ad ad

छापा खबर


नेपाल प्रहरी श्रीमान् संघ किन नखोल्ने?

नेपाल प्रहरी श्रीमान् संघ किन नखोल्ने?

नेपालखबर
साउन १२, २०७६ आइतबार ०:३३,

नेपाल प्रहरी श्रीमती संघ हुन्छ भने ‘नेपाल प्रहरी श्रीमान् संघ चाहिं किन नबनाउने’ भन्ने प्रश्न उठेको छ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई नक्सालस्थित संगठनको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित राष्ट्रिय दैनिक, अनलाइन न्युजपोर्टल र अन्य सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सुझाव दिए, ‘श्रीमती संघ सामन्ती अवशेष हो, राजतन्त्र हुँदा बडामहारानीका पछिलाग्ने हिसाबले कुनै बेला गठन भएको संस्था, तर आज यसको सान्दर्भिकता छैन, खारेज गरिनुपर्छ।’

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले हालसम्म हासिल गरेका उपलव्धि र वर्तमान स्थितिका बारेमा प्रकाश पारेपछि, ‘सञ्चारविज्ञ सम्पादकज्यूहरुबाट सुझाव र केही जिज्ञासा छन् भने सुन्न चाहन्छौं’ भन्दै सबैसँग आह्वान गरेपछि केही वरिष्ठ सम्पादकहरुले यस प्रकारको सुझाव दिएका हुन्।

‘तपाईं त धेरै विकसित देश घुम्नुभएको मानिस, त्यहाँ पनि श्रीमती संघ हुँदोरहेछ?’ कूटनीतिक र भद्र विषय प्रवेशवाला प्रश्न थियो। यो खबर आजको नेपाल समाचारपत्रमा कपिल काफ्लेले लेखेका छन्।

‘समाय लैङ्गिक समानताको छ, हामी समानुपातिक समावेशितायुक्त जेसीको अवधारणामा छौं । नेपाल प्रहरी श्रीमती संघ खोलिएजस्तै नेपाल प्रहरी श्रीमान् संघ पनि खोल्ने कि?’ अर्का सहभागीले अलि पेचिलो बनाए दोस्रो प्रश्नलाई ।

‘आजको लोकतान्त्रिक र प्रगतिशील समाजमा श्रीमान्–श्रीमतीको नातामा आधारित संगठन खोल्नु र श्रीमान् आईजीपी भएका कारण श्रीमती अध्यक्ष हुनेगरी खोलिएको संस्था प्रभावमा रहनु सुहाउने विषय होइन, तपाईंकै पालामा यसलाई किन बन्द नगर्ने’ प्रत्यक्ष विश्लेषणसहितको सीधा तेस्रो प्रश्न ।
महानिरीक्षक खनालले जबाफ दिएपछि थाहा भयो, नेपाल प्रहरी श्रीमती संघको उपस्थितिलाई लिएर पहिला पनि विवाद भएको रहेछ, डीआईजी भएकै बेला उनले पनि आफू नेतृत्वमा आए यसलाई बन्द गर्छु भनेर सोचाइ बनाएका रहेछन्।

तर पहिलादेखि चल्दैआएको र स्वतन्त्र गैससका रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा आएका कारण उनले आजसम्म बन्द गर्न सकेका रहेछन्। भने, ‘नेपाल प्रहरी श्रीमती संघलाई नेपाल प्रहरीको ऐनले चिन्दैन, तर यसलाई कानुनले भने चिन्छ, यो विधिवत् रुपमा सीडीओ कार्यालयमा दर्ता छ।’

प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राई, प्रवक्ता नायव महानिरीक्षक विश्वराज पोखरेललगायत २५ भन्दा बढी अधिकृतहरुहरुको उपस्थिति र करिब ४० सम्पादकको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा ‘जेसी’ को ‘सी’ त थियो तर ‘जे’ थिएन, दुवै पक्षबाट श्रीमती हुने नागरिकको अनुहार देखिएन, सबै अनुहार श्रीमान्हरुका मात्र थिए।

यद्यपि महानिरीक्षक खनालको ‘ब्रिफिङ’मा नेपाल प्रहरीमा हाल आठ प्रतिशत महिला सहभागिता छ। नेपाल प्रहरी श्रीमान् संघ खोल्नेहो भने ६ हजार जति श्रीमानहरु संगठित हुन सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .