छापा खबर


प्रहरीले धमाधम समात्दै फरार अभियुक्त, कैलाली अघि

प्रहरीले धमाधम समात्दै फरार अभियुक्त, कैलाली अघि

नेपालखबर
असोज १२, २०७७ सोमबार १:३०,

२ असोजमा ४८ जना फरार अभियुक्त पक्राउ गरेको स्याङ्जा प्रहरीले दुई दिनपछि थप १५ जनालाई समातेर अदालतमा बुझायो।

तीन दिनबीचमा यति ठूलो संख्यामा अभियुक्त पक्राउ परेपछि स्याङ्जाका एसपी होबिन्द्र बोगटीले प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीबाट स्याबासी पाए। उनले स्याङ्जा प्रहरीको नेतृत्व सम्हालेको एक महिनामा एक सय पाँचजना पक्राउ परिसकेका छन्।

अन्य जिल्लामा पनि यतिवेला अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्त पक्राउगर्ने अभियान नै चलेको छ। पछिल्लो तीन दिनमा सप्तरी प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अपहरण, हत्याजस्ता गम्भीर मुद्दामा सजाय तोकिएका व्यक्तिहरू पनि रहेको जिल्ला प्रहरी, सप्तरीका डिएसपी तिलक भारती बताउँछन्।

यस्तै, तनहुँ प्रहरीले २८ भदौमा एकैदिन ३५ जनालाई पक्राउ गरेर अदालतमा बुझाएको छ। बहुविवाह, लागुऔषध, जुवा, घरेलु हिंसा, जालसाजीजस्ता मुद्दामा फरार व्यक्ति पक्राउ परेको तनहुँका एसपी अरुण पौडेल बताउँछन्।

असारयता देशभर करिब एक हजारजना फरार अभियुक्त पक्राउ परेको प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागको तथ्यांक छ।

पछिल्लोपटक जिल्ला प्रहरी कार्यालय, कास्कीबाट यो अभियान सुरु भएको हो। १७ भदौमा कास्की प्रहरीले एकैदिन २८ जना फरार व्यक्ति पक्राउ गरी अदालतमा पेस गरेको खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन।

कास्की प्रहरीले पछिल्लो तीन महिनामा एक सय ९१ जनालाई पक्राउ गरेको छ । विशेष टोली नै बनाएर अभियानकै रूपमा फरार व्यक्ति पक्राउ गरिएकाले सफलता मिलेको कास्कीका एसपी जीवन श्रेष्ठ बताउँछन्।

फरार अभियुक्त पक्राउ गर्नेमा जिल्ला प्रहरी कैलाली पनि अगाडि छ, जसले तीन महिनामा ४० भन्दा बढीलाई पक्राउ गरेको छ । डाँका, चोरी मुद्दामा १६ वर्षदेखि फरार रहेका गौरीगंगाका श्याम चौधरी र फूलपाती चौधरीलाई कैलाली प्रहरीले १७ भदौमा पक्राउ गरेको थियो । उनीहरूले ४ माघ ०५८ मा गौरीगंगामा डकैती गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad