छापा खबर


औषधि र अक्सिजनको सहज आपूर्तिका लागि नेपालले गरेको आग्रहमा भारतले दियो यस्तो जबाफ

औषधि र अक्सिजनको सहज आपूर्तिका लागि नेपालले गरेको आग्रहमा भारतले दियो यस्तो जबाफ

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १:३०,

नेपालमा लिक्विड अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध हटाइदिन आग्रह गर्दै सरकारले शुक्रबार भारतलाई पत्राचार गरेको छ ।

भारतीय पक्षले भने एक साता धैर्य गर्न अनुरोध गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।

नेपालमा भारतको झारखण्डस्थित लिन्ड इन्डिया अक्सिजन प्लान्टबाट मासिक एक सय ५० टन अक्सिजन आपूर्ति हुँदै आएको थियो । शंकर अक्सिजन ग्यास प्रालिले आयात गर्ने गरेको थियो । तर, पछिल्लो समय आन्तरिक खपतलाई मध्यनजर गर्दै केन्द्र सरकारले अक्सिजन निर्यातमा रोक लगाएको जानकारी भारतीय उद्योगले दिएको थियो । अहिले लिक्विड अक्सिजन र सिलिन्डर आउन रोकिएको छ।

नेपालमा संक्रमण तीव्र गतिमा बढ्न थालेपछि हाल मौज्दात रहेको अक्सिजन र सिलिन्डरले नपुग्ने भन्दै स्वास्थ्य मन्त्रालयको समन्वयमा परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासले अक्सिजनका लागि पहल गरिरहेका छन्।

लिक्विड अक्सिजन, सिलिन्डर, रेमडिसिबिरलगायतका औषधिको आपूर्तिमा सहजीकरण गरिदिन सरकारले कूटनीतिक च्यानलमार्फत भारतलाई औपचारिक आग्रह गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पनि यसबारे भारतीय समकक्षी डा। हर्षवर्धनसँग कुराकानी गरेका छन्।

‘हामीले लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर तथा अत्यावश्यक औषधिलगायतको निर्यातमा लगाएको प्रतिबन्ध हटाउन औपचारिक रूपमा कूटनीतिक नोटमार्फत शुक्रबार आग्रह गरेका छौँ । अहिले लिक्विड अक्सिजन र सिलिन्डरको आपूर्ति हाम्रो उच्च प्राथमिकतामा छ,’ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले भने, ‘हाम्रो आग्रहलाई भारत सरकारले सकारात्मक रूपमा लिएको पाएका छौँ । अक्सिजनको आपूर्ति चाँडै हुने वातावरण बन्नेमा हामी आशावादी छौँ ।’

स्रोतका अनुसार भारतले एक सातामा नेपालका लागि अक्सिजन र सिलिन्डर आपूर्तिका लागि कानुनी बाटो खोलिदिने आश्वासन दिएको छ । दिल्लीस्थित नेपाली दूतावासले भारत सरकारसँग समन्वय गरिरहेको छ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार कोरोना संक्रमितलाई आवश्यक पर्ने रेमडिसिबिर औषधि बंगलादेशबाट पनि ल्याउने तयारी भएको छ । तर, अक्सिजनका लागि भारतबाहेकको विकल्प नभएको उनको भनाइ छ । नेपालमा भएको मौज्दातले तत्कालको आवश्यकता पूरा हुने जानकारी स्वास्थ्य मन्त्रालयले परराष्ट्रलाई दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .