छापा खबर


भागरथीको बलात्कार तथा हत्या : विडम्बना ! जघन्य अपराधमा नाबालक

भागरथीको बलात्कार तथा हत्या : विडम्बना ! जघन्य अपराधमा नाबालक

नेपालखबर
फागुन ५, २०७७ बुधबार २३:४०,

सहपाठी किशोरीको बलात्कार तथा हत्याजस्तो जघन्य अपराधमा पक्राउ परेका आरोपी स्वयं पनि किशोर भएकाले उनीमाथि कस्तो कारबाही गर्ने भन्नेमा जिज्ञासा जागेको छ । नेपालको कानुनले १८ वर्ष नपुगेको व्यक्तिले अपराध गरेको पुष्टि भएमा जेलको सट्टा बाल सुधारगृहमा पठाउने व्यवस्था गरेको छ।

भागरथीको बलात्कार तथा हत्या गरेको आरोपमा पक्राउ परेका किशोर १८ वर्ष पुगेको पुष्टि हुन सकेको छैन । ‘यो विषयमा हामी अनुसन्धान गर्दै छौँ, विद्यालयमा उनको जन्ममिति भिडाएर यो विषयमा टुंगोमा पुग्छौँ,’ डिआइजी उत्तम सुवेदीको भनाइ छ।

१८ वर्ष नपुगेका व्यक्तिलाई पुर्पक्षका लागि पनि जेल होइन, बाल सुधारगृहमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । अभियोग पुष्टि भएपछि पनि सजायसमेत आधा हुने व्यवस्था छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र लोकेश राउदले लेखेका छन्।

क्रूर तरिकाले हत्या गर्ने अपराधीलाई जन्मकैद अर्थात् २५ वर्ष जेल सजाय हुने व्यवस्था छ । तर, नाबालक साढे १२ वर्ष नै बाल सुधारगृह बसे पुग्छ । गत १२ असोजमा बझाङको मस्टा गाउँपालिकामा १२ वर्षीया सम्झना विकलाई बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई पनि हाल डोटीस्थित बाल सुधारगृहमा राखिएको छ।

देशका आठ सुधारगृहमा हाल सात सय ७४ जना बालबालिका छन् । जसमध्ये २६ जना बालिका छन् । कारागार व्यवस्थापन विभागका अनुसार भक्तपुरको बाल सुधारगृहमा एक सय ७२ जना, मोरङमा एक सय ८६, बाँकेमा एक सय २३, कास्कीमा ८७, रुपन्देहीमा ७९, पर्सामा ५७, डोटीमा ३८ र मकवानपुरमा ३२ जना बालबालिका रहेका छन्।

आर्थिक वर्ष ०७५÷७६ मा दुई हजार दुई सय ३० बलात्कारका घटनामा दुई हजार दुई सय २७ जना पक्राउ परेका थिए । त्यसमध्ये एक हजार ३ सय २५ जना २५ वर्षभन्दा कम उमेरका अभियुक्त छन् । त्यसमा पनि तीन सय २९ जना त नाबालक अर्थात् १८ वर्षभन्दा कम उमेरका छन्।

०७६÷७७ मा दुई हजार एक सय ४४ मुद्दामा दुई हजार चार सय ५० पक्राउ परेका थिए । त्यसमध्ये एक हजार तीन सय ६ जना २५ वर्षभन्दा कम उमेरका छन् । सो वर्ष तीन सय ५ जना नाबालक पक्राउ परेका थिए।

चालू आर्थिक वर्षको पुससम्म प्रहरीमा एक हजार दुई सय ६० वटा मुद्दा दायर भएका छन् । जसमा एक हजार चार सय २७ जना पक्राउ परेकोमा एक सय ६७ जना नाबालक छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad