि ठाकुर पक्षका महेन्द्र यादव, गजाधर यादव र रमेश यादव उपेन्द्र समूहमा गएका थिए। उनीहरूले पार्टी जोगाउन आफूहरूले अध्यक्ष उपेन्द्रलाई साथ दिएको बताएका छन। यो खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।

मृगेन्द्रसिंहले अर्का अध्यक्ष ठाकुरले जसपालाई पुरानो राजपालाई जस्तै गतिहीन बनाउन खोजेकाले आफूले उपेन्द्र समूहलाई साथ दिएको बताए। यसैगरी, साहले आफ्नो सहयोग र समर्थन अध्यक्ष उपेन्द्रलाई रहेको प्रष्ट पारे। पछिल्लोपटक कित्ता बदलेका मृगेन्द्रसिंह राष्ट्रियसभा सदस्य हुन् भने रामनेरश र साह प्रदेश २ का मन्त्री हुन्।

कार्यकारिणी समितिका ६ सदस्यले ठाकुरलाई छाडेपछि समितिमा उपेन्द्र समूह प्रष्ट बहुमतमा देखिएको छ। उपेन्द्र समूहका नेता महेन्द्रले आफूहरूसँग कार्यकारिणी समितिमा ३१ जना सदस्य रहेको बताए। ‘हामीसँग अहिले कार्यकारिणी समितिका ३१ जना सदस्य हुनुहुन्छ। यो भनेको बहुमतभन्दा पनि बढी हो’, उनले भने। उपेन्द्र समूहका अर्का नेता विजय यादवले केही दिनमै यो संख्या अरू थपिने बताए। ‘अहिले हामीसँग ३१ सदस्य हुनुहुन्छ। यो संख्या अझै बढ्दै जान्छ’, उनले भने।

उपेन्द्र समूहले ठाकुर पक्षलाई पार्टी फुटाउन ४० प्रतिशत सदस्य संख्या पुग्न नदिने रणनीति बनाएको छ। राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी फुटाउनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनुपर्छ। जसपाले ५१ सदस्यीय कार्यकारिणी र ८ सय सदस्यीय केन्द्रीय समिति बनाएको छ।

८ सय सदस्यीय केन्द्रीय समितिमा उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन समाजवादी पार्टी खेमाबाट ४ सय र महन्थ ठाकुरलगायतले नेतृत्व गरेको तत्कालीन राजपा खेमाबाट ४ सय राख्ने सहमति भएको छ। केन्द्रीय समितिमा अहिले तत्कालीन समाजवादीका ४ सय र तत्कालीन राजपाका ३ सय ७९ जना छन्।

तत्कालीन राजपा खेमाबाट २१ जनाको नाम दिन बाँकी छ। यी दुई पार्टी मिलेर गत वर्षको वैशाखमा जसपा बनेको थियो। जसपा विधानमा कार्यकारिणी समितिलाई पार्टीको निर्णय गर्ने अधिकार दिइएको छ।

कार्यकारिणीको निर्णयलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नुपर्ने विधानमा व्यवस्था छ। कार्यकारिणीको बहुमतबाट निर्णय गर्ने व्यवस्था विधानमा छ। यसअघि उपेन्द्र पक्षका ५ सांसद कित्ता परिवर्तन गरी ठाकुर पक्षमा गएका छन। सांसदहरू उमाशंकर अरगरैया, विमल श्रीवास्तव, रुहीनाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ उपेन्द्रलाई छाडेर ठाकुर पक्षमा गएका हुन्। कित्ता परिवर्तन गरेका यी सांसद कार्यकारिणी समिति सदस्य होइनन्।

ठाकुरले फेरि प्रधानमन्त्री भेटे

जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन। प्रधानमन्त्रीलाई भेट्न ठाकुर र महतो बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। ठाकुर र महतो हरेक दुई तीन दिनमा प्रधानमन्त्रीलाई भेट्न बालुबटार पुग्छन्।

ठाकुर–महतो खेमा सरकारमा जान लागेको छ। बिहीबारको भेट मन्त्रालय बाँडफाँट टुंगो लगाउन केन्द्रित भएको ठाकुर पक्षले जनाएको छ। ठाकुर पक्षले ८ वटा मन्त्रालय मागेको छ।

ठाकुर पक्षका नेता सुरेन्द्र झाले मन्त्रालयको विषयभन्दा पनि जसपाले उठाएका मुद्दा सम्बोधन गर्न, कोरोना महामारी नियन्त्रण गर्ने, संविधान संशोधन कार्यदलको कार्यविधि बनाउने विषयमा छलफल गर्न ठाकुरलगायत बिहीबार बालुवाटार गएको बताए। ठाकुरसँगै महतो, शरतसिंह भण्डारी र अनिल झा पनि बालुवाटार गएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .