ad ad

छापा खबर


यी हुन् रोगप्रतिरोधी क्षमता बढाउने उपाय

यी हुन् रोगप्रतिरोधी क्षमता बढाउने उपाय

नेपालखबर
साउन २८, २०७६ मंगलबार ३:३२,

शरीर स्वस्थ रहनका लागि रोगप्रतिरोधी क्षमता आवश्यक पर्छ। जसले बाहिरी जीवाणुको संक्रमणबाट बचाउने गर्छ।

कुनै पनि रोगको भाइरसविरुद्ध लड्ने भएकाले रोगको सिकार हुनबाट बचाउँछ। सामान्यतया रोगप्रतिरोधी क्षमता व्यक्तिले गर्भबाटै लिएर आएको हुन्छ। गर्भावस्थामा आमाको स्वास्थ्य, जीवनशैली र रहनसहनका आधारमा बच्चाको स्वास्थ्य अथवा प्रतिरोधी क्षमता कस्तो हुने भन्ने कुरा भर पर्छ।

यदि आमा बिरामी भएमा बच्चामा पनि स्वास्थ्य समस्या देखिने गर्छ। आजको नयाँ पत्रिकामा कान्तिपुर अस्पतालमा कार्यरत डा. प्रभाकर शाहले यसबारे जानकारी दिएका छन् :

आमाको दूध
बच्चा जन्मिनेबित्तिकै आमाको बेगौती दूध बच्चालाई अनिवार्य रूपमा खुवाउनुपर्छ । जसमा प्रतिरोधी क्षमता बढाउने तत्व हुन्छन् । ६ महिनासम्म सकेसम्म आमाको दूध मात्रै खान दिनुपर्छ । आमाको दूधमा बच्चालाई चाहिने सबै पौष्टिक तत्व पाइन्छ । स्वस्थ वातावरणविश्व स्वास्थ्य संगठनका अनुसार कोठाको साइजका आधारमा आवश्यकताभन्दा बढी जनसंख्या भएमा स्वास्थ्यमा असर पर्ने गर्छ । अर्थात्, एउटा कोठामा दुई वा तीन व्यक्तिभन्दा धेरैको बसोवास भएमा स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुन्छ।

बसाइको व्यवस्थापन नमिल्दा व्यक्तिको प्रतिरोधी क्षमतामा ह्रास आउने गर्छ, तसर्थ बसाइको व्यवस्थापन गर्नुपर्छ । सकेसम्म खुला ठाउँमा बासस्थान बनाउनु उचित मानिन्छ । घरवरपरको वातावरण स्वच्छ राख्नुपर्छ । घर, टोल, समाजमा सरसफाइ गर्ने, फोहोरमैला र प्रदूषणबाट लाग्ने सम्भावित रोगबाट बच्नुपर्छ । यदि सरुवा रोगको सिकार हुने अवस्था भएमा प्रतिरोधी क्षमतामा ह्रास आउन थाल्छ ।

स्वस्थ खानपान
व्यक्तिको स्वास्थ्य कस्तो हुने भन्ने उसको खानपानमा पूर्ण निर्धारित हुने गर्छ । नियमित पौष्टिक आहार सेवन गर्नुपर्छ । जस्तैः माछा, मासु, अन्डा, फलफूल, अन्न, हरियो सागपात आदि । बच्चाको खानपानमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यस्तै, स्वास्थ्यमा असर पार्ने खालका खानेकुरा, जंकफुड, फास्डफुड आदिबाट सकेसम्म टाढा बस्नु उपयुक्त हुन्छ ।
प्रतिरोधी क्षमता कम गर्ने प्रमुख कारक तत्व धूम्रपान, मद्यपान र अस्वस्थ खानपान हुन् ।

व्यायाम
प्रत्येक व्यक्तिले दिनहुँ व्यायाम गर्नु आवश्यक हुन्छ । यो शरीर तथा मानसिक स्वास्थ्यसमेत बलियो बनाउन सहयोगी हुन्छ । बिहान हिँड्ने, जिम, योगा, सामान्य खेल आदि गर्न सकिन्छ । बच्चालाई पनि खेल्ने समय प्रशस्त दिनुपर्छ । शारीरिक परिश्रम गर्नुपर्ने खालका खेल खेल्न दिन सकिन्छ । जसले गर्दा उनीहरूमा वृद्धि विकास सहज हुन्छ र प्रतिरोधी क्षमता पनि बढेर जाने गर्छ ।

रोगबाट बच्ने
सरुवा रोग, एचआइभी, मिर्गौलामा खराबी, क्षयरोग, क्यान्सरजस्ता रोगले प्रतिरोधी क्षमतामा कमी ल्याइदिन्छ । बारम्बार सरुवा रोग, जस्तैः रुघाखोकी, ज्वरो आदि लागिरहेमा पनि प्रतिरोधी क्षमता घट्ने गर्छ । तसर्थ रोगबाट बच्नका लागि स्वस्थ जीवनशैली अपनाउन जरुरी हुन्छ ।

औषधिको प्रयोग
धेरै औषधिको प्रयोगले पनि स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ । कतिपय समयमा एन्टिबायोटिक औषधिको गलत प्रयोग र गलत डोजले प्रतिरोधी क्षमतामा प्रतिकूल प्रभाव पार्छ । यस्तै, एस्टोरोइड नामक औषधिको लामो समयसम्म प्रयोग गर्दासमेत स्वास्थ्यमा असर देखिन सक्छ । तसर्थ, कुनै पनि औषधि प्रयोगमा ल्याउँदा अनिवार्य रूपमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .