छापा खबर


प्रधानमन्त्रीलाई सुरक्षा बढाइयो, ओलीमाथि सुरक्षा ‘थ्रेट’ बढेकै हो?

प्रधानमन्त्रीलाई सुरक्षा बढाइयो, ओलीमाथि सुरक्षा ‘थ्रेट’ बढेकै हो?

नेपालखबर
मंसिर २४, २०७७ बुधबार २:४१,

सत्तारुढ नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन्।

नेकपा अध्यक्षसमेत रहेका उनी पार्टी मुख्यालय धुम्बाराहीमा जाने भएपछि आसपासका घरका छतमा समेत सुरक्षाकर्मी परिचालन गरिएलगत्तै मंगलबार कीर्तिपुरको एउटा कार्यक्रममका लागि उनको ‘सवारी’ चलाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।

ज्येष्ठ नागरिक आवास गृह शिलान्यासका लागि मंगलबार अपराह्न प्रधानमन्त्री ओली कीर्तिपुर जाने क्रममा सुरक्षाकर्मीले सडक खाली गरेर ‘सवारी’ चलाएका थिए। विगतमा यस्तो अभ्यास थिएन। यो खबर आजको नागरिक दैनिकमा शिवहरी घिमिरेले लेखेका छन्।

सडक नै खाली गराइएपछि के प्रधानमन्त्रीमाथि सुरक्षा ‘थ्रेट’ बढेकै हो, बढेको हो भने कहाँबाट भन्नेजस्ता प्रश्न उठेका छन्। ‘त्यति कडाइ होइन, आवश्यकता हेरेर केही कडाइ भएको हो,’ नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले भने, ‘हामीले हाम्रो ठाउँमा कमजोरी हुन त दिनुभएन नि।’

राजनीतिक र अन्य अवस्थालाई ध्यानमा राखेर प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरूको सवारी चलाउने गरिएको जानकारी दिँदै उनले भने, ‘आज (मंगलबार) पनि त्यही अनुसार प्रधानमन्त्रीको सवारी चलाइएको हो।’

प्रधानमन्त्री कीर्तिपुरतिर लाग्दा उनको अघिपछि तैनाथ सुरक्षाकर्मीलाई मास्क लगाउन समेत दिइएको थिएन। आवासगृह शिलान्यास गर्न प्रधानमन्त्री ओली दिउँसो १ः१५ बजे बालुवाटारबाट हिँडेका थिए।

उनी हिँड्नुपूर्व नै सर्वसाधारणलाई रोकेर प्रहरीले सडक खाली गराएको थियो। अनिमात्रै प्रधानमन्त्रीले बाटुवाटारबाट कीर्तिपुरको यात्रा तय गरेका थिए। उनले कीर्तिपुरको कार्यक्रममा डेढ घण्टा बिताए। फर्कने क्रममा पनि उनको सुरक्षा व्यवस्था कडा पारिएको थियो।

प्रधानमन्त्रीको सुरक्षा व्यवस्था कडा पारिनुलाई सुरक्षा निकायका जानकारले राजनीति बेमेलसँगै उत्पन्न चुनौतीका रूपमा चित्रण गरे। पूर्वडिआइजी हेमन्त मल्लले जनआक्रोश बढिरहेका बेला सरकारको मनोविज्ञान यस्तै हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad