ad ad

छापा खबर


स्थानीय तहमा भ्रष्ट्राचार : एउटा साबुनको ३८ सय, पिपिईको ३६ हजार

स्थानीय तहमा भ्रष्ट्राचार : एउटा साबुनको ३८ सय, पिपिईको ३६ हजार

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार २३:५४,

जनताका लागि महामारी बनेको कोभिड केही जनप्रतिनिधिका लागि भने कसरी मौका बनिरहेको छ, एउटा अर्को उदाहरण सप्तरीको बोदेबरसाइन नगरपालिकाले प्रस्तुत गरेको छ।

यो नगरपालिकाले ३० रुपैयाँ पर्ने लाइफबोय साबुनलाई तीन हजार तिरेको विवरण तयार पारेको छ । त्यस्तै, क्वारेन्टिन व्यवस्थापनका नाममा किनिएका दर्जनौँ सामग्रीमा ढुकुटीबाट लुट मच्चाइएको खबर आजको नयाँ पत्रिका दैनिकमा सप्तरीबाट भोला पासवानले लेखेका छन्।

कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहहरूले गरेको खर्च सार्वजनिक गर्न केन्द्रबाट ताकेता भएपछि बोदेबरसाइन नगरपालिकाले बुधबार खर्च सार्वजनिक गरेको थियो । नगरपालिकाले कुल दुई करोड २१ लाख रुपैयाँको विवरण सार्वजनिक गरेको थियो।

जसमा एउटा लाइफबोय साबुनको तीन हजार आठ सय ३१ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो । २२ चैतमा ९५ पिस साबुनमा नगरपालिकाले तीन लाख ६३ हजार नौ सय ८५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको थियो।

यो विषयमा प्रश्न उठेपछि बोदेबरसाइन नगरपालिकाका नगरप्रमुख आतेशकुमार सिंह यादवले प्रस्टीकरण दिँदै भनेका छन्, ‘९५ थान होइन, ९५ कार्टुन साबुनको विवरण हो, यो प्रिन्ट मिस्टेक भएछ।’

एक कार्र्टुनमा एक सय ४४ थान साबुन हुन्छन्, नगरपालिकाले ९५ कार्टुन साबुन किनेको हो भने एक थान साबुनको २६ रुपैयाँ तिरेको ठहर्छ । तर, नगरपालिकाले २६ चैतमा फेरि १० कार्टुन (१,४४० थान) साबुन किन्दा चार लाख ३१ हजार नौ सय ५५ रुपैयाँ भुक्तान गरेको विवरण प्रस्तुत गरेको छ । यो हिसाबले नगरपालिकाले एक थान साबुनमा दुई सय ९९ रुपैयाँ भुक्तान गरेको विवरण तयार पारेको छ।

नगरपालिकाले ३१ चैतमा ६ हजार नौ सय १२ थान साबुन खरिद गर्दा दुई लाख ३८ हजार ६ रुपैयाँको बिल बनाएको छ । यो हिसाबले भने एक थान साबुनको २९ रुपैयाँ परेको छ।

यसरी गोलमाल हिसाब बनाएर बोदेबरसाइन नगरपालिकाले कोरोना महामारी नियन्त्रणका नाममा दुई करोड २१ लाख ३४ हजार ३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पन्जालगायतका सामग्री खरिदमा हिसाब गोलमाल पारिएको छ ।

नगरपालिकाले २८ वैशाखामा ७५ पिस पिपिई गाउन (सिम्पल) किनेको छ, जसको मूल्य २७ लाख ५२ हजार पाँच सय राखिएको छ । यस हिसाबले एक सेट पिपिईको मूल्य ३६ हजार सात सय रुपैयाँ परेको छ, जुन बजार मूल्यभन्दा १० गुणा महँगो हो।

त्यस्तै, एक पिस सर्जिकल मास्कको मूल्य झन्डै ८० रुपैयाँ छ भने पन्जाको मूल्य सात सय राखिएको छ । त्यस्तै, १५ थान सिरानीको खोलका लागि २२ हजार पाँच सयको विवरण बनाइएको छ । यो हिसाबले सिरानीको एउटा खोलको मूल्य १५ सय रुपैयाँ परेको छ।

नगरपालिकाको लेखा शाखाले बनाएको यो विवरणमा प्रशासकीय अधिकृतले छाप र हस्ताक्षरसहित प्रमाणित गरेका छन् । तर, विवरणमाथि नागरिक समाजले प्रश्न उठाएपछि नगरपालिकाले थानलाई कार्टुन भनेर संशोधन गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .