ad ad

छापा खबर


नवजात शिशुसहित सुत्केरी तीन दिनदेखि प्रहरी हिरासतमा, यस्तो छ कारण

नवजात शिशुसहित सुत्केरी तीन दिनदेखि प्रहरी हिरासतमा, यस्तो छ कारण

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार २३:३९,

तम्घासको चिसो, झन् त्यसैमा सिरेटो चल्न थालेको छ । बिहान–बेलुका मात्रै होइन, दिउँसो पनि हातखुट्टाका औँला चलाउन मुस्किल हुन्छन् ।

मुटु काँप्ने चिसोमा गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाकी २८ वर्षीया रमिता भुसाल भने तीन दिनदेखि २९ दिने शिशुसहित जिल्ला प्रहरी कार्यालयको हिरासतमा कष्टकर दैनिकी गुजारी रहेकी छन्।

सोमबार मध्याह्न जिल्ला प्रहरी कार्यालय परिसरमा शिशुलाई घामले सेक्दै गरेकी उनले अनाहकमा दुःख पाएको बताइन् । ‘मेरो त केही चिन्ता थिएन, यसलाई केही हुन्छ कि भन्ने डर लागेको छ,’ रमिताले शिशुलाई घाम सेक्दै भनिन्, ‘यस्तो चिसो छ, मलाई नै गाह्रो भएको छ । न्याया लुगाकपडा छैनन्, यसलाई के पो हुने हो।’

उनले तीन दिनदेखि २९ दिने शिशुसहित प्रहरी हिरासतमा बस्नुको कारण भने बहुविवाहको उजुरी हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा गुल्मीबाट टोपलाल अर्यालले लेखेका छन्।

साढे दुई वर्षअघि उनको वाग्लाका ३३ वर्षीय मनिराम घिमिरेसँग बिहे भएको थियो । उनलाई मनिरामको दोस्रो बिहे हो भन्ने पनि थाहा थिएन । ‘अहिलेसम्म उहाँको बिहे भएको हो भन्ने थाहा थिएन, प्रहरीले पक्राउ गरेपछि मात्रै बिहे गरेको रहेछ भन्ने थाहा पाएँ,’ रमिताले सुनाइन् ।

२१ कात्तिक बिहान, ४ बजे । बुटवलस्थित उनको कोठा कसैले ढकढकायो । उनी शिशुलाई काखी च्यापेर सुतिरहेकी थिइन् । ‘कसले ढोका ढकढकायो भनेर खोलेको त प्रहरी पो रहेछन्,’ रमिताले भनिन्, ‘दुवैजना हामीसँगै जानुपर्छ, हिँड्नुस भनेर बिहान ४ बजे नै ल्याए।’

उनी २५ असोजमा सुत्केरी भएकी थिइन् । रगत बग्न पनि रोकिएको थिएन । कतिवेला त हिँडडुल गर्न पनि गाह्रो हुने गरेको थियो । बिहानै प्रहरी आएर पक्राउ गरेपछि भने उनको सातोपुत्लो गयो।

‘म त के गर्ने, के नगर्ने भन्ने पनि सोच्न सकिनँ । प्रहरीले ल्याएपछि खुरुखुरु आएँ,’ रमिताले दुखेसो गरिन्, ‘लुगाकपडा पनि ल्याउन दिएनन् । जस्तो लुगा लगाएकी थिएँ, त्यसमै आए ।’ प्रहरीले उनी र उनका श्रीमान् जीवनलाई पक्राउ गरेर ल्याएको हो ।

 बुटवलबाट तम्घास करिब डेढ सय किलोमिटर छ । गाडीमा ६ घन्टा लाग्छ । प्रहरीको गाडीले पाँच घन्टामा तम्घास पु¥यायो ।

‘उसै पनि कमजोर थिएँ, बच्चालाई बोकेर यति टाढा गाडीमा आउँदा झन् शरीरै थिलथिलो भयो,’ उनले भनिन् । पाँच घन्टा गाडीको यात्राले उनलाई अर्को समस्या थपिएको छ, रगत झन्झन् बग्न थालेको छ । ‘बुटवल छँदा त अलिअलि बग्थ्यो, अहिले त झन्झन् रगत बन्न थालेको छ,’ प्रहरी हिरासतमा रहेकी रमिताले पीडा सुनाइन्, ‘रगत बग्न रोकिएको छैन, जिउ दुख्छ । मेरो त केही चिन्ता थिएन, चिसोमा बच्चालाई केही हुन्छ कि भन्ने डर लागेको छ।’

 जीवनकी जेठी श्रीमतीले दिएको उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख एसपी प्रविणलाल श्रेष्ठले बताए ।

‘जेठी श्रीमतीले दिएको उजुरीका आधारमा बुटवलबाट गिरफ्तार गरिएको हो । आमाका कारण बच्चालाई अन्याय भएको हामीलाई पनि महसुस भएको छ,’ एसपी श्रेष्ठले भने, ‘कानुनको प्रक्रिया नै त्यस्तै छ । छिटोभन्दा छिटो अदालत पेस गर्ने योजनामा छौँ ।’

अहिले छाड्न नमिल्ने र धरौटीमा छाड्ने या जेल पठाउने अदालतको विषय भएको एसपी श्रेष्ठको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .