हरेक वर्ष आमाबाबुको मुख हेर्ने दिन धेरैको सामाजिक सञ्जालमा आमाबाबुको फोटो टाँसिएका भए पनि अचेल आमाबाबु भने एक्लिँदै गएका छन्।
खास गरी बुढ्यौली लागेपछि बाबुआमा एक्लोपन, बेवास्ता, हिंसा र दुव्र्यवहारको सिकार हुनु परेको विभिन्न अध्ययनले देखाएको खबर आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेका छन्।
रामेछाप बेथानकी माइली तामाङ (७९)का नाति नातिनीसहित छ सन्तान छन् तर उहाँ भने गाउँमा एक्लै बस्छिन्। छोरा बुहारी, नाति नातिनी सबै काठमाडौँ बस्छन्। वर्षको दुई चार दिनका लागि घर आएर फर्कन्छन् उनीहरु।
वर्षभरि एक्लै बस्ने उनका लागि कहिलेकाहीँ बिसन्चो हुँदा पानी खुवाउने साथी पनि कोही छैन। “छोरा बुहारी कामबाट फुर्सद पाउँदैनन्, नाति नातिनी पढाइबाट”, उनले भनिन्।
राष्ट्रिय मानवअधिकार आयोगले गएको चैतमा देशभरिका ज्येष्ठ नागरिक आश्रमको अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक ग¥यो।
प्रतिवेदनमा एक दिवा सेवा केन्द्रमा भेटिएकी ज्येष्ठ नागरिकको गुनासोलाई यसरी लेखिएको छ, “घरको कुरा बाहिर भने इज्जत जान्छ । पति छउन्जेल दुःख थिएन, पीर थिएन, खान लाउन समस्या थिएन । गाउँमा परिवारको इज्जत पनि छ । छोरा बुहारी दुवै काममा जान्छन्, नाति नातिनी स्कुल । घरमा भए नि मसँग कोही बोल्दैनन्, सबै आआफ्नै धुनमा । मेरोजस्तै अवस्था छिमेकी दिदीको पनि छ । हामी घरमा खाना खाएर दिवा सेवा केन्द्र आउँछौँ । दिदी बहिनी कोठाको कुनामा बसेर दिनभरि रुन्छौँ, मनको बह पोख्छौँ । आँसु बगेपछि मन हलुका हुन्छ, घर फर्कन्छौँ।”
ज्येष्ठ नागरिकहरू एक्लिँदै जानुलाई सामाजिक रूपान्तरणको प्रभावको रूपमा व्याख्या गर्नुहुन्छ, समाजशास्त्री सुनिता राई।
श्रमशक्तिको विश्वव्यापी प्रवाहका कारण युवकहरू सहर र विदेश जान्छन् । सहर र विदेश पसेकाका पत्नीहरू पनि बालबच्चालाई राम्रो शिक्षा दिने नाममा सहर झर्छन् । त्यसपछि गाउँमै एक्लिने गरेका छन् ज्येष्ठ नागरिक।
राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसङ्ख्याको ८.१३ प्रतिशत अर्थात् २१ लाख ५४ हजार ज्येष्ठ नागरिक छन्।
प्रतिक्रिया