छापा खबर


बाल मन्दिरका निर्देशककै योजनामा चार लाख ५० हजारमा बेचिए शिशु

बाल मन्दिरका निर्देशककै योजनामा चार लाख ५० हजारमा बेचिए शिशु

नेपालखबर
साउन ३२, २०७६ शनिबार २३:४४,

तराई मूलकी एक १४ वर्षीया किशोरीले जन्माएको शिशु बेलायती नागरिकलाई बेच्ने धन्दामा संलग्न भएको आरोपमा प्रहरी परिसर काठमाडौंले गर्भपतन केन्द्र चलाएर बसेकी स्टाफ नर्स निर्मला थापालाई पक्राउ गरेको छ।

सोही आरोपमा होटल याक एन्ड यतीको स्टोर शाखामा कार्यरत महेन्द्र खत्री पनि समातिएका छन्।

शिशुको अवैध कारोवारमा मुख्य भूमिका खेलेको आरोपमा प्रहरीले यसअघि नै बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोललाई नियन्त्रणमा लिइसकेको छ।

यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

कलंकीमा सञ्जीवनी गर्भपतन केन्द्र चलाएर बसेकी थापाले आफूकहाँ गर्भपतन गर्न आएकी एक किशोरीलाई प्रसूति गराउन थापाथलीस्थित परोपकार प्रसूतिगृह पठाएकी थिइन् ।

त्यहाँ जन्मिएकी शिशु निर्मलाले बाल मन्दिरका निर्देशक बालकृष्णलाई दिएकी थिइन् । बालकृष्णले ४ लाख ५० हजार रुपैयाँ लिएर बेलायती नागरिक डिना स्मिथलाई शिशु दिएका थिए । बेलायत जान हिँडेकी स्मिथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि शिशुको अवैध कारोबारमा बालकृष्णको संलग्नता खुलेको हो।

प्रहरीका अनुसार निर्मलाले शिशु दिएलगत्तै बालकृष्णबाट १ लाख ३५ हजार रुपैयाँको चेक बुझेको देखिन्छ । खातामा पर्याप्त मौज्दात नभएकै कारण निर्मलाले उक्त चेक साट्न सकेकी थिइनन्।

उनले अनिच्छापूर्वक जन्मिएको शिशुलाई संरक्षणका निम्ति बाल मन्दिरमा बुझाउने क्रममा बालकृष्णसँग कुराकानी भएको र किशोरीलाई दिनका निम्ति चेक बुझेको दाबी गर्दै आएकी छन्।

उनको गर्भपतन केन्द्रले बाल मन्दिरलाई शिशु बुझाउँदा कुनै कागजी प्रक्रिया गरेको प्रहरीले फेला पारेको छैन । बालकृष्णबाट चेक बुझेका कारण शिशुको अवैध कारोबारमा उनको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ।

याक एन्ड यतीमा कार्यरत खत्रीले विदेशी नागरिक र बालकृष्णबीच सहजीकरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले शिशुको अवैध कारोबारमा खत्रीको भूमिका देखिएको जनाउँदै भने, ‘अनुसन्धान दायरा फराकिलो बनाउँदै जाँदा उनको शंकास्पद भूमिका देखिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .