छापा खबर


तीन वर्षमा १६ हजारले गरे आत्महत्या, यसो गरे राेकिन्छ आत्महत्या

तीन वर्षमा १६ हजारले गरे आत्महत्या, यसो गरे राेकिन्छ आत्महत्या

नेपालखबर
साउन ३०, २०७६ बिहिबार ४:७,

विश्व स्वास्थ्य संगठनको तथ्यांकले प्रत्येक ४० सेकेन्डमा विश्वमा एक जनाको आत्महत्या हुने देखाउँछ।

नेपालमा भने पछिल्लो तीन वर्षमा विभिन्न तरिकाबाट १६ हजार १९५ जनाले आत्महत्या गरेका खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

नेपाल प्रहरीले तयार गरेको आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मको तीन वर्षको तथ्यांकले १६ हजार १९५ जनाले विभिन्न तरिका अपनाएर आत्महत्या गरेको देखाएको हो।

जसमध्ये सबैभन्दा बढी आत्महत्या झुन्डिएर भएको छ । तीन वर्षको अवधिमा झुन्डिएर मात्रै ११ हजार ९४१ जना अर्थात् करिब १२ हजारले आत्महत्या गरेका छन्।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७३/७४ मा मात्रै ३ हजार ७६१ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । यस्तै, २०७४/७५ मा ३ हजार ८६८ जनाले तथा गत आर्थिक वर्षमा ४ हजार ३१२ जनाले झुन्डिएर आत्महत्या गरेका छन्।

झुन्डिएर पछि सबैभन्दा बढी आत्महत्या विष सेवनबाट हुने गरेको प्रहरी तथ्यांक देखाउँछ । गत तीन वर्षको पहिलो वर्षमा १ हजार २१५, दोस्रो वर्षमा १ हजार ३६३ तथा गत आर्थिक वर्षमा १ हजार ३२० जनाले विष सेवन गरेर आत्महत्या गरेका छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगंजका मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा. डा. सरोजप्रसाद ओझाले मनोवैज्ञानिक तथा सामाजिक दुई प्रमुख कारणबाट मानिसले आत्महत्याको निर्णयसम्म पुग्ने गरेको बताए । उनले समाजमा आफ्नो प्रतिष्ठामा कतै आँच आएको महसुस हुँदासमेत मानिसले आत्महत्याको निर्णयमा पुग्ने गरेको जानकारी दिए।

पछिल्लो समय राजनीतिक, आर्थिक अभाव, पारिवारिक खटपट तथा सम्बन्धविच्छेद, बढी मादकपदार्थ सेवन, बेरोजगारी समस्या तथा छिट्टै आवेशमा आउने कारण मानिसले आत्महत्या रोज्ने गरेको देखिएको उनले जनाए।

‘मनोवैज्ञानिक तथा सामाजिक कारण नै आत्महत्याका प्रमुख दुई कारण हुन्, यसमा राजनीतिक कारण, आर्थिक अभाव, पारिवारिक खटपट तथा सम्बन्धविच्छेद, बढी मादकपदार्थ सेवन, बेरोजगारी समस्या, तथा छिटै आवेशमा आउने कारण पर्छन्,’ शिक्षण अस्पताल महाराजगन्जका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. ओझाले भने।

 रोकथाम गर्न सकिन्छ आत्महत्या
प्रा. डा. सरोजप्रसाद ओझा, मानसिक स्वास्थ्य विभाग प्रमुख
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
मानिसले मनोवैज्ञानिक तथा सामाजिक गरी प्रमुख दुई कारणबाट आत्महत्याको निर्णय रोज्ने गरेको पाइन्छ । यसमा राजनीतिक कारण, आर्थिक अभाव, पारिवारिक खटपट तथा सम्बन्धविच्छेद, बढी मादक पदार्थ सेवन, बेरोजगारी समस्या, तथा छिटै आवेशमा आउनेलगायतका कारण देखिने गरेका छन्।

कमजोर स्वभाव जो आफ्नो समस्या बाहिर खुलेर अरूलाई भन्न सक्दैनन् र प्रायः नकारात्मक भावनाका कारण धेरै सोचिरहन्छन् उनीहरू धेरै सोचाइका कारण डिप्रेसनमा पुगेर मृत्युवरणसम्मको निर्णयमा पुग्ने गरेका पनि छन्।

मानिसमा नकारात्मक सोचाइ आउनु नै गलत होइन । तर, त्यस्ता सोचाइबारे अरूलाई जानकारी दिन सक्नु गलत सोचाइबाट मुक्त हुने राम्रो बाटो हो । त्यसले ठूलो दुर्घटना रोक्छ । परिवारका सदस्यले समेत आफ्नो घरभित्रका मानिसको स्वभावलाई ख्याल गरेर त्यहीअनुसारको वातावरण बनाएर उसको स्वभावलाई सहज बनाउन सक्नु पर्छ।

मानिसहरू आफ्नो सामाजिक प्रतिष्ठामा समेत ठेस नलागोस् भन्ने चाहन्छन् । नकरात्मक सामाजिक प्रवृतिलाई समेत हामीले हटाउनुपर्छ । जथाभावी रूपमा बिक्री हुने गरेका विषादीको बिक्रीमा सरकारले प्रतिबन्ध लगाउनुपर्छ।

यसैगरी, आफूलाई सामान्य अवस्थाबाट असहज भएको जस्तो महसुस भएमा मनोचिकित्सकसँग गएर आफ्नो समस्यालाई कम गर्दै अघि बढ्न सकिन्छ । त्यसमा महŒवपूर्ण पाटो भनेको परिवार नै हो । परिवार नै आफ्नो मान्छेको स्वास्थ्य अवस्थाबारे जानकार रहने हुँदा असामान्य अवस्थामा चिकित्सकको परामर्शमा जानु नै उत्तम हुन्छ।

यस्तै, राज्यले पनि नकारात्मक सोचाइबाट हुन सक्ने सम्भावित घटनाबारे ध्यान पु¥याउनुपर्छ । त्यसका लागि सरकारीतवरबाटै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ । राज्यबाट यस्ता क्षेत्रमा ध्यान दिँदासमेत धेरै हदसम्म आत्महत्यालाई निराकरणको बाटोमा ल्याउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .