ad ad

छापा खबर


पटकपटक बत्ती जाँदा नागरिक हैरान, के अघोसित लोडसेडिङ सुरु भएको हो?

पटकपटक बत्ती जाँदा नागरिक हैरान, के अघोसित लोडसेडिङ सुरु भएको हो?

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ०:५२,

नेपाल विद्युत् प्राधिकरणको चरम लापर्बाहीका कारण सर्वसाधारणले ठूलो सास्ती र पीडा खेप्नुपरेको छ।

पछिल्लो समय काठमाडौंलगायत देशभरका सानाठूला सहरमा दैनिकजसो विद्युत् लाइन अवरुद्ध हुन थालेको छ । अघोषित लोडसेडिङका कारण प्राधिकरणको वर्तमान नेतृत्वमाथि नै गम्भीर प्रश्न खडा हुन थालेको खबर आजको राजधानी दैनिकमा पूजा चँदाराले लेखेकी छन्।

प्राधिकरणको फितलो व्यवस्थापनका कारण पछिल्लो समय बत्ती आउने–जाने क्रम बढ्न थालेको गुनासो गरिएको छ।

काठमाडौंलगायत देशका विभिन्न सहरमा बिहानदेखि रातिसम्म दर्जनौं पटक लाइन आउन–जाने क्रम जारी रहेको सर्वसाधारणको गुनासो छ। यतिबेला सर्वसाधारणले सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट प्राधिकरणको व्यवस्थापनप्रति औंला उठाइरहेको पाइन्छ।

प्राधिकरणका अनुसार मंगलबारको ग्राफ हेर्दा ‘पिकआवर’मा विद्युत् माग अहिलेसम्मको सबैभन्दा बढी १४ सय ४३ मेगावाट पुगेको थियो । जब कि त्यसै दिन राति ७१५ मेगावाटसम्म विद्युत् खपत भएको थियो।

गत वर्षको सोही दिन १२ सय ६५ मेगावाट विद्युत् मात्रै माग भएको थियो । यसरी हेर्दा झन्डै दुई सय मेगावाट विद्युत् माग बढेको छ । विद्युत् माग बढ्दा सिस्टममा ओभर लोड भएर केही प्राविधिक समस्या देखिएकाले यसलाई लोडसेडिङ भएको भन्न नमिल्ने प्राधिकरणको दाबी छ।

१४ सय ४३ मेगावाटका लागि प्राधिकरणबाट ५ सय मेगावाट उत्पादन भएको छ भने प्राइभेट सेक्टरबाट ३२५ मेगावाट र भारतबाट ६ सय १८ मेगावाट विद्युत् आयात गरेर माग व्यवस्थापन गरिएको थियो । प्राधिकरणबाट ७३ लाख युनिट, प्राइभेट सेक्टरबाट ७४ लाख युनिट र भारतबाट एक करोड युनिट विद्युत् खपत हुँदै आएको छ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले लोडसेडिङ नभएको दाबी गरेका छन् । प्रवक्ता तिम्सिनाले भने, ‘प्रविधि विस्तारका साथै अहिले विद्युत् माग बढी भएका कारण पनि सिस्टममा केही समस्या आउँदा बत्ती गएको हो, तर लोडसेडिङ भएको होइन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .