ad ad

छापा खबर


शिक्षणका लेखा अधिकृतले आफ्नै अस्पतालमा भर्ना नपाउँदा मृत्यु, सर्वसाधारणको अवस्था के होला?

शिक्षणका लेखा अधिकृतले आफ्नै अस्पतालमा भर्ना नपाउँदा मृत्यु, सर्वसाधारणको अवस्था के होला?

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार २३:३६,

२५ वर्ष सेवा गरेकोमा उनलाई अस्पतालले सम्मानित गर्नुपर्ने हो । तर, आफैँले वर्षौँ पसिना बगाएको अस्पतालमा भर्ना नपाएर उनको मृत्यु भएको छ।

अर्को विडम्बना, उनलाई अस्पतालले भर्ना नगरेर फर्काउँदा अस्पतालमा साधारण १२ र भेन्टिलेटरसहितका दुई आइसियू बेड खाली थिए।

५२ वर्षीय राजाराम दसैँ बिदामा धादिङ त्रिपुरासुन्दरीस्थित घर गएका थिए । ‘सानोमा निमोनिया बिग्रिएकोे थियो, सायद त्यही कारणले वेलावेलामा खोक्नुहुन्थ्यो । टीकाको भोलिपल्ट उहाँ मोटरसाइकलमा काठमाडौं फर्किनुभएको हो । चिसो लागेजस्तो थियो । तैपनि कार्यालय गइरहनुभएको थियो,’ परिवारजनले भने।

सोमबार राति ११ बजेतिर राजाराम एक्कासि बेहोस भए । २५ वर्ष शिक्षण अस्पतालमा सेवा गरेका राजारामलाई कहाँ लग्ने भन्ने प्रश्नै भएन । ‘आफ्नै अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने विश्वासमा हामीले त्यतै दगुरायौँ । एम्बुलेन्स मगाउँदा ढिलो हुन्छ भनेर ट्याक्सीमा कुदायौँ । करिब १२ बजे उहाँलाई शिक्षण अस्पताल पु¥यायौँ,’ परिवारजनको भनाइ छ।

शिक्षण अस्पतालको इमर्जेन्सीमा पु¥याउना साथ डाक्टरहरूले आइसियूमा राख्नुपर्ने बताएका थिए । हुन्छ नि त भर्ना गरिहालौँ भन्दा जवाफ आयो– आइसियू खाली छैन । लौ न जसरी पनि बचाउनुप¥यो, उहाँ यही अस्प्तालको अधिकृत हो भनेर हारगुहार गर्दा पनि बेड छैन भन्ने जवाफ मात्र आइरह्यो।

अत्तालिएका आफन्तले यत्रतत्र सबै अस्पतालमा फोन गरे । उनीहरूले सीतापाइलाको मनमोहन र शुभेक्षा अस्पताल, बाफलको यती अस्पताल, कलंकीको सहिद मेमोरियल अस्पतालमा सम्पर्क गरे । यी अस्पतालमा आइसियू छैन भन्ने जवाफ आयो । सहिद मेमोरियलले आइसियू छ, तर कोरोना परीक्षणको रिपोर्ट भए मात्रै भर्ना लिने बतायो।

‘बिरामी बेहोस छ, हामीले पलपल गनिरहेका छौँ । अब कहाँबाट ल्याउनु पिसिआर?’ परिवारजनले भने, ‘शिक्षण अस्पतालमै बसेर हामीले यता र उता हारगुहार लगायौँ । यही अस्पतालमै केही उपाय लाग्छ कि भनेर बिन्ती पनि ग¥यौँ । तर, चार घन्टासम्म पनि केही लागेन।’

अन्तिममा बुढानीलकण्ठ नगरपालिकाको चुन्निखेलस्थित करुणा अस्पतालमा आइसियू खाली छ भन्ने खबर आयो । साढे चार बजे उनलाई करुणा अस्पताल पु¥याइयो । ‘आइसियूमा भर्ना गराएपछि केही आशा जागेको थियो । तर, करिब दुई घन्टापछि साढे ६ बजेतिर डाक्टर बाहिर आएर भने, ‘सरी तपाईंहरूले निक्कै ढिला ल्याउनुभयो । उहाँलाई बचाउन सकिएन।’

करुणा अस्पतालका चिकित्सकहरूका अनुसार शरीरमा अक्सिजनको मात्र कम भएकोले राजाराम बेहोस भएका थिए । अक्सिजन अझै कम भएकोले मुटुको धड्कन पनि बन्द भयो र उनको मृत्यु भयो । शिक्षण अस्पतालमा आइसियूमा राखेर अक्सिजन दिएको भए राजारामलाई बचाउन सकिन्थ्यो भन्ने परिवारजनको विश्वास छ।

लेखा अधिकृतले नै आफ्नै अस्पतालमा भर्ना पाएनन्, अरू बिरामीको अवस्था के होला? राजाराजको मृत्यु प्रकरणले यो गम्भीर प्रश्न उठाएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

शिक्षण अस्पतालका कोभिड संयोजक डा.सन्तकुमार दासले अस्पतालका लेखा अधिकृत इटनीले सोमबार राति बेड नपाएको विषयमा राति कसैले जानकारी नगराएको बताए।

‘उहाँलाई राति अस्पताल ल्याइएको र बेड नपाएको भन्ने हामीलाई जानकारी भएन । अस्पतालमा राम्रो समन्वय भएन, त्यसैले यति ठूलो दुःखद घटना भयो,’ उनले भने।

शिक्षण अस्पतालका अधिकृतले नै बेड नपाएर मृत्यु भएकोले यो समाचार बाहिर आए पनि देशका विभिन्न अस्पतालमा अहिले यही अवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .