छापा खबर


यस वर्ष एसईई परीक्षा होला कि नहोला? यसो भन्छन् विज्ञ

यस वर्ष एसईई परीक्षा होला कि नहोला? यसो भन्छन् विज्ञ

नेपालखबर
बैशाख २२, २०७८ बुधबार २:१४,

कोभिड-१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ।

राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान सरोकारवालाले गरेका छन् । सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा रहेका खबर आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन्।

शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ ।

पुतलीसडकस्थित नारायण गौतमले विद्यार्थीहरु निकै मारमा परेको बताउँदै भने, ‘कक्षा १० को पूरै कोर्स सकिएको छैन । अनलाइनबाट पढाइ सुरु गरेका छौँ तर कहिले के कहिले के समस्या देखाएर सबै विद्यार्थीको उपस्थिति छैन । निर्धारित मितिमै परीक्षा हुने हो भने यी विद्यार्थीले न्याय पाउने देखिदैन।’

पाठ्यक्रम विकास केन्द्रका पूर्व कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले महामारीमा परीक्षा लिनै पर्छ भन्नेमा बौद्धिक तर्क नरहेको बताए। ‘महामारीका समयमा आवश्यक पर्ने कुनै प्राविधिक जनशक्ति छान्न परीक्षा सञ्चालन गर्नु एउटा कुरा हो तर यो परम्परागत परीक्षा लिनु आवश्यक छैन, लिनु हुन्न’, उनले भने, ‘सामान्य स्थितिमा साविककै विधि अपनाऔँला तर महामारीमा गत वर्षकै जस्तो विधि अपनाउन सकिन्छ । चार, पाँच महिना त कक्षाकोठामा अध्यापन गरेकाले शिक्षकले विद्यार्थीको ल्याकत बुझेका छन् । त्यसैका आधारमा मूल्याङ्कन गर्न सकिन्छ तर शिक्षक इमान्दार हुनुपर्दछ।’

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले परीक्षालाई दुई महिना धकेल्नु उपयुक्त हुने तर्क प्रस्तुत गर्दै भने, ‘छापिएका प्रश्नपत्र विद्यालयलाई नै उपलब्ध गराऔँ । विद्यालयले उपलब्ध साधनस्रोतका आधारमा उपयुक्त लागेको विधिबाट परीक्षा लिन्छ । उसैले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा तयार गर्नेछ।’

शिक्षाविद् प्रा.डा.मनप्रसाद वाग्लेले अहिलेको अवस्था हेर्दा छिटै समस्याबाट पार पाइने नदेखिएको बताउँदै परीक्षा लिने नै भए प्रश्नपत्र विद्यालयलाई नै पठाइदिएर परीक्षा उसैले लिने विधि अपनाउनुपर्ने सुझाव दिए। ‘गत वर्षको जस्तो आन्तरिक मूल्याङ्कन गर्न पनि सकिन्छ तर बढी अङ्क दिने बद्माशी हुन सक्दछ । त्यसैले यसलाई निगरानी गर्ने संयन्त्र तयार गर्नुपर्दछ,’ उनले भने।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले आफूहरु छलफलमै रहेको बताए। ‘अवस्था हेरेर यो महिनापछि मात्र निर्णय गर्नेछौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .