छापा खबर


मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने तहमा एक्कासी कसरी पुग्यो उपत्यकाको वायु?

मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने तहमा एक्कासी कसरी पुग्यो उपत्यकाको वायु?

नेपालखबर
पुस २२, २०७७ बुधबार १:३७,

मौसममा आएको परिवर्तनसँगै मुलुकभर प्रदूषणको मात्रा बढेको पाइएको छ । मंगलबार उपत्यका र नेपालगन्जको वायु मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउनेसम्मको स्तरमा पुगेको हो।

मंगलबार राति ९ बजे वायु गुणस्तर मापन केन्द्रले दिएको तथ्यांकअनुसार भैंसेपाटीमा अत्यधिक अस्वस्थ वायु रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले सञ्चालन गरेको वायुको गुणस्तर अनुगमन संयन्त्रले अत्यधिक जोखिमयुक्त वायु रहेको भैंसेपाटीको पार्टीकुलर म्याटर(पीएम) २.५ को मात्रा २१९ दशमलव ३८ माइक्रोग्राम प्रतिघनमिटर रहेको थियो।

यस्तै त्यसभन्दा कम वायु रहेको सहरका रूपमा नेपालगन्ज रहेको वातावरण विभागले जनाएको छ । विभागले दिएको तथ्यांकअनुसार नेपालगन्जमा पीएम २.५को मात्रा १८९ दशमलव ६ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ।

यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

विभागले दिएको तथ्यांकअनुसार ‘रेड जोन’मा रहेका सहरहरूमा विराटनगर, जनकपुर, काठमाडौंको शंखपार्क, हेटौँडा, कञ्चनपुरको महेन्द्रनगर र चितवनको सौराहा छन् । मंगलबार रातिको पीएम २.५ को मात्राअनुसार विराटनगरमा १५५ दशमलव १९ माइक्रोग्राम प्रतिघनमिटर, जनकपुरको १४८ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर, काठमाडौंको शंखपार्कको १२८ दशमलव ६९ माइक्रोग्राम प्रतिघनमिटर, हेटौंडाको ११५ दशमलव १९ माइक्रोग्राम प्रतिघनमिटर, कञ्चनपुर, महेन्द्रनगरको ८६ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर र चितवन, सौराहको ८१ माइक्रोग्राम प्रतिघनमिटर गुणस्तर मापन गरिएको छ।

यसैगरी धनकुटार र पोखरामा दीर्घकालीन रोग भएका बिरामीलाई असर गर्ने किसिमको वायुको गुणस्तर मापन गरिएको वातावरण विभागले जनाएको छ । सरकारले तयार पारेको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डले पीएम २.५ को मापदण्ड ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ।

मापदण्डअनुसार वायुमा धुलोको कण पीएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी भए मात्रै त्यसलाई वायु प्रदूषण भएको मानिन्छ । सामान्यतया पीएम २.५ भनेको धेरै सूक्ष्म कण हो । जसको व्यास २.५ माइक्रोनभन्दा कम हुन्छ । यी कणहरू श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्न सक्छ।

हुस्सु लागेजस्तो काठमाडौं धुम्म भई भिजिबिलिटी घट्यो । दुई दिनसम्म घाम नलागे पनि काठमाडौं न्यूनतम तापक्रम भने घटेको छैन । तापक्रम बढेसँगै काठमाडौंको वायुको प्रदूषण पनि ह्वात्तै बढेको छ । सोमबार त काठमाडौंको वायु प्रदूषण उच्च खतराको तहमा पुगेको थियो, यो क्रम मंगलबार पनि जारी रहेको थियो । वातावरण विभागले देशका विभिन्न ठाउँमा हावाको गुणस्तर नाप्न थालेको चार वर्ष भयो।

‘हिउँदमा यस्तो त पहिला पनि हुन्थ्यो तर यसपालि त धेरै नै भयो,’ विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले भने, ‘अहिले त यो खतराको लेभलभन्दा निकै माथि छ ।’

ठूला उद्योग नभएको काठमाडौंमा यति ठूलो प्रदूषण हुनुमा उपत्यकाको बनोट नै मुख्य कारण भएको मौसमविद् डा। ऋषिराम शर्मा बताउँछन । ‘पश्चिमी वायु आएपछि इन्भर्सन लेयर बनेर यस्तो भएको हो,’ उनले भने, ‘इन्भर्सन लेयर भनेको जमिनको सतहभन्दा माथिको वायुमण्डल तातो भएर तलको हावा माथि जान नपाउनु हो।’ उनकाअनुसार यो वर्ष पश्चिमी वायुको प्रणालीमा धेरै पानीको मात्रा थिएन । त्यही भएर बादल लागे पनि काठमाडौं र पूर्वी क्षेत्रमा ठूलो वर्षा हुन सकेन।

‘जमिन छिटो सेलाउँछ र छिटो तात्छ तर चिसो भएको वायुमण्डलको तापक्रम तात्न समय लाग्छ,’ शर्माले भने, ‘राति चिसो भएको जमिनको सतह बिहान भएपछि तात्दै गयो तर माथिको हावा त्यसरी नतातेकाले काठमाडौंको हावा बाहिर जान पाएन।’

कचौंरा आकारजस्तो उपत्यका भएकाले पनि काठमाडौंमा यस्तो बेला हावा बाहिर जान नसक्ने उनले बताए । उनले भने, ‘वायुमण्डलको माथिल्लो तहको हावाले काठमाडौंको सतहको हावालाई लैजान सक्दैन । त्यसैले पनि यो यहीँ घुमिरहन्छ ।’ रिलिज हुन नपाएको काठमाडौंको हावामा गाडी, मोटर र इँटाभट्टाको धुँवाधुलो मिसिएकाले प्रदूषण ह्वात्तै बढेको उनले बताए।

सुरक्षित रहन चिकित्सको आग्रह
संक्रमण रोग विशेषज्ञ प्राडा. जीवन शेरचनले वातावरण प्रदूषणले दीर्घरोगी, बालबालिका र वृद्ध प्रभावित हुने बताए । उनले भने, ‘वातावरणीय दृष्टिकोणले मर्निङ वाक र इभिनिङ वाक गर्नु अस्वस्थकर मानिन्छ । दूषित वातावरण बढ्दै गएकाले मास्कको समुचित प्रयोग गर्नुपर्छ।’

दूषित वातावरण श्वासनलीमा जान नदिन आवतजावत गर्दा मास्कको प्रयोग गर्नुपर्ने बताए । उनले प्रदूषण बढ्दै गएको भन्दै सकेसम्म ज्येष्ठ नागरिक, दीर्घरोगी, र बालबालिकालाई घरमै बस्न आग्रह गरे।

वरिष्ठ छाती रोग विशेषज्ञ डा.नीरज बमले वातावरण प्रदूषणले शरीरका सम्पूर्ण प्रणालीमा असर गर्ने बताए । उनले भने, ‘आँखा पोल्ने, छालामा क्यान्सर, छाला चिलाउने, श्वासप्रश्वास, फोक्सोका नलीहरूमा एलर्जी गराउँछ । दीर्घखालको दम गराउँछ ।’ प्रदूषित वातावरणमा सावधानी अपनाएर हिँड्न चिकित्सकले आग्रह गरेका छन् । फोक्सो तथा क्रिटिकल केयर विशेषज्ञ डा. रक्षा पाण्डेले वायु प्रदूषणले दीर्घ रोगको जोखिम निम्त्याउने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad