घरमा छोरीहरू आएका थिए। सँगै बसेर जयबहादुर थापा खाजा खाँदै थिए । अचानक बान्ता भयो। के भयो, किन भयो, कसैले भेउ पाएन।
सितिमिति बिरामी नहुने उनको अवस्था देखेर छोरीहरू आत्तिए र तत्कालै अस्पताल पुर्याए। विभिन्न परीक्षणपछि पत्ता लाग्यो, उनका दुवै मिर्गौला बिग्रिसकेका रहेछन्।
करिब एक महिना अस्पताल बसेपछि स्वास्थ्यमा केही सुधार भयो र घर फर्के । डेढ वर्षदेखि डायलासिस नियमित चलिरहेको छ । प्रत्येक सोमबार र बिहीबार डायलासिस गर्नुपर्छ । ‘डाक्टरले मिर्गौला प्रत्यारोपण नगरी उपाय छैन भनेका थिए तर त्यसका लागि चाहिने करिब १५ लाख भारु जुटाउन सकिएन,’ थापाले भने।
चार दशकदेखि दिल्लीमा बस्दै आएका पाल्पा रामपुरका थापा तत्कालीन नेकपा माओवादीको भारत शाखाका जुझारु कार्यकर्ता थिए । माओवादी विद्रोह चरमोत्कर्षमा रहेका बेला पार्टीका अधिकांश उच्च तहका नेता भारतमा रहेका बेला बासस्थानदेखि सुरक्षाको जिम्मा उनको काँधमा थियो । उनकै घर मुख्य सेल्टर थियो। तिनै थापा अहिले आफ्नै काँध थाम्न नसक्ने गरी गल्दै गएका छन्, शारीरिक र आर्थिक दुवै रूपमा।
जबकि उनीजस्ताकार्यकर्ताहरूको भरथेगमा राजनीतिक परिवर्तन भएर नेपालको सत्तामा पुगेका कतिपय नेताहरूले भने सरकारी खर्चमा आफ्नो उपचार गराइरहेका छन्। यो खबर नयाँ दिल्लीबाट सुरेशराज न्यौपानेले आजको कान्तिपुरमा लेखेका छन्।
पछिल्लो समय शरीर गल्दै गएको थापालाई महसुस हुन थालेको छ । त्यसले उनमा चिन्ता बढाएको छ । औषधि सेवनले शरीरमा एलर्जीसमेत देखिएको छ । सशस्त्र द्वन्द्वकालमा उनैले सेल्टर दिएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल अस्वस्थ श्रीमती सीता दाहालको मन बहलाउन दुबई घुम्दै गरेका बेला यता दिल्लीस्थित घरैमा भेटिएका थापाले भने, ‘दिन प्रतिदिन कमजोर महसुस गर्न थालेको छु । छेउछाउ हिँड्न पनि गाह्रो हुँदै गएको छ,’ उनले भने ।
उनलाई न नेपालमा भएका आफन्तले सम्झेका छन् न खुन, पसिना बगाएको पार्टीले नै । पूर्वमाओवादीको प्रवास संगठन अखिल भारत नेपाली एकता मञ्चको केन्द्रीय सल्लाहकारसमेत रहेका उनका विषयमा पार्टीले नै कुनै चासो देखाएको छैन । उनले गत वर्ष पुष्पकमल दाहाल दिल्ली आएका बेला आफूलाई परेको समस्या सुनाएको जानकारी दिए । ‘नेपालबाट दिल्ली आएका बेला भेट हुने पार्टीका नेताहरूले नेपालै आउनुस् अनि कुरा गरौंला मात्र भन्छन्,’ थापाले भने, ‘कसरी जाने? यता डायलासिस छुटाउनु हुँदैन । नेपालमा केही हुन्छ भन्ने भएपछि पो जाने, नत्र किन खर्च मात्र गर्ने ?’
०००
माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला भारतमा त्यसमा पनि दिल्लीमा बस्ने नेपालीलाई निकै गाह्रो थियो । नेपालीलाई जोकोहीले भाडा दिँदैनथे । भाडा दिइहाले पनि सम्पूर्ण विवरण बुझाउनुपर्थ्यो । प्रहरीलाई भाडामा बस्नेको तस्बिर उपलब्ध गराएर काम गर्ने ठाउँको विवरण खुलाउनुपर्थ्यो । त्यसमाथि माओवादी भन्नासाथ दिल्लीमा निकै कडाइ थियो ।
त्यस्तो कठिन परिस्थितिमा समेत दिल्लीको शालिमार बागस्थित सात नम्बर गल्लीको घर नं। ३४७ तत्कालीन माओवादीको हेडक्वार्टरका लागि सुरक्षित सेल्टर थियो । यही घरमा बुनिन्थ्यो माओवादीको रणनीति । त्यतिबेला थापा एक्लै बस्थे । परिवार पाल्पामै थियो । घर पुरै खाली ।
नेता दाहाल पत्नी सीतासँगै नियमितजसो आउने–जाने गर्थे । बाबुराम भट्टराई, कृष्णबहादुर महरा, रामबहादुर थापा, मोहन वैद्य सबै आउँथे । नेताहरू असुरक्षाका कारण बस्ने ठाउँ फेरिरहन्थे । तर, पार्टीका नेताहरू भेला हुने घरचाहिँ त्यही नै थियो । ‘प्रहरीले पक्राउ गर्छ भन्ने डर थिएन, जे हुन्छ हुन्छ भन्ने थियो,’ थापाले सम्झिए । महरा उनको घर छेउमै डेरा गरेर बस्थे ।
डेरा थापाले नै मिलाइदिएका थिए । त्यो पनि प्रहरीको घरमा । ‘मैले भिनाजु हो भनेपछि घरबेटीले केही सोधेनन्,’ थापाले भने । शालिमार बाग क्षेत्रमा जयबहादुरको सार्वजनिक छवि राम्रो हुनाले उनको घरमा जानेलाई प्रहरीले सोधपुछ गर्दैनथ्यो । त्यही कारण पनि उनको घर तत्कालीन माओवादीका नेताहरूलाई सुरक्षित सेल्टर थियो । थापा एक्ला त्यस्ता व्यक्ति हुन् जसलाई पार्टीको केन्द्रीय सचिवालय बैठकमा जानसमेत रोकतोक थिएन ।
तत्कालीन माओवादीले ‘जनयुद्ध’ सुरु गरेपछि पार्टीको गतिविधि भारतमै केन्द्रित रह्यो । पार्टीका नेताहरूको परिचय उनले आफ्ना श्रीमती र छोराछोरीलाई भनेका थिएनन् । विश्वासकै कारण दाहालले थापालाई सिधै फोन गरेर आफू आउँदै गरेको जानकारी दिन्थे । उनले दाहाललाई परिवारमा ‘पण्डित बाजे’ भनेर चिनाएका थिए ।
थापाले पार्टीका लागि ज्यानै धरापमा समेत पारेका छन् । दिल्लीको अस्पतालमा उपचार गर्न ल्याइएका एक जना घाइते माओवादीलाई उनले जोखिम मोलेर प्रहरीको नियन्त्रणबाट बाहिर ल्याएका थिए । होटल कर्मचारीको भरमा छाड्थे र उनको अधिकांश समय पार्टीको बैठक व्यवस्थापन गर्नुमै बित्थ्यो । नेताहरूलाई कहाँ राख्ने, के खुवाउने, कुन बाटो हिँडाउने, कुन कपडा लगाइदिने जस्ता काम उनले मिलाउनुपर्थ्यो । ‘पार्टीका लागि केसम्म गरिनँ रु रातिराति भित्तामा पेन्टिङदेखि पोस्टर टाँस्नेसम्म गरिन्थ्यो । राति १२ बजेपछि भित्ताभर नेकपा माओवादी जिन्दावाद, भारतीय विस्तारवाद मुर्दावाद लेख्थ्यौं । त्यो बेलाको जोस नै अर्कै थियो,’ थापाले सुनाए ।
पार्टीका उच्च नेताहरूसँग त्यति लामो संगत भए पनि उनले नेपाल जाँदा पाल्पाबाट फर्किन्थे । उनको स्वभावले काठमाडौंमा ठडिएका नेताको घरसम्म जान दिएन । ‘कहिल्यै नेताको चाकडी गरौं भन्ने लागेन अनि किन धाउनु उनीहरूको दैलो रु’ उनले भने । उनले आफूले केही पाउँछु भनेर पार्टीमा नलागेको बताए । ‘जे गरें, आफ्नै इच्छाले गरें,’ थापाले भने, ‘राजनीतिमा लागेकामा पछुतो छैन ।’ पार्टीका लागि त्यत्रो दुःख गरेका थापालाई अहिले कसैले हालखबर सोध्दैन ।
रोग लागेको थाहा भएपछि त झन् नेताहरूले फोनसमेत नगरेको उनले गुनासो गरे ।
प्रतिक्रिया