७ फागुन, प्रजातन्त्र दिवस । टुँडिखेलमा आयोजित समारोह सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी हिँड्छ । राष्ट्रपतिको सवारी बाहिरिनुअघि नै प्रधानमन्त्री केपी ओली उपराष्ट्रपति नन्दबहादुर पुन उभिएको स्थानमा जान्छन्।
जब कि सबै अतिथि गण र सुरक्षाकर्मी उभिएर राष्ट्रपति भण्डारीको बिदाइ गरिरहेका थिए र उपराष्ट्रपति पुनको बिदाइका लागि पर्खिरहेका थिए । त्यहीवेला उपराष्ट्रपति पुनको अगाडि उभिएर केही भनिरहेका प्रधानमन्त्री ओलीको हाउभाउ अस्वाभाविकजस्तो देखिन्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
यो दृश्यका विषयमा चासो राख्दा स्रोतले भन्यो, ‘संसद् विघटनको विरोधमा उपराष्ट्रपतिले सार्वजनिक अभिव्यक्ति दिएकोमा प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिसँग अभद्र व्यवहार नै गर्नुभयो । तपाईँले संसद् विघटनको किन विरोध गरेको? आखिर के गर्न खोज्नुभएको हो भन्दै उपराष्ट्रपति पुनसँग आक्रोश व्यक्त गर्नुभयो।’
जवाफमा उपराष्ट्रपति पुनले ‘तपाईंले असंवैधानिक कदम र गतिविधि गर्ने, मैले संविधान र जनताको अधिकारको कुरा गर्न किन नहुने?’ प्रतिप्रश्न गरेका थिए।
प्रधानमन्त्रीले बोल्दै गर्दा उपराष्ट्रपति पुनको ‘बडी ल्यांग्वेज’ नै असहज भएको थियो । पछाडिको सिटमा उभिरहेका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना केही असहज मानेजस्तो गर्छन्।
तिमिल्सिनाले सापकोटाको अनुहारमा हेर्दा सापकोटा भने पुन र ओलीको वार्तालापमा ध्यान केन्द्रित गरिरहेका थिए । करिब दुई मिनेटजति यसरी गफिएपछि ओली आफ्नो सिटतर्फ बढ्छन् । पुनले केही भन्न खोजेपछि ओली अलिकति रोकिएर सुन्दै आफ्नो सिटमा पुग्छन्।
करिब दुई मिनेटको यो असहज वार्तापछि उपराष्ट्रपति पुन सबैलाई नमस्कार गर्दै बाहिरिन्छन् । उपराष्ट्रपतिले सबैलाई हात जोडेर नमस्कार गरे पनि प्रधानमन्त्रीले कुनै अभिभावदन फर्काउँदैनन् । बरु मञ्चबाट झरिरहेका पुनतर्फ एकोहोरो हेरिरहन्छन्।

प्रतिक्रिया